सहारा बनेको छोरो बाकसमा फर्किँदा…

हिमाल प्रेस ६ कार्तिक २०८० १३:०३
14
SHARES
सहारा बनेको छोरो बाकसमा फर्किँदा… इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका दीपेश विष्टको शव सोमबार बिहान अन्त्येष्टिका लागि महाकाली नदीमा लग्दै मृतकका परिवार र आफन्त। तस्बिर : रासस

महेन्द्रनगर– मुलुकभर दसैँको रौनक बढिरहेका सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिंगो टोल शोकमा डुबेको हो।
छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भएकी थिइन्। परिवार र आफन्त र टोलबासी भक्कानिए।

‘दीपेश पढाइमा सानैदेखि अब्बल थियो। सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो। आमाका लागि बुढेसकालको साहरा थियो’, छिमेकी सुरेश पालले भने, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने ऊ आज बाकसमा फर्किदाको स्थिति निकै दुःखदायी बनेको छ।’

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव सोमबार बिहान ल्याइएको थियो। दार्चुलाको लेकम गाउँपालिका-५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका-१५ मा पनि छ।

कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दीपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए।

‘दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्’, दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो।’

रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा १२ पास गरेका दीपेशको सपना भाइलाई जसरी भए पनि डाक्टर बनाउने थियो। दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो। शिक्षक पेसामा रहेका बुवा अशोक विष्टको क्यान्सरबाट मृत्यु भएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आएकी थिइन्।

आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुन्। दीपेशका भाइ वसन्तराज बीपी प्रतिष्ठान धरानमा एमबीबीएसमा अध्ययनरत छन्।

विष्टको सोमबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =