त्रिवि नेपाली केन्द्रीय विभागको ‘अर्को प्रशंसनीय कार्य’

हिमाल प्रेस ७ पुष २०८० २३:०४
404
SHARES
त्रिवि नेपाली केन्द्रीय विभागको ‘अर्को प्रशंसनीय कार्य’

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभाग पछिल्ला दिनमा भौतिक सुधारका साथै प्राज्ञिक क्षेत्रमा पनि सशक्त रूपमा अगाडि बढेको छ। वर्षौँदेखि जीर्णजस्तै बनेको विभाग परिसर विभागीय प्रमुख प्रा.डा खगेन्द्रप्रसाद लुइटेलको सक्रियताले हराभर मात्रै बनेको छैन प्राज्ञिक क्षेत्रमा पनि उदाहरणीय काम गरेर विद्यार्थी, प्राध्यापक र विश्वविद्यालय पदाधिकारीहरूका बिचमा नमुना बन्न सफल भएको छ।

यसैगरी त्रिभुवन विश्वविद्यालयका परिकल्पनाकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक चिटिक्क पारिएको छ। नेपाली विषय समितिका अध्यक्षसमेत रहेका प्रा.डा. लुइटेलको पहलमा स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा नेपाली पढ्नुपर्ने प्रावधान खुकुलो पारिएको छ।

विभागले पछिल्लोपटक आयोजना गरेको प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण विषयक अभिमुखीकरण गोष्ठी यस्तै प्रशंसा गर्नलायक कार्यक्रम रहेको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।

कीर्तिपुरमा शुक्रबार आयोजित गोष्ठीमा त्रिविका उपकुलपति प्रा.डा. शिवलाल भुसाल, रजिस्ट्रार प्रा.डा. पेशल दाहाल, मानविकी तथा सामाजिक संकायकी डिन प्रा.डा. कुसुम शाक्यलगायतले विभागका उदाहरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गरे। विभाग र क्याम्पसका कार्यक्रममा विरलै पुग्ने पदाधिकारीहरूले अन्य विभाग र क्याम्पसले पनि नेपाली केन्द्रीय विभागका असल कार्यको अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्।

गोष्ठी उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि त्रिवि उपकुलपति प्रा.डा. भुसालले अत्यन्त समसामयिक र खाँचो परेको विषयमा गोष्ठी आयोजना गरेकाले नेपाली केन्द्रीय विभागलाई धन्यवाद दिए। उनले विश्वविद्यालयसँग प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणका लागि कार्यविधि रहे पनि सबै विषय समेट्न नसक्ने भएकाले यस्ता गोष्ठी निकै उपयोगी हुने बताए।

प्रा.डा. भुसालले यस्ता छलफल र गोष्ठी डिनको कार्यालय, केन्द्रीय विभाग र क्याम्पस तहबाट हुनुपर्नेमा जोड दिए। उनले गोष्ठीमा सहभागीहरूलाई यस्ता विषयमा आफ्ना क्याम्पस र समकक्षीबीच लैजान पनि आग्रह गरे।

विशिष्ट अतिथिको आसनबाट बोल्दै रजिस्ट्रार प्रा.डा. दाहालले गोष्ठी अत्यन्त समसामयिक रहेको बताए। उनले भने, ‘पुराना साथीहरू केही जानकार भए पनि नयाँ साथीहरूलाई जानकारी गराउन, पाठ्यक्रम परिवर्तन र परीक्षा प्रणाली परिवर्तन हुनेबित्तिकै व्यवस्थित गर्न यस्तो कार्यक्रम निकै समसामयिक छ।’ दाहालले प्रश्नपत्र निर्माणमा रहेका नीतिगत र व्यावहारिक समस्या सुनाउँदै दुवै काममा जिम्मेवारीपूर्वक प्रस्तुत हुन प्राध्यापकहरूलाई आग्रह गरेका थिए। उनले उत्तरपुस्तिका परीक्षणमा कुनै त्रुटि भेटिएमा फौजदारी अभियोग लाग्न सक्ने सचेत गराएका थिए।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्रा.डा. शाक्यले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा आफ्ना अनुभव सुनाउँदै प्राध्यापकहरूलाई प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा गम्भीर बन्न आग्रह गरेकी थिइन्। उनले भनिन्, ‘यस्ता गोष्ठी कार्यक्रम गरिरहनुपर्ने रहेछ। त्यसैले म आयोजक सरहरूलाई धन्यवाद र बधाई दिन्छु।’

विश्वविद्यालय क्याम्पसका प्रमुख प्रा.डा. ध्यानेन्द्रबहादुर राईले डिनको कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने कार्यशाला गोष्ठी आयोजना गरेर विभागले प्राध्यापकहरूका लागि उपयोगी कार्य गरेको बताए। राईले भने, ‘कार्यक्रम निकै महत्त्वपूर्ण, आवश्यक र उपयुक्त छ।’ यस्तो कार्य अरू विभागले पनि गर्नुपर्ने उनको आग्रह छ।

विभागका प्रमुख एवम् नेपाली विषय समितिका अध्यक्ष प्रा.डा. लुइटेलले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा अनेक समस्या देखिएकाले समाधानका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको बताए। उनले भने, ‘प्रश्नपत्र निर्माण गर्दा होस् या उत्तरपुस्तिका परीक्षणमा होस्, हामीले निकै समस्या झेल्दै आएका छौँ। शिक्षकहरूलाई पुनर्ताजगी गराउन र समस्या कम गराउँदै जान गोष्ठी उपयोगी हुने विश्वास छ।’ उनले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा सजग हुने हो भने नतिजा प्रकाशनमा रहेका धेरै समस्या समाधान हुँदै जाने बताए।

यसैगरी प्रा.डा. लुइटेलले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा विभाग मात्रै सहभागी नभई काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्याम्पसका प्राध्यापकहरूलाई समावेश गर्दै लगिने बताए।

गोष्ठीको दोस्रो सत्रमा प्रा.डा. महादेव अवस्थीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा स्नातक र स्नातकोत्तर तहको नेपाली विषयको प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणबारे व्यावहारिक पक्षबारे स्पष्ट पारिएको छ।

उक्त कार्यपत्रमाथि विभागका पूर्वप्रमुख प्रा.डा. देवीप्रसाद गौतमले टिप्पणी गर्दै प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणका व्यावहारिक पक्षमा सजग बन्न सहभागीहरूलाई आग्रह गरेका थिए। दुवै जना प्राध्यापकहरूले नेपाली केन्द्रीय विभागले यस्तो कार्यक्रम पहिलोपटक आयोजना गरेको बताए।

कार्यशालामा उपत्यकाका विभिन्न क्याम्पसबाट १०० भन्दा बढी प्राध्यापक सहभागी थिए। उनीहरूलाई समूह–समूहमा विभाजित गराए प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा कार्यशाला गरिएको थियो।

कार्यशालामा समूहगत रूपमा तयार पारिएका प्रश्नपत्रलाई पाटन संयुक्त क्याम्पसका विष्णु ज्ञवाली, रत्नराज्य लक्ष्मी क्याम्पसका विष्णुप्रसाद ज्ञवाली, पद्मकन्या क्याम्पसकी अम्बिका अर्याल र त्रिचन्द्र क्याम्पसकी उषा अधिकारीले गोष्ठीमा प्रस्तुत गरेका थिए। ती प्रश्नपत्रमाथि कार्यपत्र प्रस्तोता प्रा.डा. अवस्थी, प्रा.डा. गौतम र नेपाली केन्द्रीय विभागका प्रमुख एवम् नेपाली विषय समितिका अध्यक्ष प्रा.डा. लुइटेलले परिमार्जन गर्न आवश्यक सुझाव दिएका थिए।

सहभागीका तर्फबाट मन्तव्य व्यक्त गर्दै त्रिचन्द्र क्याम्पसकी उर्मिला शर्माले विभागले प्राध्यापकहरूका लागि निकै उपयोगी कार्यक्रम गरेको बताइन्। यस्तै पद्मकन्या क्याम्पसका फणीन्द्र निरौलाले विगतमा नेपाली केन्द्रीय विभागमा सीमित व्यक्तिहरूको हालीमुहाली रहे पनि प्रा.डा.लुइटेल प्रमुख बनेर आएपछि त्यस्तो प्रवृत्ति अन्त्य भई अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताए।

गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका प्रमुख, सहायक डिनहरू, उपत्यकाका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरू सहभागी थिए। कार्यक्रम सञ्चालन विभागका सहप्रा. डा. दुर्गाबहादुर घर्तीले गरेका थिए। कार्यक्रम व्यवस्थापनमा साहित्यकार घनश्याम राजकर्णिकार र पैरवी प्रकाशनका प्रबन्धक पदम शिवाकोटीको सहयोग रहेको थियो।

     

प्रकाशित: ७ पुष २०८० २३:०४

प्रतिक्रिया

One thought on “त्रिवि नेपाली केन्द्रीय विभागको ‘अर्को प्रशंसनीय कार्य’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =