सिनेमाको पर्दामा वा व्यावसायिक विज्ञापनहरूमा देखिने झापा, फिक्कल र इलामको ठूलठूला चिया बगानको दृश्य हेरेर रमाउन, आँखामा रुमानी सपना सम्हालेर त्यो सुन्दरतामा लोभिन मान्छेहरूलाई त्यहीँ पुग्नु पर्दैन। चिया बगानसँग नजिकिन त्यति टाढा नगए पनि हुन्छ। काठमाडौँदेखि साँखु, जहरसिंहपौवा र भोटेचौर हुँदै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको २ नं. वडास्थित ज्योतिषगाउँमा (पुरानो नाउँ जैसीगाउँ) रहेको एभरेस्ट टी–स्टेटले त्यो रहर पूरा गरिदिन सक्छ।
राजधानीबाट सवारीसाधनमा धेरैमा दुई घण्टासम्ममा पुग्न सकिने यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण र रमणीय छ। काठमाडौँबाट ४० मिलोमिटरको दूरीमा छ यो चियाबगान।
हिँडेर वा पदयात्रामा रमाएर जान चाहनेका लागि सुन्दरीजलको बाटो उत्तम विकल्प हो। मूलखर्कको पारिलो भिरालोबाट दक्षिण फर्केर हेर्दा काठमाडाैँको दृश्य पनि देखिन्छ। पाखैभरि प्रशस्त रिसोर्ट अतिथि सेवाका लागि तयार छन्। बारीका कान्लामा गाँजाका बोट प्रशस्त देखिन्छन्। गोठहरूमा लगाइको चुलोचम्कामा घरमा बन्ने मार्चाको झोल तीनपाने बन्दै गरेका दृश्य सामान्य लाग्छन्।
सुन्दरीजलको उकालो सकिने ठाउँमा जलविद्युत्को ड्यामभन्दा केही तल उत्तरपश्चिमबाट बागमती र उत्तरपूर्वबाट नागमती आएर सुन्दरीमाईको फेदीमा मिल्दछन् र बागमतीमा भएर बग्दछ। जति ठूलो बागमतीको जलाधार क्षेत्र छ झण्डै त्यति नै जसो नागमतीको जलाधार क्षेत्र पनि छ। नागमती संरक्षित वन क्षेत्रको घना जंगलभित्र लुकेर बग्छिन् जति नै लुकेर बगे पनि पहरामा ठोक्किएर, कन्दरामा बज्रिएर हिँड्दा कतै कलकल त कतै छङछङको नाद कानमा ठोक्किन आइपुग्छ।
सुन्दरीमाईको दर्शन गरेर सानो फलामे पुल तरेर उकालो लागेपछि दुइटा बाटोको विकल्प छ। एउटा मोटरेबल कच्ची बाटो भएर नागमतीको किनारैकिनार हुँदै जाने र अर्को ठाडो उकालो गाउँको बस्ती मूलखर्क हुँदै जाने। निकै माथि पुगेपछि ओरालो लागेर नागमतीको किनार हुँदै हिलेभन्ज्याङ पुगिन्छ। हिलेभन्ज्याङबाट तीन किलोमिटर उकालो लागे धाप ड्याम पुगिन्छ भने उत्तरतर्फ ओरालो लागे तल तामाङगाउँ, गुरुङगाउँ, हैबुङ र ज्योतिष गाउँ पुगिन्छ।
यहाँ तामाङभन्दा पछि आएका हुन् गुरुङ। बाटैमा जेष्ठ नागरिक गुरुङ दाइ भेटिए। हामीलाई बाटो देखाउँदै उनले गुरुङ समुदाय गोरखाबाट आएको बताए। हाम्रो उद्देश्य ‘एभरेस्ट टी गार्डेन’ भ्रमण गर्ने थियो। त्यसैले हामी तामाङ र गुरुङ गाउँतर्फ नलागी पूर्वको ज्योतिष गाउँतर्फ लाग्यौँ। खासमा हिलेबाट ओरालो झर्दा कच्ची मोटर बाटो केही बेर हिँडेर गाउँको गोरेटो बाटो समाएर ओरालो झर्यौँ।
गाउँको बाटो झाडीले छोपिएको थियो। घर थिए तर त्यहाँ मानिस थिएनन्। प्रायः घरमा ताल्चा लागेका थिए। यहाँको कष्टकर जीवन, न्यून आम्दानीको स्रोतका युवा विदेश पलायनका कारण यी घर सुनसान भएका होलान् भन्ने लाग्यो। तर वास्तविकता भने फरक रहेछ। गुरुङ दाइले दुःखेसो पोख्दै भने, ‘बँदेल, बाँदर र अरू जंगली जनावरले बाली नाश गर्छन्। त्यसलाई नियन्त्रण गर्ने केही उपाय नभएपछि बाध्य भएर गाउँले घरबास छोडेर अन्यत्र गए। यसबारे स्थानीय सरकारले पनि कुनै चासो दिएको छैन।’
चिया बगानको छेवैमा पहाडको खोँच भएर बगेको छ सानो सेती खोला। जो यहाँका मानिसको जीविकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ। हैबुङमा रहेको रेन्बो ट्राउट फार्मले राम्रो व्यवसाय गरेको छ। हामीसँग हिँडेका धेरै सहयात्रीले ट्राउट माछा किने। अनि झोलामा हाले। ट्राउट माछालाई सफा बगेको पानी चाहिने रहेछ।
तहतह गरेर बनाइएको माछाको पोखरीमा सबैभन्दा माथिको पोखरीमा ठूलो आकारको र क्रमशः ससाना आकारका माछा तलका पोखरीमा हुने रहेछन्। ठूलो माछालाई अक्सिजन धेरै चाहिने भएको हुँदा यस्तो गरिएको रहेछ। ट्राउट माछाको स्वाद नेपालीको जिब्रोमा बसेको छ। र त काठमाडौँको सेरोफेरोमा यसका फार्म खुलेका छन्। तर यी माछा सामान्य मानिसको पहुँचभन्दा टाढाका हुन्। फ्रेस माछा किलोको १२ सय देखि १५ सय पर्ने गर्छ।
‘मिनी इलाम’
यो विशाल चिया बगान पूरै डाँडा ढाकेर बसेको छ। यसको सौन्दर्य नाप्न पारी तामाङ गाउँ, गुरुङ गाउँ वा धाप ड्यामबाट हेर्नुपर्छ। उत्तरका हिमाली शृंखलामा रहेका गणेश हिमाल, जुगल, लाङटाङ, दोर्जेलाक्पा, आमायाङ्ग्री हिमालको मनमोहक दृश्य देखिन्छ। उत्तरतर्फ फर्किएर बसेको यो टी–स्टेटबाट हिमाली फ्लेवरको अर्थोडक्स अग्र्यानिक चिया उत्पादनको लक्ष्य राखेर लगानी गरिएको अनुमान लगाउन कठिन छैन। सीटीसी चियाका लागि समथर मैदान भए पनि हुन्छ। १४ सय मिटरदेखि १८ सय मिटरको उचाइसम्म उत्पादित चिया उत्तम मानिन्छ।
स्थानीय किसानको जमिन लिजमा लिएर यो चिया बगानको स्थापना गरिएको रहेछ। जसले स्थानीयलाई पनि खुसी दिलाएको छ। यस किसिमको उद्योग स्थापनाले अरू नयाँ उद्योग पनि खुल्ने सम्भावना बढेको स्थानीयलाई लागेको छ। त्यसो हुँदा स्थानीयले रोजगारी पाउने मात्र नभएर ठाउँको पनि चर्चा हुँदा उनीहरू हर्षित भएका रहेछन्।
चिया बगानको स्थापना सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक सोम गौचनले अग्र्यानिक ग्रिन चिया उत्पादन गर्ने उद्देश्यले गरेका थिए। यो ठाउँलाई धेरैले ‘मिनी इलाम’ भनेर चिन्छन्। चिया बगानको स्थापनापछि कृषिका विद्यार्थीको आकर्षण यसतर्फ बढ्न थाल्यो। यहाँ अध्ययनका लागि जाने विद्यार्थीको संख्या ठूलै हुने रहेछ। त्यस्तै पर्यटन, व्यवसाय र प्राकृतिक सुन्दरताको दर्शन गर्न जानेहरू पनि प्रशस्तै हुन्छन्।
यस्तो नाम र प्रसिद्धि कमाएको चिया बगान केही वर्षअघि अनायासै बन्द हुन गयो। यसको हेरविार गर्ने कोही भएनन्। बगानभित्रका जंगली रूख बढेर यसलाई छोप्यो। चियाका बोट पनि बढेर बेढंगी देखिन थालेका छन्। टिपिन पर्ने चियाका मुना हरिया भएर बसेका छन्। बगानभित्रका बाटा घाँसले छोपिएका छन्। चिया बगानले आफ्नो सौन्दर्य गुमाएको छ। बेवारिसे भएर अलपत्र अवस्थामा छ। निर्जनजस्तो एक्लिएर बसेको छ यो चियाबगान। कर्मचारी बस्ने घर, कार्यालयका लागि बनाइएका कार्यकक्ष जंगली बोटबुट्यानको चपेटामा परेका छन्। रेखदेख नभएर अलपत्र परेका छन्।
भन्नेले त भने यो प्राइवेट लिमिटेड कम्पनीको मालिकले बैंकको ऋण चुक्ता गर्न नसकेर यो अवस्था आएको हो भन्छन्। हुन पनि सक्छ। कोभिड–१९ पछि धेरैको आर्थिक अवस्था यस्तै देखिन्छ। आर्थिक अवस्था नै यसको कारण हो भने छिटै समाधान निस्कियोस् र यो चिया बगान सबै गाउँले र राष्ट्रको समेत अमूल्य निधिको संरक्षण गरियोस् भन्ने लाग्यो।
झार पन्छाउँदै हामी चिया बगानमा पस्यौँ। चियाका बोटलाई समाउँदै हिँड्दा असंख्य जुकाको हमलामा परियो। जति टिपेर फाले पनि कतै न कतै टाँस्सिएकै हुने। एक जना साथीले भने, ‘आज जुकाका लागि निकै रक्तदान गरियो’। घरमा आएर जुत्ता खोल्दा पनि मोजाभित्र टाँस्सिएर रगत चुस्दै थिए जुका।
चिया बगानभित्र पसेर त्यहाँको बुटासँग मित लगाइयो। पहेँलोे भएको कलिला तीनपाते सुइरा टिपेर त्यसको आनन्द लिइयो। चियालाई प्रशोधन नगरी त्यसबाट प्रत्यक्ष त कुनै सुगन्ध या स्वाद पाइँदैन। तर पनि यसको आकर्षणले मोहनी लगाउँदो रहेछ। यही रमाइ रहुँ जस्तो। यसैसँग मितेरी लगाएर गीत गाइरहुँ जस्तो। चिया बगानसँग मितेरी गाँसेर बिदा लिएर बस चढेर भोटेचौर हुँदै फिर्ता आइयो।