दसैँको लागि ८० प्रतिशत हवाई टिकट बिक्री, अब महंगोमात्रै बाँकी

हिमाल प्रेस १९ असोज २०८० १४:०३
24
SHARES
दसैँको लागि ८० प्रतिशत हवाई टिकट बिक्री, अब महंगोमात्रै बाँकी

काठमाडौँ– विगतका वर्षहरूमा सामान्यतया दसैँ आउन एक महिनाअघिदेखि नै हवाई टिकटको बुकिङ खुल्ने गरेको थियो। तर अहिले अनलाइनबाट सहजरूपमा टिकट पाइने भएकाले एयरलाइन्स कम्पनीले बुकिङको सूचना ननिकाल्दै अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको छ। एयरलाइन्सहरूका अनुसार दसैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिए। ‘दसैँलाई लक्षित गरेर केही ‘सेक्टर’मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ,’ उनले भने, ‘अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ ।’

आन्तरिक उडानको महत्त्वपूर्ण ‘रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एयरलाइन्सहरूले जनाएका छन्। कर्णका अनुसार बुद्ध एयरको तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ। सुर्खेतका लागि बुकिङ शतप्रतिशत पुग्नै लागेको छ। ‘तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला,’ कर्णले भने।

बुद्ध एयरले अहिले १६ एटीआर जहाजमार्फत दैनिक १५० हाराहारी उडान गरिरहेको छ। बुद्ध एयरका अनुसार दसैँको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैँका लागि अधिकतम भाडादर १७ हजार १८६ रहेको छ। यो गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार १ रुपैयाँ छ।

त्यस्तै सुर्खेतको महंगो १४ हजार १६८, नेपालगञ्जको १३ हजार ३९४ रहेको छ। काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार ३८३ तोकिएको छ उक्त गन्तव्यको सहुलियत भाडादर ९ हजार १ रुपैयाँ हो।
आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए। अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक रुटमा ३०० उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन्। महाप्रबन्धक तिवारीले दसैँमा यो संख्या झन्डै दोब्बर हुने बताए। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताए।

उनले भने, ‘पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ।’ विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म यात्रुको चाप बढी हुन्छ। अग्रिम बुकिङ सोही अनुरुप भइरहेको एयरलाइन्स कम्पनीले जनाएका छन्।

बुद्ध एयरको विभिन्न गन्तव्यमा ८० प्रतिशत हाराहारी बुकिङ भएको छ। यती एयरलाइन्सले आफ्नो करिब ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ। श्री एयरलाइन्सको पनि सोही हाराहारीमा बुकिङ भइसकेको छ। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए।

प्रकाशित: १९ असोज २०८० १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =