दुई साताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

हिमाल प्रेस ११ असोज २०८० १७:२४
6
SHARES
दुई साताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

मकवानपुर- करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टीका केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले बिहीबारदेखि पुन: उत्पादन सुरु गरेको हो।

बिग्रिएका उपकरण मर्मतसम्भार र थप उपकरण जडान गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले बताए।

उक्त उद्योगमा विद्युत् आपूर्तिका लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटकपटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले नियमित विद्युत् आपूर्तिका लागि प्राधिकरणलाई पत्राचार गरिएको पनि महाप्रबन्धक कर्णले बताए।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको बताइएको छ। साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक १० हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले बताएको छ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको हो। १ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक ४ हजारदेखि ५ हजार बोरासम्म मात्र सिमेन्ट बिक्री भइरहेको बताएको छ।

पर्याप्त सिमेन्ट बिक्री हुन नसक्दा निकै आर्थिक भार बेहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए। रासस

प्रकाशित: ११ असोज २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =