कलाकार र युवा पलायनले गाउँमा छैन देउसीभैलोको रौनक

हिमाल प्रेस १६ कार्तिक २०८१ १२:२९
24
SHARES
कलाकार र युवा पलायनले गाउँमा छैन देउसीभैलोको रौनक

म्याग्दी- तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ। १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो। यसपटक तिहार सुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन्।

बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताए। ‘देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन्,’ उनले भने, ‘१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो।’

सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवति कम रहेका स्थानीयबासी बताउँछन्। बजारमा भएका युवा युवति विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताए।

‘देउसीभैलोसँगै विभिन्न किसिमका गीतमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,’ द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उनले भने, भने, ‘पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौं।’

कलाकार र युवा पलायनको असर

नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकार पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा बिदेसिएका सुनारले बताए।

जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरूले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन्। पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजनामा देउसीभैलो खेलीएको छ।

भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहेका म्याग्दी ताकमका राहुल केसीले बताए। ‘बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,’ उनले भने, ‘हाम्रो सन्तानले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएका छौं।’

देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो

पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ। संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ। कलाकारले आफै भट्याउने, बजाउने चलन कम छ। रेकर्ड गीत स्पिकरमा बजाएर नाच्ने गरिएको छ। यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताए।

प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ। सामुदायिक विद्यालयले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन्।

देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ। देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ।

घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन्। देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ। विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ। राससका सन्तोष गौतमको रिपोर्ट

प्रकाशित: १६ कार्तिक २०८१ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast