इजरायलमा ‘हमास’को रकेट आक्रमण

हिमाल प्रेस २० असोज २०८० १५:३५
4
SHARES
इजरायलमा ‘हमास’को रकेट आक्रमण फाइल तस्बिर : एपी

गाजा सिटि- विद्रोही समूह हमासले इजरायलमा रकेट हमला गरेको छ। आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

गाजा सहरबाट स्थानीय समयअनुसार बिहान करिब साढे ६ बजेदेखि निरन्तर आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको भनाइ छ। सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै नबस्न आग्रह गर्दै इजरायली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनले चेतावनी दिएका छन्।

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए। प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले हमला आफूले गराएको बताएको छ।

उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ। ‘हामीले इजरायली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जवाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ,’ उक्त समूहले भनेको छ, ‘हामीले अल-अक्स फ्लडको घोषणा गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्‍यौँ।’

गाजापट्टीबाट इजराइली क्षेत्रमा रकेट हमला र आतंककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजरायली सेनाले बताएको छ।

मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजराइलमा प्रत्यक्ष प्रहारबाट एक जना ६० वर्षीया महिलासहित ४ जना मारिएको बताएको छ। चिकित्सकहरूका अनुसार अन्य कैयौँ घाइते भएका छन्।

सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ। त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबीच विनाशकारी युद्ध भएका छन्। पछिल्लो हमला इजरायलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो।

प्रकाशित: २० असोज २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =