जमुनाहा नाका बन्द

हिमाल प्रेस ८ कार्तिक २०८० १८:३१ | Wednesday, October 25, 2023
जमुनाहा नाका बन्द

खजुरा– दुर्गा मूर्ति विसर्जनलाई ध्यानमा राख्दै बुधबार नेपाल-भारत सीमा नाका बन्द गरिएको छ। हिन्दूहरूको महान् चाड दसैँको अवसरमा विजयादशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरू धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राससलाई बताए।

उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा राति ८ बजेसम्मका (मूर्ति विसर्जन कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको जानकारी दिए। पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

नेपालगन्जका सडकमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसँग भइरहेको छ। नेपालगन्जका सडकमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरसहितको धार्मिक र्‍याली भइरहेको निस्किएको छ।

मूर्ति विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहराले बताए।

उद्धार टोली परिचालन

यसैगरी सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा पूर्वतयारीका लागि उद्धार टोली खटिएका छन्। दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए।

उनका अनुसार कतिपय ठाउँमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटना भइरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो।

प्रकाशित: ८ कार्तिक २०८० १८:३१ | Wednesday, October 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast