सहरमा आज : भरिपूर्ण रंगमञ्च

सुस्मिता बजगाईं १४ पुष २०८० ६:३९
72
SHARES
सहरमा आज : भरिपूर्ण रंगमञ्च

काठमाडौँ- सधैँको साताजस्तै पुसको दोस्रो शनिबार। उपत्यकामा विभिन्न कार्यक्रम, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, फिल्म तथा नाटक मञ्चनका पर्याप्त कार्यक्रम छन्। नाटकघरमा ‘गुलाफ’, ‘पगला घोडा’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ र ‘मोन्टाज’ गरी चार नाटक मञ्चन भइरहेको छ। कला परिषद्मा ‘नेपाल्स ह्युम्यानिटी’ र ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। त्यस्तै अन्य कहाँ के–के हुँदैछन् त?

‘सम्बन्धको दोबाटो’ लोकार्पण

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कथासंग्रह ‘सम्बन्धको दोबाटो’ लोकार्पण हुँदैछ। कृतिका लेखक रवीन्द्र केसी हुन्। कार्यक्रम शनिबार दिउँसो साढे १ बजे सुरू हुनेछ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

डीआरको ‘खोक्वा’

घट्टेकुलो अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज कथासङ्ग्रह ‘खोक्वा’ लोकार्पण हुँदैछ। कृतिका लेखक तथा आख्यानकार डीआर हुन्। उनको यो दास्रो कृति हो। कार्यक्रम बिहान साढे १० बजे सुरु हुनेछ।

भरत सिंहको पोर्टेन प्रदर्शनी

बबरमहलस्थित नेपाल कला परिषद्‌मा पुस १० गतेदेखि (२७ डिसेम्बर) चित्रकार भरत सिंहले कोरेका ‘नेपाल्स ह्युम्यानिटी’ नामक पोर्टेन प्रदर्शनी चलिरहेको छ।

पाँचदिने चित्रकला प्रदर्शनीको शनिबार अन्तिम दिन हो। प्रदर्शनीमा महानायक राजेश हमालदेखि डाक्टर सन्दुक रुइत, वरिष्ठ कलाकार गौरी मल्ल, मह जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, व्यावसायी जीवा लामिछाने, उद्यमी विदुषी राणा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायत नेपालका चर्चित ४० जना व्यक्तित्वको तस्बिर छ।

प्रवेश निःशुल्क रहेको प्रदर्शनी बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म खुला रहनेछ।

‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषद्मा ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेज छन्।

मंसिर २३ देखि सुरु भएको प्रदर्शनी चैत १८ सम्म चल्नेछ। प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।
फोटो सर्कलको आयोजना गरेको प्रदर्शनी सुधीर पटनाइ समुन्दृष्टि र शेरना दस्तुरको सहकार्यमा तयार पारिएको हो।

थिएटरमा पाँच नाटक

पगला घोडा :  थापागाउँस्थित मण्डला नाटकघरमा पुस १२ गतेदेखि नाटक ‘पगला घोडा’ मञ्चन भइरहेको छ। नाटकमा पछिल्लो समय बढ्दो आत्महत्याको विषयमाथि सचेतना गराउने प्रयास गरिएको छ।

भारतीय चर्चित नाटककार बादल सरकारको कथा रहेको नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन्। आलेख सुपरीवेक्षकका रूपमा कलाकार आशान्त शर्मा छन्। नाटकको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्।

माघ ६ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार मलिका महत, प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार र बिम्ब अधिकारीले अभिनय गरेका छन्।  थिएटर आकारको प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन हुनेछ। शनिबार साढे १ बजे अतिरिक्त सो पनि हुनेछ।

गुलाफ :  यशोधराको जागारण यात्रा :  मण्डलामै पुस ११ गतेदेखि नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’ मञ्चन भइरहेको छ। पुस २२ सम्म मञ्चन हुने नाटकको परिकल्पना तथा निर्देशन राम हरि ढकालले गरेका छन्।

सिद्धार्थ गौतमले राज्य, दरबार र नाबालक पुत्रसमेतलाई छोडेर गएपछि पत्नी यशोधराको मनमा उब्जिएका उत्तारचढावयुक्त विचार र मनोविज्ञानलाई नाटकमा प्रस्तुत गरिएको छ।

‘फिजिकल थिएटर’ शैलीमा तयार पारिएकोे संवादविहिन नाटकमा कलाकार दीया मास्के र सरिता साहको अभिनय छ। सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो ४ बजे मञ्चन हुने नाटक शनिबार एक बजेको अतिरिक्त सो पनि हुनेछ।

कुमारजी आज्ञा गर्नुहुन्छ

कालिकास्थानस्थित सर्वनाम थिएटरमा पुस ८ गतेदेखि नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। महिला हिंसाको घटनामा आधारित नाटक धार्मिक कथासंग्रह श्रीस्वस्थानी व्रत कथामा आधारित छ।

नाटकका लेखक अशेष मल्ल हुन्। नाटकको परिकल्पना तथा निर्देशन रसिक राज र शीतल थोकरले गरेका छन्।  पुस १५ सम्म मञ्चन हुने नाटक सर्वनामको १९ औँ ब्याचको प्रस्तुति छ।

निर्देशक रसिक र शीतलसहित नाटकमा सुरज पराजुली, आकाश झा, बिलबहादुर विक, वाईएस. पौडेल, सरस्वती दाहाल, सुरज अधिकारी, आरुषजंग सारु मगर, शू–गूँ, विध्यक तिलक, एलिसा तामाङ, युनिसा खनाल, जीवनराज भट्ट र विवेक भुसालले अभिनय गरेका छन्।

बिहिबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन भइरहेको नाटक आज दिउँसो १ बजे पनि अतिरिक्त सो हुनेछ।

कर्तव्य : रातोपुलस्थित ओजस (शैली थिएटर) मा नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। मंसिर २६ देखि जारी नाटक पुस ३० गतेसम्म मञ्चन गरिनेछ। कथाकार गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’लाई नाटकमा रुपान्तरण गरिएको हो। नाटकको परिकल्पना तथा निर्देशन रवीन दोङ र विशाल महर्जनले गरेका छन्।

नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, वीरेन्द्र कुश्वाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टीआर, प्रदीप विश्वकर्मा, अञ्जना दुलाललगायतको अभिनय छ।

बिहीबारबाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

मोन्टाज : मंसिर २२ गतेदेखि सिनामंगलस्थित पुरानो नाटकघरमा नाटक मोन्टाज मञ्चन भइरहेको छ।  नाटक युवा अवस्थाको प्रेम, आधुनिक सभ्यता र संस्कार बीचको घृणा र शंकाबीच रुमलिएको मायाको कथामा आधारित छ।  नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका छन्। नाटक पुस १५ गतेसम्म मञ्चन हुनेछ।

नाटकमा निर्देशक भारतीसहित रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल, इनारा बानु, शिला निरौलाको अभिनय छ।

सोमबारबाहेक प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।

हलमा बलिउड फिल्म

सलार :  पुस ५ गतेदेखि नेपाली हलमा बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रभास, सुकुमारन, श्रुति हासन, मधु गुरुस्वामीलगायतको अभिनय छ। फिल्मका निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा विजय किरणगादुरको लगानी छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाजमा बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ चलिरहेका अन्य हल हुन्।

डंकी : पुस ५ गतेदेखि बलिउड फिल्म ‘डंकी’ नेपालमा प्रदर्शन भइरहेको छ। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, अष्टनारायण पिक्चर्समा बलिउड फिल्म ‘डंकी’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज बलिउड फिल्म ‘डंकी’ चलिरहेका अन्य हल हुन्।

एनिमल :  बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ।

एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा रश्मीका मन्दाना, अनिल कपूर, बबी देओललगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल, भाटभटेनी भक्तपुर र सिभिल मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग सिनेमाजमा फिल्मको सो छ।

अक्वाम्यान एन्ड द लस्ट किङ्डम :  पुस ४ गतेदेखि नेपालमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। जेम्स वानले निर्देशन गरेको फिल्ममा कलाकार जेसन मोमोआ, याह्या अब्दुल–मतीन, एक्बर हर्डलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, अष्टनारायण पिक्चर्समा फिल्मको सो छ।

दिमाग खराब : कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

प्रकाशित: १४ पुष २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + sixteen =