कीर्तिमानी कोहली, सानदार शामी

हिमाल प्रेस ३० कार्तिक २०८० ७:४६
12
SHARES
कीर्तिमानी कोहली, सानदार शामी

काठमाडौँ- विराट कोहलीको कीर्तिमानी शतक र मोहम्मद शामीको सात विकेटको मद्दतले भारतले क्रिकेट विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको छ। बुधबार राति न्युजिल्यान्डमाथि ७० रनको जित दर्ता गरेको भारत फाइनलमा पुग्ने पहिलो टिम बन्यो।

भारतले अब उपाधि भिडन्तमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विजेतासँग सामना गर्नेछ। अस्ट्रेलिया र दक्षिण अफ्रिका दोस्रो सेमिफाइनलमा बिहीबार साँझ भिड्दैछन्। फाइनल भने आउँदो आइतबार हुनेछ।

मुम्बईको वाङ्खेडे रंगशालामा कोहलीले ११७ रन बनाए। अब उनको नाममा एकदिवसीय क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान दर्ज भएको छ। न्युजिल्यान्डविरुद्ध उनले बनाएको शतक एक दिवसीयमा ५० औँ हो। गत आइतबार दक्षिण अफ्रिकासँगको खेलमा उनले ४९ औँ शतक बनाएका थिए। सचिन तेन्दुलकरको नाममा पनि ४९ शतक छ।

सेमिफाइनलमा भारतलाई जिताउन कोहलीले श्रेयस ऐयरसँग १६३ रनको साझेदारी गरे। त्यसअघि दोस्रो विकेटका लागि कोहली र शुभमन गिलले ९३ रनको साझेदारी भएको थियो। ऐयरले ७० बलमा १०५ रन र घाइते हुनुअघि गिलले ८० रनको योगदान गरेका थिए। कप्तान रोहित शर्माको नाममा ४७ रन रह्यो।

दुई ब्याट्सम्यानले शतक र एकले अर्धशतक प्रहार गरेपछि भारतले चार विकेटको क्षतिमा ३९७ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डलाई रोक्न शामीले सात विकेट लिए। पछिल्ला दुई विश्वकपको फाइनल पुगेको न्युजिल्यान्ड ३२७ रनमा सीमित भयो। गत विश्वकपको फाइनलमा पुग्न न्युजिल्यान्डले भारतलाई पन्छाएको थियो।

न्युजिल्यान्डका लागि डारिल मिचेलले शतक बनाए। उनले ११९ बलमा १३४ रन बनाए पनि न्युजिल्यान्डको हार टरेन। पराजित टिमका कप्तान केन विलियमसनले ७३ बलमा ६९ र ग्लेन फिलिप्सले ३३ बलमा ४१ रन बटुले।

कोहलीले त कीर्तिमान राखे नै, शामीका लागि पनि यो जित विशेष रह्यो। उनले ५७ रन खर्चिएर सात विकेट लिनु भारतीय बलरले एकदिवसीयमा गरेको सबैभन्दा उत्कृष्ट बलिङ हो। यसअघिका विश्वकप सेमिफाइनलमा पनि कसैले सात विकेट लिन सकेका थिएनन्। सेमिफाइनलमा सर्वाधिक विकेट लिएको कीर्तिमान यसअघि ग्यारी गिलमरको नाममा थियो। उनले सन् १९७५ मा १४ रन खर्च गरेर ६ विकेट लिएका थिए।

भारत समूह चरणका सबै १० खेल जितेर सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा सफलता हात पारेसँगै भारतले तेस्रो पटक च्याम्पियन बन्ने सम्भावना बढाएको थियो। भारतले हालसम्म तीन पटक विश्वकप जितेको छ। पछिल्लो पटक भारतीय टिम च्याम्पियन बनेको सन् २०११ मा हो। त्यसबेला पनि विश्वकपको आयोजक भारत आफैँ थियो।

‘नयाँ बलले विकेट लिन सकिन्छ भन्ने मेरो विश्वास हराएको छैन,’ भारतको जितपछि शामीले भने, ‘पछिल्ला दुई विश्वकपमा हामी सेमिफाइनल कट्न सकेनौँ। यसपालि पनि सेमिफाइनल खेल्ने मौका हात प¥यो, यो मौकालाई खेर फाल्ने पक्षमा हामी थिएनौँ।’

शामीले खेलको सुरुवातमै दुई विकेट हात पारेका थिए। छैटौँ ओभरमा पहिलो बलमै डेभोन कोन्वेको विकेट लिएका उनले आठौँ ओभरमा रचिन रविन्द्रलाई पभेलियन फर्काए।

शामीले दुवै ओपनरको विकेट लिँदा न्युजिल्यान्ड ३९–२ रनको स्थितिमा पुग्यो। त्यहाँबाट भने न्युजिल्यान्डलाई कप्तान विलियम्सन र मिचेलले उकासे। यी दुईले तेस्रो विकेटका लागि १८१ रनको साझेदारी गरे।

शामीले ३३ औँ ओभरमा पुगेर दुई विकेट थपे। विलियम्सन र मिचेलबीचको साझेदारी भत्काएका उनले टोम लाथमको पनि विकेट लिए। ४९ औँ ओभरमा शामीले फेरि दुई विकेट थपे। यसपालि टिम साउथी र लोकी फर्गुसन शामीको बलमा आउट भए।

‘हामीलाई थाहा थियो, असाध्यै मेहनत नगरे यो खेल जित्न सकिँदैन। जितका लागि हामीले हरसम्भव प्रयास गर्‍यौँ। फेरि शामीले पनि जादु देखाए,’ भारतीय कप्तान रोहित शर्माको भनाइ थियो।

सेमिफाइनलमा हारसँगै पहिलो पटक विश्वकप विजेता बन्ने न्युजिल्यान्डको लक्ष्य फेरि एकपटक पूरा नहुने भएको छ। ‘भारतलाई बधाई छ। भारतीय खेलाडीहरुले साँच्चै राम्रो खेले। तर हामीले पनि नराम्रो खेलेको होइन। सबैले मेहनत गरेकै हो,’ पराजित टिमका कप्तान विलियम्सनले भने।

पूरा भएको सपना

वाङ्खेडेमा कोहलीको ५० औँ शतकको साक्षी केवल भारतीय समर्थक मात्र बनेनन्। सचिन तेन्दुलकरसँगै इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान डेभिड बेक्हम पनि रंगशालामा थिए।

‘सपना जस्तै लागेको छ। यो स्तरको सफलता हात पारेँ र भनेझैँ लागेको छ,’ कोहलीले भने। कोहलीको ब्याटिङको प्रशंसा तेन्दुलकरले पनि गरे। ‘मेरो कीर्तिमान भारतीयले नै भंग गरे। योभन्दा खुसीको कुरा के हुनसक्छ र?’ तेन्दुलकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उसो त यो सेमिफाइनल सामान्य विवादले पनि घेरियो। खेल सुरु हुनुअघि नै भारतीय क्रिकेट संघ (बीसीसीआई) माथि आरोप लाग्यो, पुरानो पिचमा खेलाएको भनेर।

यद्यपि यो आरोपले खेल रोकेन। ब्याटिङ सुरु गरेको भारत बलियो ढंगमा अघि बढ्दै थियो, न्युजिल्यान्डका साउथीले कोहलीलाई केहीबेर अप्ठ्यारोमा पारे। एलबीडब्लुको धरापमा कोहली परेको ठानियो। तर रिभ्यूले त्यस्तो देखाएन।

त्यहाँबाट अघि बढेका कोहली रोकिएनन्। घरमै जारी विश्वकपमा तेस्रो शतक प्रहार गरिछाडे। कोहलीले शतक पूरा गर्दा रंगशाला उनको नाममा गुञ्जायमान बनेको थियो। तेन्दुलकरले समेत सिटबाट उठेर ताली बजाइरहेको देखिएको थियो। त्यसपछि कोहलीले मैदानबाटै आफ्ना आदर्श तेन्दुलकरलाई शीर निहुराएर धन्यवाद दिएका थिए।

प्रकाशित: ३० कार्तिक २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =