आलुप्याजको भाउ दोब्बर बढ्यो : व्यवसायी भन्छन्, बेच्छु भन्दा पनि पाइँदैन

रमेश भारती २५ मंसिर २०८० ७:१९
12
SHARES
आलुप्याजको भाउ दोब्बर बढ्यो : व्यवसायी भन्छन्, बेच्छु भन्दा पनि पाइँदैन बिक्रीका लागि राखिएको आलु र प्याज।

काठमाडौँ- एक साताभित्र आलुप्याजको मूल्य दोब्बर बढेको छ। गत साता ९० देखि एक सयमा रुपैयाँमा पाइने प्याजको मूल्य २ सय रुपैयाँ नाघेको छ। बजारमा प्याजको खुद्रा मूल्य २ सय १० रुपैयाँ पुगेको छ। आलुको प्रतिकेजी ७० रुपैयाँ छ। गत साता आलु प्रतिकेजी ३० रुपैयाँमा पाइन्थ्यो।

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएका कारण प्याजको मूल्य अकासिएको व्यवसायीहरू बताउँछन्। भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सन् २०२४ को मार्चसम्मका लागि प्याज निर्यातमा रोक लगाएको छ।

भारतले तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको थियो। नेपाल सरकारले पनि आयतित प्याजमा १३ प्रतिशत कर बनाएका कारण मूल्य बढेको गुनासो खुद्रा व्यापारीको छ।

आलु र प्याजमा मूल्य अभिवृद्धि कर विवादका कारण नेपाली होलसेल व्यवसायी आन्दोलित भएका थिए। स्थानीय उत्पादनमा कर हटाउने सरकारको निर्णय गरेपछि आन्दोलन फिर्ता लिए पनि भारतले प्याज निर्यातमै रोक लगाएपछि फेरि प्याजको अभाव झेल्नुपर्ने आलुप्याज आयातनिर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल बताउँछन्। उनका अनुसार  महँगोमा बेच्छु भन्दा पनि बजारमा आलुप्याज पाइँदैन। बुधबारदेखि आलुप्याज व्यापार ठप्प भएको उनले बताए। गजुरेलले भने, ‘नेपालमै प्याजखेती गर्न पनि सकिनेछ। सरकारसँग आलु प्याजमा मूल्य अभिवृद्धि कर लगाउने अव्यावहारिक निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ। सरकारले वास्ता गरेको छैन।’

चालू आर्थिक वर्ष ०८०/८१ को आर्थिक ऐनमा आलुप्याजमा भ्याट लगाउने व्यवस्था छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‌मा सम्बोधन गर्दै आयातित आलुप्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए। तर त्यो आश्वासन कार्यान्वयन नभएको संघको आरोप छ।

काठमाडौँ उपत्यकामा दैनिक ८० हजार किलो आलु र ४० हजार किलो प्याज खपत हुने गरेको व्यवसायीले बताउँछन्। देशभर दैनिक २ लाख किलो आलु र १ लाख २० हजार केजी प्याज व्यापार हुने गरेको छ।

गजुरेलले राज्यको नीतिले अप्ठ्यारो पर्ने भएपछि कतिपय खुद्रा व्यापारी र आलुप्याजका डिलर व्यवसाय नगर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ। उनका अनुसार सरकारले स्वदेशमा उत्पादन भएको आलुप्याजको पनि खरिद भ्याट बिल खोज्छ। नेपाली किसानबाट खरिद गरेको आलुप्याजमा भ्याट बिलमार्फत व्यापार नहुने गरेको गजुरेलले जानकारी दिए।

नेपालमा उत्पादन भएको आलुप्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न सम्भव नभएका कारण पनि समस्या भइरहेको व्यवसायी बताउँछन्। अहिले स्टक भएको आलु–प्याज मात्र व्यापार भइरहेको र यो सातादेखि बजारमा प्याज नपाइने संघका महासचिव गजुरेलले जानकारी दिए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलुप्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द व्यापार नै छाड्न थालेको छन्।

भारतमै प्याजको मूल्य उच्च

भारतीय बजारमा प्याजको मूल्य उच्च रहेका कारण नेपालमा यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। गत असोजदेखि भारतबाट भित्रिने प्याज घटेका कारण मूल्यवृद्धि भएको उनले बताए।

असोजसम्म दैनिक करिब एक लाख ७० हजार किलो हाराहारी प्याज आयात भइरहेको समितिको तथ्यांकमा छ। कात्तिकदेखि भारतबाट ६० हजार किलो मात्र प्याज आयात भएको र मंसिर लागेपछि ४० हजार किलोमा झरेको समितिले जनाएको छ।

नेपालमा खपत हुने प्याजमध्यै ८० प्रतिशत भारतबाट आयात हुन्छ। २० प्रतिशत आन्तरिक उत्पादनले धान्ने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। नेपाली बजारमा पाइने अधिकांश प्याज भारतीय उत्पादन हो। तीन सातायाता भारतीय बजारमा प्याजको मूल्य १८ प्रतिशतसम्मले बढेर भारु ९० रुपैयाँ (१ सय ४४ नेपाली रुपैयाँ) प्रतिकिलोसम्म पुगेको आलुप्याज व्यापारी रामराज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भारतमा उत्पादन हुने बैंग्लोर रोज र कृष्णपुरम् जातको प्याजको निर्यात मूल्य न्यूनतम ८ सय २० अमेरिकी डलर प्रतिमेट्रिकटनमा व्यापार भइरहेको छ। भारतको विहार, केरला र चेन्नईमा सबैभन्दा बढी प्याज उत्पादन हुन्छ। यिनै ठाउँबाट नेपालमा प्याज भित्रिने गरेको व्यवसायी बताउँछन्। भारतीय बजारमा पनि डिसेम्बर अन्तिम (पुस दोस्रो साता) प्याजको मूल्य उच्च हुने भएका कारण नेपालमा प्याजको मूल्य ३ सय रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ।

नेपालले वार्षिक ५ अर्ब बढीको प्याज भारतबाट आयात गर्दै आएको छ। चालु आर्थिक वर्षको ४ महिना (कात्तिकसम्म) भारतबाट १ अर्ब ७० करोड रुपैयाँ बराबरको ४२ हजार मेट्रिक टन प्याज आयात भएको भान्सार विभागको तथ्यांकमा छ। नेपालमा खपत हुने अधिकांश प्याज भारतबाट आयात हुने गरेको व्यवसायी बताउँछन्।

प्रकाशित: २५ मंसिर २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =