अन्तर्वार्ता

विडम्बना! कस्तो देशमा जन्मिएछु जस्तो लाग्छ : शंकर अधिकारी ‘घायल’ [भिडिओसहित]

सुस्मिता बजगाईं २३ मंसिर २०८० १७:१७
242
SHARES
विडम्बना! कस्तो देशमा जन्मिएछु जस्तो लाग्छ : शंकर अधिकारी ‘घायल’ [भिडिओसहित] शंकर अधिकारी 'घायल'

‘सिम्पल सिम्पल कान्छीको’, ‘घरी मुसुमुसुमुसुु मुस्कुराएर मार्‍यौ’, ‘तिम्रो आँखामा बस्ने रहर भो मलाई’, ‘आँखाको नानीमा’ र हास्य टेलिशृंखला ‘मेरी बास्सै’ को शीर्ष गीतका लेखक हुन् शंकर अधिकारी ‘घायल’। पछिल्लो समय ‘मायालाई चिनो’, ‘उन भित्र गुण’, ‘सिरुपाते जुँगामा’, जस्ता चर्चित गीतका लेखक ‘घायल’ को नयाँ गीत ‘वाह! वाह!! वाह!!!’ बाहिरिएको छ। रेखा थापाको फिल्म ‘उपहार’ को सो गीतले निकै चर्चा पाइरहेको छ। सुनसरीमा जन्मिएका ५५ वर्षीय गीतकार ‘घायल’ सँग सुस्मिता बजगाईंले गरेको कुराकानी :

गीत लेखनमा प्रेरणा कसरी पाउनुभएको हो?

प्रेरणाको स्रोत मेरो एउटा साथी छ। उसका लागि मैले पहिलोपटक चिठी लेखिदिएको थिएँ। उसले त्यसबापत एक रुपैयाँ दिएको थियो। कलम उठ्ने काम त्यही दिनबाट सुरु भयो। गीतिकथा लेख्थेँ। मेरो मामाकी छोरी हुनुहुन्छ गायिका नित्याशिवा। उहाँ नै मेरो गुरु हो। गीत लेख्न उहाँले सिकाउनुभयो। म उहाँबाट प्रेरणा पाएर गीतकार भएँ।

गाउँमै जन्मिएँ। उतै हुर्किए। बाल्यकालदेखि कलम चलाउँथे। गाउँमा प्रत्येक वर्ष सरस्वती पूजाको दिन एउटा नाटक मञ्चन हुन्थ्यो। त्यो नाटकमा मैले पनि अभिनय गर्थेँ। त्यसबेला रेडियो नेपालमा सिद्धान्तराम जोशीले गीतिकथा वाचन गर्नुहुन्थ्यो। त्यहीबाट प्रेरणा लिएर गीतिकथा लेखनमा कलम चलाएँ। पछि गायिका नित्याशिवाले छन्दमा गीत लेख्न सिकाउनुभयो।

आफ्नो पहिलो गीतको सम्झना छ कि?

छ नि। ‘नियतिले मलाईमात्र गरिरह्यो झेल’ भन्ने मेरो पहिलो आधुनिक गीत हो। पहिलो सफल गीत ‘दादागिरी’ फिल्मको ‘तिम्रो आँखामा बस्ने रहर भो मलाई’ हो।

तपाईँलाई चिनाउने गीतचाहिँ कुन हो?

मेरो पहिलो गीतले नै मलाई चिनायो। ‘नियतिले मलाईमात्र गरिरह्यो झेल’ र ‘तिम्रो आखाँमा बस्ने रहर भो मलाई’ दुवै हिट भए। फिल्म ‘अन्दाज’ को ‘सिम्पल ‘सिम्पल कान्छी’ बोलको गीतले मलाई संसारभर शंकर अधिकारी ‘घायल’ भनेर चिनायो। यो गीतले मलाई पर्दाअगाडि ल्यायो। रेडियोमा बजेकै भरमा हिट भएको त्यो गीतले एउटा इतिहास पनि राखेको छ।

पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ४’ को गीत ‘सिरुपाते जुँगामा’ ले पुनः चर्चामा ल्यायो। यसले एउटा उचाइ थपेको छ। लगत्तै अर्को गीत ‘गणपति’ फिल्मको ‘उन भित्र गुण’ र ‘एक भगवत र एक गीता’ फिल्मको ‘मायालाई चिनो’ले पनि चर्चा बटुलेको छ।

‘मलाई मेरी बास्सै’को शीर्ष गीतले मिडियामा चिनाउने काम गर्‍यो। त्यसबेला नेपाल टेलिभिजनमा मेरी बास्सै प्रसारण भएको भोलिपल्ट बाहिर हिँड्दा मान्छेहरु झुम्मिन्थे, पछि लाग्थे। रमाइलो पल थियो। त्यही दिन ठिक लाग्छ। फोटो आएको भरमा दर्शकले गीतकारलाई चिन्नु भनेको ठूलो कुरा हो। अहिले त गुमनाम जस्तो भएको छ।

अहिलेसम्म कति गीत लेख्नुभयो?

यति नै लेखे भनेर यकिन गरको छ्रैन। साढे दुई सय चलचित्रमा गीत लेखियो होला।

पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न?

के भनौँ दुखेको जिन्दगी। प्रत्येक रात सिरानी भिजेकै हुन्छ। २०६३ सालमा पत्नीसँग सम्बन्ध विच्छेद भयो। त्यसपछि एक्लै जीवन बिताइरहेको छु। एक छोरा र छोरी थिए। आमाकै साथमा छन्। मेरो सम्पर्कमा छैनन्।

मसित एउटा कहालीलाग्दो अतीत छ। १० वर्षजतिको हुँदा बा हुनुहुन्छ भन्ने थाहा पाएँ। अनि बा खोज्दै जनकपुर आएँ। आमा अर्कैसँग बिहे गरेर गइसक्नुभएको थियो। १५ वर्षको उमेरमा आफ्नो पितालाई भेट्टाएँ। दुखै दुःखको छ जिन्दगी।

२०४१ सालमा काठमाडौँ आएको थिएँ। बुबा पहिले बस ड्राइभर हुनुहुन्थ्यो। सुरुमा मैले पनि रात्रिबसमा काम गरेँ। पछि बुबाले जोरपाटीमा काठमिल खोल्नुभएछ। मलाई जनकपुरमा एउटा चिठी आयो, त्यहाँ लेखिएको थियो- ‘तँ मान्छे बन्ने भए काठमाडौँ आइज।’

मान्छे बन्नु नै थियो। काठमाडौँ आउँदाको अनुभव। त्यतिबेला रात्रिबसमा ‘गार्ड’ हुन्थे। पहिलोपटक काठमाडौँ आउँदा ला! अब लुटिने भो भन्ने महसुस गरेको थिएँ।’ खोज्दै, सोध्दै जोरपाटी पुगेँ। बुबाकै कारखानामा काम गर्न थालेँ। बसाइ जोरपाटीमै थियो। बुबासँगै बस्थेँ। सहज थियो। तर अहिले गाह्रो छ। एउटा गीतकारलाई काठमाडौँमा गीत लेखेर बाँच्न सहज छैन। अवस्था निकै नाजुक छ।

गीत रचना गर्दा तपाईंका आफ्नै अनुभवलाई कत्तिको समेट्ने प्रयास गर्नुहुन्छ?

नदुःखीकन कलम उठ्दैन। संसारका मान्छेको जीवन दुःख, सुख, आँसु, हाँसो र मायामा रुमल्लिरहेको हुन्छ। यसैबाट गीत जन्मने हो। कतिपय गीतको भावमा मेरा व्यक्तिगत जीवनका तितामिठा पल झल्किन्छन्।

‘घायल’ नाम राख्नुको कारण के हो? के कुराले घायल बन्ने प्रेरित गर्‍यो?

सबैले मायाप्रेममा पागल भएर ‘घायल’ नाम राखेको भन्नुहुन्छ। तर सत्य त्यो होइन। २०५३ सालमा पिताको देहावसान भयो। यही समयदखि मेरो नाम पछाडि घायल थपियो। ‘शंकर अधिकारी’ जो पनि हुन्छ तर ‘शंकर अधिकारी घायल’ कोही हुन्न। एक त पितालाई श्रद्वाञ्जली, अर्को साहित्यिक नामको जन्म।

शंकर अधिकारी ‘घायल’।

रातो तपाईंलाई मन पर्ने रङ हो? प्रायः यही रङका ड्रेसमा देखिनुहुन्छ नि?

तपाईंले याद गर्नुभएको रहेछ। मेरो मेष राशि हो। ज्योतिषशास्त्रअनुसार यो राशि रातो लगाउनु राम्रो हुन्छ भनिन्छ। राशिअनुसार प्रायः रातो कपडा नै लगाउँछु।

गत महिना तपाईंको शब्द रहेको गीत ‘वाह! वाह!! वाह!!!’ सार्वजनिक भयो। ‘उपहार’ फिल्मकोे यस गीतबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

यो ‘डान्सिङ’ गीत हो। गीत नायिका रेखालाई हेरेर लेखिएको हो। गीतको भिडियोमा तीन जना कलाकार जोडिनुभयो। कसैले माया गर्नुहुन्छ, कसैले गाली। समग्रमा राम्रो प्रतिक्रिया आइरहेको छ।

फिल्म ‘एक भगवत र एक गीता’को गीत ‘मायालाई चिनो’, ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुँगामा’, ‘गणपति’को ‘उन भित्र गुण’ ले पनि खूब चर्चा पायो। एकपछि अर्को गीत हिट हुँदा कस्तो महसुस हुँदो रहेछ?

विडम्बना! कस्तो देशमा जन्मिएछु जस्तो लाग्छ। एक सय एक गीत सफल छन् तर एउटा सर्जक ओझेलमा पर्छ। भारतकै कुरा गर्ने हो भने आज कतिवटा पजेरो पछाडि लाग्थे होला। एउटा सफल गीतकार कहिलेकाहीँ गाडीभाडा नभएर हिँडेर घर जानुपर्छ। अब आफैँ मूल्यांकन गर्नुस्।

करिअरको सुरुवातका दिनलाई कसरी सम्झिनुहुन्छ?

अतीत त तितो नै हुन्छ। धेरैवटा जुत्ता फटाएको छु। मेरो पहिलो गीत ‘मैदान’ फिल्मको हो। चलचित्रका लागि संगीतकार महेश खड्काले एउटा विषय दिनुभएको थियो। ‘दाजुबहिनीको कथा।’ जेनी कँुवर बितिसक्नुभयो, उहाँका लागि लेखेको गीत। यस विषयमा रातभरमा सयवटा गीत लेखेर लगेँ। फिल्ममा गीत लेखेपछि केके नै हुन्छ भन्ने लाग्यो। यस्ता धेरै याद छन्।

जे गर्छु भनेर यस क्षेत्रमा लाग्नुभएको थियो त्यो चाहना पूरा भएको छ त?

दर्शकश्रोताको नजरमा परियो। त्यो ठूलो कुरा हो। लक्ष्मीले कहिले हेरिनन्। सरस्वतीले चाहिँ हेरिरहेकी छन्।

बीचमा हराउनुभाको हो र? खासै गीत सुनिएनन्?

हराएको होइन्। बाटो बिराएको चाहिँ पक्कै हो। बीचमा करिब ८ वर्षजति मेरा गीत आएनन्। पछि एउटा गीत हिट भएको थियो। ‘जन्जिर’ फिल्मको गीत ‘किन गाह्रो गाह्रो हुन्छ।’ अन्य केही गीत आए तर दर्शक/श्रोताको नजरमा पर्न सकेन।

नपर्नुको कारण के होला?

खै! भाग्यले साथ नदिएको भनौँ कि। दर्शकलाई के लेखे खुसी हुने, कुन गीतलाई ‘मार्क’ गर्ने, उनीहरूको माग नै बुझ्न गाह्रो। अर्को कारण अहिले प्रविधिले पनि फड्को मारेको छ। पहिले यस्तो प्रविधि थिएन। गीतमा सीआरबीटी, पीआरबीटी चल्थे। सीमित स्रोत थिए।

गीत लेखनसँगै फिल्म, भिडियो निर्देशनमा पनि हात हाल्नुभयो? नाटक पनि लेख्नुहुन्छ? अभिनयमा पनि रुचि देखाउनुभएको छ? आफ्ना यी सबै परिचयमध्ये तपाईंलाई मन पर्ने विधाचाहिँ कुन हो?

मेरो उद्गम र धरातल गीत हो। गीतकार भएरै जन्मिएँ। ‘गीत लेख्दा/लेख्दै मर्न पाऊँ।’

निर्देशन यात्रा के कस्तो रह्यो? कतिवटा फिल्म लेख्नुभयो?

७० वटा फिल्म लेखेँ। १४ वटा फिल्म निर्देशन गरेँ। म्युजिक भिडियो चार सय जति गरेको छु। सट फिल्म १० भन्दामाथि छन्। टेलिसिरियल कति लेखेँलेखेँ। छोटो फिल्म ११/१२ हजारजति लेखेँ होला।

लेखन तथा निर्देशन गरिएका सबै फिल्म प्रदर्शन भए/भएनन्?

हलमा तीनवटा फिल्म चले। बाँकी हार्डडिक्समै छन्। अब ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गर्ने योजना छ।

फिल्ममा सन्तुष्टि मिलेको छ?

फिल्म सफल हुनका लागि पैसा ठूलो कुरा रहेछ। पैसा बिना नै गीतकार बन्न सफल भएँ। फिल्म लेखन, निर्देशनमा खासै सफल भइएन्। जताबाट बाटो बिराएर गए पनि फर्केर गीतकारमै आइपुगेँ। यसैले मलाई सफल बनाएको छ। अब एउटा योजना छ-राम्रो फिल्म निर्देशन गर्ने।

फिल्ममा कस्तो विषयवस्तुलाई प्राथमिकता दिनुहुन्छ?

समसामयिक। जो सत्य घटनामा आधारित होस्। ‘काँचुली’ फिल्ममा क्यान्सरपीडित चार वर्षको छोरालाई पढाउन पति रत्नपार्कमा देहव्यापार गरिरहेकी पतिविहीन महिलाको कथालाई लिएको थिए। यो सत्य घटनामा आधारित फिल्म हो।

गीत हिट हुँदा गायकगायिकाले जति चर्चा पाउँछन् गीतकारले त्यति पाउँदैनन् नि? यसबारे यहाँका भनाइ के छ?

एउटा गीत हिट हुँदा गायक, गायिका र संगीतकारलाई चिनिन्छ। गीतकारलाई चिनिँदैन। हामी पर्दापछाडि हुन्छौँ। फलानो गीत मैले लेखेको भन्दा हो र! भन्ने प्रतिक्रिया आउँछ।

भर्खरै पठाओमा आउँदै थिएँ। इसेवाबाट पैसा तिर्ने क्रममा मेरो नाम पढेर पुुलुक्क मुखमा हेर्दै भाइले भन्यो के गर्नुहुन्छ? मैले अन्तर्वार्ता दिन जान लागेको भनेँ। हामी गीतकारको अवस्था यस्तो छ। अगाडि मेरै गीतमा नाचिरहेका हुन्छन् तर चिन्दैनन्। दुःख लाग्छ।

मनोरञ्जन क्षेत्रका अनुभव, रमाइला क्षणबारे बताउनुस् न?

गीतकारको के अनुभव हुन्छ र? मनोरञ्जन क्षेत्रबारे भन्छु। फिल्म क्षेत्रमा छोरी चेलीलाई नङ्ग्याइन्छ भनिन्छ तर कोही चेली आफैँ नांगिन आउँछन्। यो मेरो जीवनमा परेको घटना हो। एउटै पाटोलाई मात्र हेरेर मूल्यांकन गरिनु गलत हो। दुवै पक्षलाई केलाउनुपर्छ।

तपाईं कला क्षेत्रमा प्रवेश गर्दाको समय र अहिलेमा के फरक पाउनुभएको छ?

त्यो बेलामा धेरै संघर्ष गर्नुपर्‍थ्यो। गीतिकथा लेख्दा धेरैलाई देखाउनुपर्‍थ्यो। अनि बल्ल रेकर्ड हुन्थे। अहिले प्रत्येक घरमा मिडिया छ। हातमा मोबाइल छ। निकै सहज छ।

अन्तमा, पछिल्लो समय मनोरञ्जन विशेषगरी संगीत क्षेत्र कस्तो बनिरहेको छ? तपाईंको धारणा?

सकारात्मक र नकारात्मक दुवै पक्षका गीत बजारमा आएका छन्। कतिपय गीत सुन्न र हेर्नै नससकिने खालका पनि छन्। यस्तै गीतले चर्चा पाएको छ। यसमा दर्शकलाई गाली गर्ने कि आफैँ गाली खाने? हामी अलमलमा छौँ।

दर्शकको सकारात्मक प्रतिक्रियाले गीत लेख्ने हौसला मिल्छ तर गीतको मर्म नै नबुझी कमेन्टमा गाली गर्नुहुन्छ। भारतीय सिरियलमा दर्शकले अब यस्तो कथावस्तु हुनुपर्छ भनेर कमेन्ट गर्र्छन् र त्यहीअनुसारको कथा तयार हुन्छ तर नेपालमा त्यो परिपाटी छैन।

हामीलाई पनि प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत कमजोरी भनिदिएर मार्गदर्शन दिएमा कस्तो गीतमा दर्शकश्रोताको रुचि रहेछ भन्ने बुझ्न सहज हुन्थ्यो। कतिपयले मलाई गीत लेख्न जान्दैन भन्छन्। ‘मायालाई चिनो’ गीतमा पनि रिङ र औँठी एकै हुन भन्ने प्रसंग उठेको थियो। म भन्न चाहान्छु कि आगामी दिनमा गीतमात्र सुनेर होइन शब्दलाई पनि मनन गरेर अर्थ बुझेपछिमात्र प्रतिक्रिया जनाइदिनुहोला। यसले हामीलाई गीत लेख्न हौसला दिन्छ।

 भिडिओ

 

प्रकाशित: २३ मंसिर २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =