मलेसियाबाट तीन लाखको जागिर छाडेर स्वदेशमा पशुपालन

हिमाल प्रेस २१ मंसिर २०८० २०:१७
10
SHARES
मलेसियाबाट तीन लाखको जागिर छाडेर स्वदेशमा पशुपालन

बागलुङ- नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन्।

बागलुङको बडिगाड गाउँपालिका-१ दगा निवासी मतिलाल वनले सात वर्षअघि १० लाख लागतमा बाख्रापालन थालेका थिए। पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन्, विदेशको राम्रो जागिर छाडेर स्वदेश फर्किए।

जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन्। भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पुगेका थिए।

तीन वर्षको मलेसिया बसाइँ छाडेर गाउँमै कृषि गर्ने उद्देश्यले वन नेपाल फर्किएका थिए। सात वर्षअघि मात्रै १० लाख लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएका छन्। धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्मममा एक सय ५० बाख्रा, बोका र पाठापाठी रहेका छन् भने ६० वटा मौरीका घार रहेका छन्।

‘मासिक तीन लाख रुपैयाँ आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरेँ, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरेँ,’ उनले भने, ‘पुर्खाले परम्परागतरुपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यवसायीकरण गर्न थालेँ, अहिले वार्षिक १५ लाखसम्मको बाख्रा र मौरीबाट कारोबार गर्दछु।’

उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक ६ देखि आठ लाखसम्म बचत गर्न सफल भएको बताए। पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अँगाल्दा बढी सफल हुने उनको भनाइ छ।

हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै ६० लाखको पुँजी जम्मा भएको उनी बताउँछन्। कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए। रासस

प्रकाशित: २१ मंसिर २०८० २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =