कोशीबाट दुई अर्ब ५९ करोडको चिया र सवा अर्बको अलैंची निर्यात

हिमाल प्रेस १२ मंसिर २०८० १६:३७
8
SHARES
कोशीबाट दुई अर्ब ५९ करोडको चिया र सवा अर्बको अलैंची निर्यात अलैँची टिप्दै किसान। फाइल तस्बिर

झापा– कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ। पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।

झापा, इलाम, पाँचथर, धनकुटा लगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ। पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्। पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ।

प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा रु१ अर्ब २० करोड ८० लाख मूल्य बराबरको १ हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको थियो।

पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ लगायत जिल्लामा ओसिलो खोल्सा र खेतमा अलैंचीको खेती हुँदै आएको छ। औषधि र मसलाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ। आव २०८०/८१ को त्रैमासिक अवधिमा रु २२ करोड ९५ लाख मूल्य बराबरको १ हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी भएको छ। निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ।

किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन्। उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्‍याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ। अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ। नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ। तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ। चालु आवको त्रैमासिक अवधिमा रु २९ करोड ४० हजार मूल्य बराबरको २ हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिए।

अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती हुन्छ। फूललाई छिप्पिएपछि थुतेर कुचोका रुपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन्। अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ।

पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ। मसलाका रुपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ। प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा रु ७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ।

सोही अवधिमा रु १७ लाख ९२ हजार मूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ। नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दाल समेत रहेको छ।  सोही अवधिमा रु८ करोड ४ लाख १९ हजार मूल्य बराबरको ५८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १२ मंसिर २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =