पश्चिम नवलपरासीमा कांग्रेस विवाद : शेखर कोइराला सहभागी कार्यक्रम देउवा समूहको बहिष्कार

हिमाल प्रेस १५ मंसिर २०८० १४:४८
24
SHARES
पश्चिम नवलपरासीमा कांग्रेस विवाद : शेखर कोइराला सहभागी कार्यक्रम देउवा समूहको बहिष्कार

काठमाडौँ- नेपाली कांग्रेसको दुई समूहको विवाद कहिल्यै सेलाउन सकेन। कांग्रेसभित्र संस्थापन (सभापति शेरबहादुर देउवा) र इतर समूह (डा.शेखर कोइराला) समूहको विवाद पश्चिम नवलपरासीमा छताछुल्ल भएको छ। त्यहाँ आयोजना हुन लागेको पहिलो जिल्ला भेलाको विषयलाई लिएर दुई पक्षबीच चर्को विवाद उत्पन्न भएको हो। उक्त भेला आज (शुक्रबार) नेता डा. शेखर कोइरालाले उद्घाटन गरिसकेका छन्। तर संस्थापन समूहले उक्त भेला बहिष्कार गरेको छ।

जिल्ला सभापति अर्जुन पोखरेल कोइराला समूहका हुन्। उनले एकलौटी ढंगले, देउवा समूहका कोही नेतालाई पनि जानकारी नदिई जिल्ला सम्मेलनको तयारी गरेको, जिल्लामा मनोनीत गर्ने पदमा आफ्ना नजिककालाई मनोनीत गरेको आरोप लगाउँदै कोइरालाले सहभागी भएको कार्यक्रमलाई  बहिष्कार गरिएको केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल बताउँछन्।

‘यहाँ जिल्लामा जिल्ला सभापतिले एकलौटी गरेको कामलाई शेखर कोइराला जत्तिको नेताले स्वीकारेर कार्यक्रममा सहभागी हुन आउने? जिल्ला भेला हुँदैछ भनेपछि जिल्लाका अन्य नेताहरूसँग समन्वय गर्नुपर्ला, पालिकाका, क्षेत्रका साथीहरूसँग छलफल गर्नुपर्ला। यी काम केही नगर्ने अनि कार्यक्रमको ब्यानरमा हाम्रो फोटो राख्ने?,’ उनले हिमालप्रेससँग भने।

कँडेलले कोइरालालाई इंगित गर्दै जिल्लाको विवाद समाधान गर्न पहल गर्नुपर्ने नेताले नै उनीहरूलाई उकास्ने काम गर्न नहुने पनि बताए। ‘जिल्ला सभापतिले १० जना मनोनीत गर्दा हिजो देवेन्द्रलाई चुनाव हराउन भूमिका खेल्ने, विनोद चौधरीबारे नकारात्मक प्रचार गर्नेलाई मनोनीत गर्नुपर्ने हो?,’ कँडेलले प्रश्न गर्दै भने, ‘जिल्लामा कांग्रेसका लागि योगदान दिएका नेता धेरै छन् नि उनीहरूलाई ठाउँ नदिने हो?’

जिल्लाकै विवादका कारण कोइरालालाई नेता मान्न नसकिने अवस्था नआओस् भनेर आफूले जानकारी गराउँदा पनि आनाकानी गरिएको उनको गुनासो छ। ‘कोइराला परिवारको सदस्यलाई कांग्रेसको नेता मान्न कुनै समस्या छैन। मान्छौँ भनिरहेकै छौँ, मानिरहेकै हो,’ उनले  भने, ‘यसरी एकलौटी भएको कार्यक्रममा सहभागी हुने हो भने त हामीहरूले उहाँलाई नेता मानिरहन जरुरी छैन।’

जिल्ला सभापति पोखरेलसँगै अर्का नेता विक्रम खनालले कोइराला समूहको नेतृत्व गरेर जिल्लामा गुटगत राजनीति गरेको आरोप लागेको छ। खनाल कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री हुन्। अर्को समूहले देवेन्द्रराज कँडेलले नेतृत्व गरेका छन्।

कँडेलले गुनासो गर्दै भने, ‘न दुई जना नै केन्द्रीय सदस्यसँग समन्वय छ, न देउवा समूहका भनेर खुलेका भ्रातृ संस्थाका नेतृत्वलाई नबोइएको छ, शेखर दाइ आउने भएपछि हाम्रो समूहका सबै मनोनीत भएका नेतालाई फालिएको छ।’

शेखर कोइरालाले उद्घाटन गर्ने भनिएको जिल्ला सम्मेलन जिल्लाका ७ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका कांग्रेसको समितिले असहमति जनाएको छ। यसबारे ७ पालिका समितिले कांग्रेसको केन्द्रीय कार्यालयमा पत्र लेखेर ध्यानाकर्षण गराएका छन्। बर्दघाट नगरपालिकाले भने नगर सम्मेलन गरेको बताएको छ। तर यहाँ पनि वडा भेला भने भएको छैन।

 कोइराला समूहका नेता खनालले भने विरोध गर्नुको कुनै अर्थ नभएको बताए।  उनले भने, ‘भेला उद्घाटन भइसकेको छ। विरोध गर्नेहरूले विधानमा केके व्यवस्था छ त्यो हेरुन् अनि विरोध गरुन्।’

देउवा समूहका नेतालाई जिल्ला सम्मेलनबारे खबर नगरिएको भन्ने आरोपको पनि उनले खण्डन गरे।  ‘कार्यक्रमबारे खबर गरिएन भनेर प्रचार गरिएछ। उनीहरूले विधान पढून्। विधान पढ्नु छैन। त्यसै विरोध गरेको छ, भाँडभैलो मच्चाउन खोजेको छ,’ उनले भने, ‘कार्यक्रमबारे जानकारी गराएर नेताहरूलाई फोन पनि गएको छ, इमेल पनि गएको छ। यो काम विधानअनुसार भइरहेको छ।’ यसअघि सूर्यपुरामा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रम पनि संस्थापन समूहले बहिष्कार गरेको थियो।

पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइराला त्यसयता गुट चलाइरहेका छन्। उनको गुटबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका गगन थापा भने निर्वाचित भए। पछिल्लो समय कोइराला-थापा समूह पनि चिसिएको बताइएको छ।

प्रकाशित: १५ मंसिर २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =