मौसम सुन्तलाको [तस्बिरहरू]

हिमाल प्रेस ३० मंसिर २०८० ८:०६
4
SHARES
मौसम सुन्तलाको [तस्बिरहरू] तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मुख्य बजारको सडकछेउमा बिक्री गर्न राखिएका सुन्तला। तस्बिर : रासस

काठमाडौँ-  सुन्तला नेपालको रैथाने फलफूल हो। नेपालमा सुन्तलाजात फलफूलखेती परापूर्व कालदेखि मध्यपहाडी जिल्लाहरूमा गर्दै आएकोमा हाल आएर तराईका जिल्लामा पनि व्यावसायिक खेती हुँदै आएको राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रमले जनाएको छ।

सुन्तला हुने कतिपय पकेट क्षेत्रमा १०० वर्षभन्दा बढी उमेरका सुन्तलाका बोट पाइन्छन्। नेपालमा दैलेखको दुल्लु, गुल्मीको भाँडगाउँ, तनहुँको बन्दीपुर, धादिङको स्यादुल, धनकुटाको खोकु सुन्तला उत्पादन हुने नाम चलेका पकेट क्षेत्रहरू हुन्।

राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रमका अनुसार मध्यपहाडी क्षेत्रका ४२ जिल्लामा सुन्तला विकासका लागि व्यावसायिक कार्यक्रम सञ्चालन हुँदै आएको छ। थप १८ जिल्लासहित कुल ६० जिल्लामा करिब ८९८ पकेट क्षेत्र विकास भएको छ।

नेपालको हावापानी र भौगोलिक अवस्थाअनुसार ७०० देखि १५०० मिटरको उचाइमा सफलतासाथ व्यावसायिक रूपमा सुन्तलाखेती गर्न सकिने कृषि क्षेत्रका विज्ञहरू बताउँछन्। कुनैकुनै पकेट क्षेत्रमा पाइने विशेष किसिमको सूक्ष्म जलवायुको कारणले गर्दा यो भन्दा तल वा माथि पनि खेती गर्न सकिन्छ।

तनहुँ जिल्लामा उत्पादन हुने अधिकांश सुन्तला बगैँचाहरू १००० मिटरभन्दा तल छ भने संखुवासभा जिल्लाको माङतेवामा १७०० मिटर उचाइमा पनि व्यावसायिक बगैँचा पाइने राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रमले जनाएको छ। कार्यक्रमका अनुसार नेपालमा १० जातिका सुन्तला पहिचान गरिएको छ। यी जातका सुन्तला असोज तेस्रो सातादेखि फागुन दोस्रो सातासम्म पाक्छन्। यसैगरी जुनार मंसिर दोस्रो सातादेखि फागुन पहिलो सातासम्म पाक्छ।

तस्बिर स्रोत : रासस

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मायाटारीस्थित सिद्धार्थ राजमार्गको किनारमा बिक्रीका लागि राखिएको सुन्तला।
धनकुटा नगरपालिका वडा नं ३ माथिल्लो सिप्तेन गाउँमा किसानको बगैँचामा लटरम्म फलेको सुन्तला। यस गाउँका किसानहरुले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ आँबुखैरेनी बजारको सडक किनारामा बेच्न राखिएका सुन्तला।
तनहुँको कर्णाली भनेर चिनिने देवघाट गाउँपालिका–३ स्थित लुम्रिङमा फलेका सुन्तला बिक्री गर्न बजार लैजान टिपिँदै।
भोजपुरको हतुवागढी गाउँपालिका-२ रानीबासका स्थानीयले बजार लैजान बोटबाट टिपेर राखेको सुन्तला । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा बिक्री गरिन्छ।
रामेछाप नगरपालिका-६ ओख्रेनीस्थित बगैँचामा फलेका जुनार। यस वर्ष विगतको वर्षभन्दा बढी जुनार उत्पादन र बजार मूल्यवृद्धि भएपछि यहाँका किसान उत्साहित बनेका छन्।
प्रकाशित: ३० मंसिर २०८० ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =