देवदहमा विपश्यना ध्यान केन्द्र निर्माण सुरु

हिमाल प्रेस २ कार्तिक २०८० ८:१७
26
SHARES
देवदहमा विपश्यना ध्यान केन्द्र निर्माण सुरु

बुटवल– रूपन्देहीको देवदहमा विपश्यना सेन्टर निर्माण थालिएको छ। देवदह विपश्यना केन्द्र (धम्मगाम) ले सेन्टर निर्माण थालेको हो। लुम्बिनी बौद्ध विश्वविद्यालयले विपश्यना केन्द्र निर्माणका लागि जमिन प्रदान गरेको स्थानमा पूर्वाधार निर्माण सुरु गरिएको हो। यसलाई अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्रसहित रिसर्च सेन्टर बनाउने दीर्घकालीन योजना छ।

विपश्यना केन्द्रका शिक्षक गोपाल पोखरेलले दुई चरणमा गरी विपश्यना केन्द्रको निर्माण गरिने बताए। लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोषसहितको सहकार्यमा प्राप्त भएको ५ बिघा जमिनमा पूर्वाधार निर्माण गर्न थालिएको र एक वर्षभित्र केन्द्र सञ्चालनमा आउने उनले बताए।

धम्मगामभित्र पहिलो चरणमा एक सय साधकले ध्यान गर्न सक्ने हल, ५० पुरुष र ५० महिलाको बासस्थान, भोजन कक्ष, गुरु आवास निर्माण गरिने पोखरेलले बताए।

दोस्रो चरणमा दुई सय जना अट्ने ठूलो ध्यान कक्ष, ५०/५० जना क्षमताका दुई ध्यान कक्ष, विपश्यना अनुसन्धान केन्द्र निर्माण गरिनेछ। पहिलो चरणमा २ करोडभन्दा बढी लागतमा पूर्वाधार निर्माण हुने पोखरेलले बताए।

गौतम बुद्धले देवदह सुत्त देशना गरेको स्थानमा विपश्यना केन्द्र निर्माण गर्न लागिएको हो। यो निर्माणमा साधकहरूको दान सहयोग रहेको छ।

बर्माबाट आएका साधक, भिक्षु तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहितको सहभागितामा परित्राण पाठ गरी भूमिपूजा गरिएको थियो। देवदहमा विपश्यना ध्यान केन्द्र निर्माणले बौद्धमय बनाउन सहयोग गर्ने भट्टराईले बताए।

विश्वविद्यालयका रजिस्ट्रार आचार्यले देवदहमा रहेको जग्गाको गुरुयोजनाअनुरूप ध्यान केन्द्र निर्माणका लागि सहकार्य गरिएको बताए। विश्वविद्यालयले सोही स्थानमा योगिक साइन्स विषय सुरु गर्ने निर्णय गरेको छ। देवदहमा विश्वविद्यालयले डिन कार्यालय निर्माण गरिरहेको छ।

देवदह विपश्यना सेन्टरले दोस्रो पटक ध्यानमा आउने साधकले प्रदान गरेको दान रकमबाट विपश्यना सेन्टर निर्माण हुने जनाएको छ। पहिलो पटक ध्यानका लागि आउने साधकको दान भने पूर्वाधार निर्माणमा प्रयोग नहुने केन्द्र शिक्षक पोखरेलले बताए। विपश्यना केन्द्रहरूमा एक जना केन्द्र शिक्षक रहने गर्दछन्।

यस क्षेत्रमा लुम्बिनीमा मात्रै विपश्यना ध्यान केन्द्र रहेको छ। देवदहलाई बौद्ध विश्वविद्यालयको सहकार्यमा विपश्यना रिसर्च सेन्टरका रूपमा विकास गर्ने योजना रहेको पोखरेलले बताए।

प्रकाशित: २ कार्तिक २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =