 काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
                            काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
                                            काठमाडौँ- आफैँले उत्पादन गरेको काउली र गोलभेँडाले बजार नपाएपछि किसान चिन्तित बनेका छन्। काउली र गोलभेँडा नबिकेपछि बारीमा कुहिएर नास भएको उनीहरू बताउँछन्। साथै यस क्षेत्रमा गरिएको लाखौँ लगानी डुबेको छ। काठमाडौँमा धादिङ, नुवाकोट, काभ्रे र चितवनसहित तराईका विभिन्न जिल्लाबाट काउली र गोलभेँडा भित्रिँदै आएको छ।
चितवनमा तरकारीखेती गर्दै आएका लेखकनाथ भुसाल गोलभेँडा र काउलीले बजार भाउ नपाएपछि निराश छन्। उनले गत वर्ष ५ लाख रुपैयाँभन्दा बढीको गोलभेँडा बेचेका थिए। काउली र गोलभेँडा बारीमै कुहिएको भुसाल बताउँछन्।
गोलभेँडाको बजार मूल्य एक साताअघिसम्म ८० रुपैयाँभन्दा बढी थियो। पाँच दिनपछि मूल्य घटेको छ। कात्तिक अन्तिममा गोलभेँडाको मूल्य प्रतिकेजी १ सय ७० रुपैयाँ थियो। अहिले प्रतिकेजी ३० रुपैयाँमा पनि बिक्री गर्ने अवस्था नभएको किसान बताउँछन्। साथै काउली प्रतिकेजी २० रुपैयाँमा झरेको छ।
‘एक किलो गोलभेँडा उत्पादन गर्न कम्तीमा २० रुपैयाँ लगानी पर्छ। काउलीलाई पनि लगानी उस्तै हो’, भुसालले भने, ‘किसानले वर्षभर मेहनत गरेर तरकारी उत्पादन गर्नुपर्छ। बिक्री गर्ने बेलामा बजारमा भाउ सस्तो हुन्छ। यस्तो भएपछि मर्कामा पर्ने त हामी नै हो। स्टोर गरेर पछि बेचौँला भन्ने अवस्था पनि छैन।’
तरकारीको मूल्य नपाउँदा आफूहरूलाई ठूलो नोक्सान भएको काभ्रे भकुन्डेबेसीका किसान दिनेश पाण्डेले बताए। उनले भने, ‘आन्तरिक उत्पादन मूल्यहीन भएर बारीमै सडेर जाने अवस्था हुँदा हामी मर्कामा परेका छौँ।’ नेपालमा उत्पादन भएको तरकारी बिक्री नभएका बेला सरकारले आयात रोक्नुपर्ने माग उनको छ। पाण्डेले भने, ‘यस्तै अवस्था अझै केही दिन रहने हो भने किसानले तरकारीमा पनि राम्रै धोका पाउने निश्चित छ। यसको असर किसानमा पर्छ।’
देशभित्र तरकारीको माग आन्तरिक उत्पादनले पूरा हुने देखिएको छ। तर भारतबाट तरकारी आउन छाडेको छैन। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारतबाट कालीमाटीमा दैनिक ५० हजार किलोभन्दा बढी काउली र गोलभेँडा भित्रिने गरेको छ। सोही कारण स्वदेश उत्पादन बिक्रीमा असर परेको श्रेष्ठ बताउँछन्।
सरकारले आयातमा रोक नलगाउँदा किसान मारमा परेको धादिङका तरकारी उत्पादक मनोज लम्सालको गुनासो छ। अब तरकारी किसान ऋणमा पर्ने उनले बताए। ‘सामान्य खेतीपाती गर्न वार्षिक दुई लाख रुपैयाँभन्दा बढी लगानी हुन्छ। यो त देखिएको लगानी हो। यसमा परिवारका सबैको श्रम खपत भएको हुन्छ’, लम्सालले भने, ‘पैसा मात्र होइन, तरकारीमा औषधि, बिउ, पानी र अन्य प्रविधि पनि प्रयोग गरिएको हुन्छ। तरकारी फलाउन एउटा परिवारले दैनिक १५ घण्टा समय खर्चिएको हुन्छ। यसैपटक सबै मेहनत र लगानी खेर गयो।’
कालीमाटीस्थित तरकारी बजारको तथ्यांकअनुसार सोमबार ७५ हजार किलो गोलभेँडा भित्रिएको छ। काउली पनि सोही अनुपातमा आएको छ। यो परिमाण केही दिनअघिको तुलनामा कम हो। एक साताअघिसम्म काउली र गोलभेँडा दैनिक एक लाख किलोभन्दा बढी भित्रिएको समितिको तथ्यांकछ।
मागभन्दा बढी उत्पादन भएर बजारमा आएपछि मूल्य सस्तिएको समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्। गोलभेँडा र काउलीको मूल्य अझै घट्ने अनुमान उनको छ।
नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) सदस्य भएकाले नेपालमा उत्पादन बढ्नेबित्तिकै विदेशी तरकारीको आयात रोक्न मिल्दैन। डब्लूटीओको सदस्य भएपछि निश्चित वस्तु र परिमाण नेपाल भित्र्याउन दिनुपर्छ। भरतसँग भएको पारवाहन सम्झौताका कारण पनि तरकारी आयातमा रोक लगाउन नसकिने जानकारहरू बताउँछन्।
कालीमाटी तरकारी बजारले सोमबार निर्धारण गरेको मूल्यअनुसार एक केजी काउलीको मूल्य बढीमा १५ रुपैयाँ छ। थोरैमा १० रुपैयाँ र औसतमा १२ रुपैयाँ ४० पैसा छ। लोकल गोलभेँडाको मूल्य पनि त्यत्तिनै तोकिएको छ। मूला त अझै सस्तो छ। फर्सी, काँक्रा, भ्यान्टा होस् या रायो साग प्रतिकेजी २० रुपैयाँभन्दा कम छन्। आमसर्वसाधारण भने एक सय रुपैयाँमा ७/८ रुपैयाँ किलो तरकारी पाउँदा खुसी छन्।
आलुप्याजको भाउ दोब्बर बढ्यो : व्यवसायी भन्छन्, बेच्छु भन्दा पनि पाइँदैन


![कालिमाटीमा तरकारी : बन्दा ५०, सिमी ८० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/banda.jpg) 
                                              
                                              
                                             ![कालिमाटीमा तरकारी : गोलभेँडा ६५, काउली ६८ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/chunck/10/taja-tarkariiii_1656745953.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 