रुसी सेनामा नेपाली

यूएईमा ८० हजार तलब छाडेर रुस पुगेका गंगाराजको दुःखद अन्त्य

रमेश भारती १४ मंसिर २०८० ११:०३
390
SHARES
यूएईमा ८० हजार तलब छाडेर रुस पुगेका गंगाराजको दुःखद अन्त्य रुसी सेनामा भर्ती भएपछि टिकटक लाइभमा बसेका गंगाराम मोक्तान (जुँगा पालेका) ।

काठमाडौँ- इलाम नगरपालिका-५ का ३३ वर्षीय गंगाराज मोक्तान यूएई गएको चार वर्ष बित्दासम्म फर्किएनन्। उनी त्यहाँको कमाइबाट सन्तुष्ट थिएनन्। त्यसैले अर्कै मुलुकमा जाने तानाबानामा लागे।

गंगाराजकी पत्नी याङकी मोक्तान शेर्पाले भनिन्, ‘मासिक ८० हजार रुपैयाँ कमाइ भए पनि उहाँ सन्तुष्ट हुनुहुन्नथ्यो।’ गंगाराज बढी आम्दानी हुने मुलुकमा जाने योजनामा थिए। पहिलो रोजाइ बन्यो माल्टा।

याङकीका अनुसार गंगाराज यूएईबाट पटकपटक घर आउने प्रयासमा थिए। तर रोजगारीमा माल्टा पठाइदिन्छु भन्ने एजेन्टले घर आउन दिएको थिएन। माल्टा पठाउने एजेन्ट १२ लाख रुपैयाँ लिएर गायब भएपछि गंगाराज थप तनावमा परे। त्यही ऋण तिर्नका लागि उनी काममा व्यस्त हुन थाले। ‘रोजगारीका लागि माल्टा पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ यूएईकै दलाल खाइदिए। त्यही ऋण तिर्नुपर्ने भएकाले उहाँ फर्कनुभएको थिएन’, उनले भनिन्।

माल्टा जान विफल भएको र ऋण पनि लागेपछि गंगाराजले श्रीमतीसँग रुस जाने अनुमति मागे। युद्धग्रस्त क्षेत्रमा जोखिम सहेर काम गरेमा कमाइ धेरै हुने सपना गंगाराजको थियो। याङकीले अनुमति दिएकी थिइनन्। गंगाराज रुस गएरै छाडे।

उनले भनिन्, ‘रुसी सेनामा भर्ती हुन जान्छु भनेपछि आफूले अस्वीकार गरे पनि उहाँ जबरजस्ती जानुभयो।’ याङकीका अनुसार गंगाराज आफ्नै पहलमा रुस पुगेका थिए। नेपाली सेनामा पाँच वर्ष काम गरेका गंगाराज रुसी सेनामा भर्ती हुन पुगे। दुई महिनाअघि रुसी सेनामा भर्ती भएका गंगाराज अब यो संसारमा छैनन्।

गंगाराजको कात्तिक २९ गते तालिमका क्रममा मृत्यु भएको खबर मस्कोस्थित नेपाली दूतावासले तीन दिनअघि दिएको श्रीमती याङकीले जानकारी दिइन्। अहिले यस्तो खबर आउँदा आफू र ८ वर्षको छारो अलपत्र परेको उनी बताउँछिन्। गंगाराजलाई रुसी सेनामा भर्ती हुन यूएईका एजेन्टले गलत सूचना दिएको हुन सक्ने याङकी बताउँछिन्। गंगाराजले कात्तिक २८ गते सेनाको तालिममा छु भनेर घरमा फोन गरेका थिए।

याङकीका अनुसार यूएईमा गंगाराजले मासिक ८० हजार रुपैयाँ तलब थप्ने गरेका थिए।  उनी भन्छिन्, ‘यूएईमै राम्रो छ, त्यहीँ बस्नु भनेर कति पटक भनेँ तर उहाँले सुनुभएन।’ घर खर्च चलाउने एउटा मात्र सहाराको मृत्यु भएपछि परिवारमा थप संकट आइलागेको उनले बताइन्। श्रीमान्‌को मृत्यु कसरी भएको भन्ने बारेमा दूतावासले थप विवरण नदिएको याङकीको गुनासो छ। ‘देशभित्र रोजगारी पाएकै कारण परिवारबाट बाहिरिँदा उहाँको मृत्यु भयो। उहाँको शव हेर्ने पाए हुन्थ्यो’, उनी भन्छिन्।

गंगाराजको मृत्यु कसरी भयो भन्ने नखुलेका कारण शवको टुंगो पनि लागेको छैन। उनी यूएईबाट रुसी सेनाको काम गर्न गएका कारण उनलाई कसले र कसरी पठाएको भन्ने प्रमाण नेपाल सरकार छैन। त्यसैले उनका बारेमा थप विवरण लिन पनि समस्या भइरहेको  रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले बताए।

दूतावासका अनुसार युक्रेनसँगको युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको कात्तिक २९ गते मृत्यु भएको हो। उनीहरू रुसी सेनाको सहयोगीको जिम्मेवारीमा कार्यरत थिए। उनीहरूको मृत्यु भएको खबर पाए पनि शव कहाँ छ भन्नेबारे दूतावासले जानकारी नगराएको मृतकका परिवारले जनाएका छन्।

रुस-युक्रेनबीच युद्ध सुरु भएपछि नेपाली युवा पैसा कमाउने प्रलोभनमा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। मास्कोस्थित नेपाली दूतावासले रुस र युक्रेनको सेनामा दुई सय जनाभन्दा बढी नेपाली युवा भर्ती भएको अनुमान गरेको छ।

रुसी सेनामा नेपाली, सेटिङमा पुगेर आफूखुसी भर्ती

 

प्रकाशित: १४ मंसिर २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =