पोखरा-२४ का वडाध्यक्षलाई तोकियो साढे ४ महिनाको जेल सजाय

हिमाल प्रेस ७ मंसिर २०८० २०:४३ | Thursday, November 23, 2023
पोखरा-२४ का वडाध्यक्षलाई तोकियो साढे ४ महिनाको जेल सजाय

पोखरा- जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा पोखरा वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना जेल सजाय र ७५ हजार रुपैयाँ जरिबाना फैसला सुनाइएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई जेल सजाय र जरिबानासहितको फैसला सुनाएको हो। गत वर्ष माघ ९ मा उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

गत वर्ष पोखरा-२४ का वडा सदस्य मैयाँ नेपालीले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा आफ्नै वडाध्यक्ष अधिकारीलाई कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७(१) क अनुसार उक्त कसूरमा ३ महिना कैद तथा ५० हजारसम्म जरिबाना हुने उल्लेख भए पनि सार्वजनिक पद धारण गरेको व्यक्ति (जनप्रतिनिधि) भएकाले उनलाई ५० प्रतिशत बढी कैद तथा जरिबाना हुने व्यवस्था छ। साथै पीडित महिलालाई १० हजार क्षतिपूर्ति भराउनु पर्नेछ।

अधिकारी स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। वडाका अन्य ४ सदस्य नेकपा (एमाले) बाट निर्वाचित हुन्।

प्रकाशित: ७ मंसिर २०८० २०:४३ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast