आयातित सामग्रीले धानेको तिहार

मस्त केसी २६ कार्तिक २०८० ११:३५
14
SHARES
आयातित सामग्रीले धानेको तिहार काठमाडौँको असनमा तिहारका लागि किनमेल गरिँदै। तस्बिर : दिपेश श्रेष्ठ

मौलिक र सां‌स्कृतिक महत्त्व बोकेको पर्व तिहारमा चाहिने लगभग शतप्रतिशत सामग्री विदेशी बजारबाट आउँछन्।

तिहारलाई धनधान्यकी देवी लक्ष्मी, उज्यालो र फूलको पर्वका रूपमा चिनिन्छ। यही कारण यो पर्वमा पूजासामग्री, झिलिमिली बत्ती र फूलको व्यापार अकासिने गर्छ। लक्ष्मीपूजाका लागि घर झिलिमिली बनाउने, धनतेरशका लागि सुनचाँदी खरिद गर्ने परम्परागत चलन छ।

तिहारका हरेक दिनको पूजामा फूलको माला अनिवार्य चाहिन्छ। अन्तिम दिन भाइटीकामा सयपत्री र मखमलीको माला अत्यधिक खपत हुन्छ। टीका-माला लगाएर दिदीबहिनीले दाजुभाइलाई भाइमसला दिने चलन छ। यसरी तिहारका हरेक दिन फूलमाला, विभिन्न परिकारका मिठाई र रोटी, झिलिमिली बत्तीदेखि भाइमसलाका लागि धेरै सामग्री आवश्यक पर्छ।

तर यसमध्ये फूलबाहेकका सामग्री शतप्रतिशत विश्वबजारबाट नेपालमा भित्रिन्छन्। भन्सार विभागको तथ्यांकअनुसार भाइमसलामा प्रयोग हुने काजु भारत, भियतनामदेखि दक्षिण अफ्रिकासम्मबाट आउँछ। किसमिस चीन, छोकडा पाकिस्तानबाट बढी आयात हुन्छ। नरिवल भारत र बदाम अमेरिकाबाट आयात हुन्छ। भाइमसलामा प्रयोग हुने सुपारीचाहिँ नेपालमा पनि उत्पादन हुन्छ। तर पनि सुपारी भारत, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियालगायत मुुलुकबाट आयात हुने गरेको छ। ओखर भारत, चीन, अमेरिका र टर्कीबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ।

त्यति मात्रै होइन, नेपालको केही करोडमा मात्रै वार्षिक व्यापार हुने देशबाट समेत भाइमसलाका सामान आइपुग्छन्। पिस्ता अफगानिस्तान, ल्वाङ तान्जानिया, सुकमेल ग्वाटेमालालगायत देशबाट आयात भइरहेको विभागको तथ्यांक छ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भाइमसलामा प्रयोग हुने शतप्रतिशत सामग्री आयातित हुन्। उनी मिस्रीसमेत भारतबाट आयात हुने गरेको बताउँछन्। श्रेष्ठ भन्छन्, ‘केही वर्षअघिसम्म नेपालमै मिस्री तयार हुन्थ्यो, तर थोरै मात्रै बजारमा जाने र तिहारमा मात्रै खपत हुने भएकाले अहिले नेपाली उद्योगीले बनाउन छोडे।’

अर्थतन्त्र चलायमान बनाउने चाड

तिहारको धार्मिक-सांस्कृतिक महत्त्व त छँदैछ, यो समयमा हुने किनमेलले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरेको छ। तिहारको बेला छोटो समयमा हुने ठूलो किनमेलले मुलुकको अर्थव्यवस्थालाई भरथेग गर्छ। तिहार, दसैँजस्ता ठूला चाडमा हुनेखानेले कमाएको केही प्रतिशत र नहुनेले ऋण गरेरै भए पनि मन फुकाएर खर्च गर्ने गर्छन्। व्यवसायीका अनुसार दसैँतिहारजस्ता ठूला चाडबाडमा व्यापार २०० प्रतिशतले बढ्छ। त्यसले अर्थतन्त्रलाई चलायमान त बनाउँछ नै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि गर्छ।

यसलाई भन्सार विभागको तथ्यांकले पुष्टि गर्छ। तिहार र दसैँलाई लक्षित गरेर असोजमा मात्रै एक खर्ब ४८ अर्ब बराबरको सामग्री आयात भएको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। असोजसम्म चार खर्ब सात अर्ब ७५ करोडको सामग्री आएको छ।

तिहारमा विशेषगरी लक्ष्मीपूजाका अवसरमा बत्तीहरूले घर, पसल, कार्यालयलाई झिलिमिली पार्ने गरिन्छ। केही वर्षयता झिलिमिलीका लागि माटोका पालाको साटो पालाजस्तै देखिने विद्युतीय बत्तीको प्रयोग बढ्दो छ। स्वदेशमै तयार पाला र मैनबत्तीको स्थान विदेशी झिलमिली बत्तीले ओगट्न थालेका हुन्। भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष तीन अर्ब ८५ करोड बराबरका इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिसबाजी आयात गरिएको छ।

त्यस्ता सामग्री चीन र भारतबाट आयात हुन्छन्। अहिले नेपाल भित्रिने त्यस्ता कुल विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात हुने गरेको छ। यस्ता सामग्री विगतमा भारतबाट धेरै आयात हुन्थ्यो।

पछिल्लो समय आकर्षक र सस्तो मूल्यका कारण चिनियाँ उत्पादनले भारतीय सामग्रीलाई विस्थापित गरेको व्यवसायीहरू बताउँछन्। तिहारमा एक देखि डेढ अर्बसम्मको विद्युतीय सामग्रीको कारोबार हुने गरेको नेपाल विद्युत् व्यवसायी महासंघले जनाएको छ।

फूल, बत्तीलगायत सजावटका विद्युतीय सामान, गरगहना र भाँडाकुँडासँगै मौसमी फल बिक्री हुने समय पनि तिहार नै हो। तर नेपालमै मनग्गे उत्पादन हुने केरा, निबुवा, बिमिरो, ओखर, हलुवावेद, स्याउ, अनारजस्ता फल पनि विदेशी बजारबाट भित्रिन्छन्। भन्सार विभागका अनुसार चालु आवको तीन महिनामा मात्रै दुई अर्ब २५ करोडको स्याउ भित्रिएको छ।

दसैँतिहारमा लत्ताकपडा, माछामासु, दैनिक उपभोग्य वस्तु, मदिरा, सवारीसाधन खरिद, घर रङरोगन, घरायसी सामान खरिददेखि लामो बिदा हुने भएकाले पारिवारिक घुमफिर गर्ने चलन पनि फस्टाएको छ। यसले समग्रमा अर्थतन्त्रलाई भरथेग गर्छ। व्यक्तिसँग भएको पैसा बजारमा पुग्छ।

दसैँतिहार जस्ता चाडपर्वले मुलुकको अर्थतन्त्र चलायमान बनाउने भएकाले उद्योगी, व्यवसायीका लागि विशेष महत्त्व हुने नै भयो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल चाडपर्वमा दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, फलफूल, रङरोगन, मसलालगायत वस्तुको व्यापार शतप्रतिशत बढ्ने बताउँछन्। ‘चाडबाडले अर्थतन्त्रमा ठूलो प्राण भर्छ,’ उनी भन्छन्, ‘यो बेला हुने व्यापारले अर्को तीन महिना थेग्छ।’

प्रकाशित: २६ कार्तिक २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =