दक्ष शिक्षक नहुँदा गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित

हिमाल प्रेस १ पुष २०८० ७:०८
454
SHARES
दक्ष शिक्षक नहुँदा गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित

सुनसरी- बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न जनशक्ति अभाव भएको छ। सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो।

आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए। उनले भने,‘हामीले वर्षौँदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ।’

कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। ‘हामीले सकीनसकी पढाउन त पढाइरहेकै छौँ’,उनले भने,‘राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ। यो हाम्रो बाध्यता हो।’

विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार तीन वटा सामुदायिक विद्यालय छन्,यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ। तथापि शैक्षिकसत्र २०७८/७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए। उनले भने,‘आधारभूत तह चलाउनै गाह्रो छ। त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन।’

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए। उनले भने,‘दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ।’ रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =