मित्रमिलन सहकारी ठगी प्रकरण : ३२ जनाविरुद्ध करिब ३२ करोड बिगो दाबी

हिमाल प्रेस १० पुष २०८० १२:५३
12
SHARES
मित्रमिलन सहकारी ठगी प्रकरण : ३२ जनाविरुद्ध  करिब ३२ करोड बिगो दाबी

पोखरा- पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलनमा संलग्नसँग झण्डै ३२ करोड बिगो असुल गर्ने गरी प्रहरीले अनुसन्धानमा फाइल तयार पारेको छ। सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको हो।

अनुसन्धानका क्रममा संचालक सहित ३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरिएको हो।

उक्त रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरेको छ। विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो।

उक्त सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ठगिएका बचतकर्तालाई उजुरी आह्वान गरेको थियो। प्रहरीले गत २७ मंसिरसम्म उजुरी दिन आह्वान गरेकोमा ४८ उजुरी परेका थिए। जसमा ७ सय १६ जना मात्र पीडितको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए।

उजुरीअनुसार ती पीडितको कुल २० करोड ६७ लाख ५४ हजार ९ सय १३ बराबर रकम ठगिएको उल्लेख थियो। सहकारी सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन्। प्रहरीले करिब ३० जनालाई यसअघि पक्राउ पुर्जी काटेकोमा ५ जनामात्र पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारी अध्यक्ष रमण पौडेलसहित प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार एवं सेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल हुन्। अन्य फरार छन्।

प्रकाशित: १० पुष २०८० १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =