अब जुनसुकै विषयमा स्नातक भएकाले पनि स्नातकोत्तर तहमा नेपाली पढ्न पाउने

हिमाल प्रेस १२ मंसिर २०८० २१:२७
4.0k
SHARES
अब जुनसुकै विषयमा स्नातक भएकाले पनि स्नातकोत्तर तहमा नेपाली पढ्न पाउने

काठमाडौँ- जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण भएका विद्यार्थीले पनि त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) मा नेपाली विषय अध्ययन गर्न पाउने भएका छन्। स्नातकोत्तर तह अध्ययनका लागि स्नातक तहमा ऐच्छिक नेपाली नै पढेको हुनुपर्ने सङ्कुचित प्रावधान हटाउँदै त्रिभुवन विश्वविद्यालय नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिले यस्तो निर्णय गरेको हो।

उक्त निर्णयअनुसार अब त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको व्यक्तिले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउनेछन्। साथै त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको व्यक्तिले स्नातकोत्तर तहको नेपाली विषय पढ्न पाउने निर्णय गरिएको त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख एवम् नेपाली विषय स्थायी समितिका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले जानकारी दिए।

स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तरमा नेपाली पढ्न पाउने प्रावधानका कारण कतिपय व्यक्तिले चाहेर पनि पढ्न पाएका थिएनन्। ऐच्छिक नेपाली विषय पढेकाले मात्रै पढ्नुपर्ने प्रावधान हटाएर स्नातकोत्तर तहमा नेपाली विषय अध्ययनलाई खुकुलो र पहुँचयोग्य बनाउनुपर्ने आवाज विगत लामो समयदेखि उठ्दै आएको थियो।

त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख एवम् नेपाली विषय स्थायी समितिका अध्यक्ष लुइटेलले भने, ‘नेपाली विषय हाम्रो पहिचान हो। यसलाई सङ्कुचन गरेर सीमित मान्छेको घेरामा राख्नु हुँदैन। हिम्मत गरेर पढ्न आउँछन् भने जनसुकै विषयमा स्नातक गरेर आउने विद्यार्थीलाई पनि स्नातकोत्तर तहमा नेपाली पढ्न दिनुपर्छ। पढ्न चाहनेको अधिकार हनन गर्नु हुँदैन।’

त्रिविले अन्तर्राष्ट्रिय अभ्याससमेतलाई अधार बनाएर यस्तो निर्णय गरेको हो। युरोप, अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा पनि स्नातक तह उत्तीर्ण गरेका व्यक्तिले आफूले चाहेको विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न पाउँछन्।

त्रिविमा पनि विगतमा कुनै विषयमा स्नातकोत्तर गरेपछि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाइन्थ्यो तर बीचमा त्यस्तो प्रावधान हटाएपछि चाहेर पनि धेरै व्यक्तिले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गर्न पाएका थिएनन्।

विज्ञहरूले त्रिविको पछिल्लो निर्णयले नेपाली भाषाको पठनपाठनको दायरा थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय अभ्याससमेतलाई लागू गरेर त्रिवि नेपाली केन्द्रीय विभागले महत्त्वपूर्ण निर्णय गरेको भन्दै प्रशंसा गरेका छन्। स्नातक तहमा ऐच्छिक नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने प्रावधानले नेपाली भाषा कमजोर हुँदै गएको चिन्ता उनीहरूको छ। स्नातकमा ऐच्छिक नेपाली नपढेका व्यक्तिहरू पनि भाषासाहित्यमा सिपालु हुन सक्छन्। उनीहरूले चाहेमा नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनको ढोका खुला राख्न त्रिविले यस्तो निर्णय गरेको हो।

कतिपयले स्नातकोत्तर नेपालीमा विद्यार्थी संख्या बढाउनका लागि यस्तो निर्णय गरेको भनेर आलोचना गरेका छन्। प्रा.डा. लुइटेल भने यसमा असहमत छन्। उनी भन्छन्, ‘विद्यार्थी संख्या बढाउनका लागि यस्तो निर्णय गरिएको होइन। नेपाली भाषाको विकास र उन्नयनका लागि यस्तो निर्णय गरिएको हो। अब धेरैभन्दा धेरै विद्यार्थीले नेपाली विषयमा स्नातकोत्तर पढ्न पाउनेछन्। यसबाट नेपाली भाषा झन् मजबुत हुँदै जानेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =