संगठित रूपमै बिजुली चोरी

हिमाल प्रेस २६ कार्तिक २०८० ९:३६ | Sunday, November 12, 2023
संगठित रूपमै बिजुली चोरी सांकेतिक तस्बिर।

काठमाडौँ- सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठित रूपमै बिजुली चोरी भएको पाइएको छ।

नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार,मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रूपमा बिजुली प्रयोग गरेको फेला परेको हो।

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एक सय ग्राहकको सिंगल तथा थ्री फेज मिटरको छड्के अनुगमन गरेको थियो। त्यसमध्ये ४०भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए।

प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायत गैरकानुनी क्रियाकलाप संगठित रूपमै भइरहेको पाइएको बताए।

उनले गैरकानुनी रूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए।

उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ। कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुईवटा राइस मिल र एउटा सिंचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ।

उक्त मिलहरूले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए। ब्रम्हबाबा जलउपभोक्ता समिति, धनकौलले ५० एमभीएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो। उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

प्रकाशित: २६ कार्तिक २०८० ९:३६ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast