स्थानीयको अवरोधले रोकिएको चुनढुंगा ढुवानी चार महिनापछि सुरु गर्दै शौर्य सिमेन्ट

हिमाल प्रेस ११ असोज २०८० १९:२१
192
SHARES
स्थानीयको अवरोधले रोकिएको चुनढुंगा ढुवानी चार महिनापछि सुरु गर्दै शौर्य सिमेन्ट

कटारी (उदयपुर)- उदयपुरको कटारी-८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट प्रालिले चुनढुंगा ढुवानी गर्ने तयारी गरेको छ।

कम्पनीले चार महिनापछि चुनढुंगा ढुवानी गर्ने भएको हो। कटारी नगरपालिकाको वडा नम्बर ४, ५, र ७ का सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन्।

लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलबाट टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। ‘वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन गर्ने तयारी भएको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘दुई पक्षका साथै सरोकारवालाको भेलाले माग क्रमशः पूरा गर्दै खानी सञ्चालन गर्न दिने तयारी हुँदै छ।’

सरोकारवालाको छलफलबाट उद्योगले प्रभावित स्थानीयलाई गर्दै आएको विभिन्न सहयोग नगरपालिकाबाट एकद्वार प्रणालीबाट सञ्चालन गर्ने तयारी भएको छ। ‘प्रत्येक समूहका पदाधिकारी र व्यक्तिसँग डिल गरेर सञ्चालन गर्दा प्रभावकारी बनेन,’ उद्योगका खानी विभाग प्रमुख राजन झाले भने, ‘हामी प्रभावितका माग पूरा गर्दै जान्छौँ तर नगरपालिका र वडा सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमा काम गर्छौँ।’

सामुदायिक वनले वन क्षेत्रको सडकबाट उद्योगले ढुवानी गर्दा भएको क्षति डिभिजन वन कार्यालय कटारीको समन्वयमा अध्ययन गरी क्षतिपूर्ति दिनुपर्ने, यसअघि भएको सडक ढलान, खानेपानी, स्वास्थ्यसँग सम्बन्धित शिविर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन्। ‘प्रभावित वडावासीसँगै छलफल गरेर प्राथमिकताका आधारमा काम गर्ने तयारी भएको छ,’ कटारी-८ का वडाध्यक्ष नवीन्द्र तामाङले भने, ‘प्रभावितको माग सम्बोधन गरी उद्योग सञ्चालनमा आउनुपर्छ।’

आर्थिक मन्दीका बीचमा लामो समय खानी बन्द भएपछि उद्योग घाटामा गएको बताउँदै खानी विभाग प्रमुख झाले सरकारको प्राथमिकतामा सञ्चालनमा रहेको उद्योग नचल्दा राज्यले समेत घाटा व्यहोर्नुपरेको बताए।

नियमित सञ्चालन हुने वातावरण नगरपालिकाबाट तयार गरिदिए आफूहरूले प्रभावित क्षेत्रको माग नगरपालिकाकै समन्वयमा पूरा गर्ने उनले बताए। उद्योग सञ्चालका लागि स्थानीयवासी स्थानीयस्तरमै छलफल गर्न तयार भएका छन्। स्थानीय वडा र टोल साथै वन समूह नगरपालिकाको समन्वयमा छलफलमा बसी खानी सञ्चालन गर्न दिन तयार भएका हुन्। रासस

प्रकाशित: ११ असोज २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =