यस्ता छन् यस वर्षका चर्चित तीज गीत

सुस्मिता बजगाईं ३१ भदौ २०८० २०:३२
12
SHARES
यस्ता छन् यस वर्षका चर्चित तीज गीत

काठमाडौँ- यस वर्ष असारदेखि नै तीजका गीत सार्वजनिक भए। कतिपयले असारमै तीजको गीत भनेर आलोचना पनि गरे। तीजको अवसरमा गीतसंगीत बढी नै सार्वजनिक हुन्छ।

तीज गीत सार्वजनिक गर्नेमा लोकदोहोरी कलाकार बढी देखिएका छन्। तीमध्ये कतिपय गीतले लाखौँ भ्युज कमाएको छ त कतिपय गीत टिकटकमा भाइरल छन् तर युट्युबमा भ्युज कम देखिन्छ।

पछिल्लो समय भ्युजकै आधारमा नयाँ गीतको मूल्यांकन गर्ने परिपाटी बसेको छ। प्रस्तुत छ भ्युजकै आधारमा चर्चित भएका यस वर्षका चर्चित गीत-

यस वर्षको करोड क्लबमा पर्न सफल गीत बनेको छ ‘कमाउनेनी हो रमाउनेनी हो’। गीतमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन्। नेत्र अर्यालको शब्द र गायक खेमको संगीत रहेको गीतमा विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन्। गीतले डेढ करोडभन्दा बढी भ्युज बटुलेको छ।

दोस्रो हिट गीत बन्न सफल भएको छ ‘अरेली काँडैले’। गीतले पनि करोडभन्दा बढी भ्युज बटुलेको छ। गीतमा शान्तिश्री परियारको स्वर छ। नेत्र अर्यालको शब्द खेम सेन्चुरीको संगीत रहेको गीत शाश्वत रसाइलीले संगीत संयोजन गरेका छन्।

‘तीज चाड नारीको’ गीतले हालसम्म ६० लाख भ्युज बटुलेको छ। दुर्गा पौडेलको शब्द, खुमन अधिकारीको संगीत र विनोद बाजुरेलीले संगीत संयोजन गरेको गीतमा खुमन अधिकारी, शान्तिश्री परियार, शिला आले, राधिका हमाल, पूर्णकला बीसीसहित चर्चित २१ जना कलाकारले स्वर दिएका छन्।

भ्युजका आधारमा चौथो नम्बरमा विष्णु माझीको गीत छ। माझीले पुतलीको भट्टी भाग–१९ मा ‘बलमा’ बोलको गीत सार्वजनिक गरिन्। गीतको भ्युज ४५ लाखभन्दा बढी छ। सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा आशिष अविरलले संगीत संयोजन गरेका छन्।

एलिना चौहानको स्वर रहेको ‘कल्ले देख्यो र’ बोलको गीत यस वर्षको अर्को हिट गीत हो। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ। गीतको हालसम्मको भ्युज ४५ लाखभन्दा बढी छ।

‘यो तीजको लहर हो’ बोलको तीज गीतले पनि ४० लाखभन्दा बढी भ्युज पाएको छ। गीतमा मेलिना राई र अनु चौधरीको स्वर छ। डिपी खनालको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको गीतमा दिवेश राईले संगीत संयोजन गरेका छन्।

बालकुमार श्रेष्ठको शब्द र संगीत रहेको ‘जड्याको तीज’ बोलको गीत पनि चर्चित छ। गीतले ४० लाख भ्युज बटुलेको छ। विष्णु तामाङले संगीत संयोजन गरेको गीतमा बालकुमारसहित सुमन परियार, सागर बिसी, माया गुरुङ, चिज गुरुङ, अस्मिता डीसी, निशा रनपाल, बालिका तामाङलगायत १७ जना चर्चित कलाकारले स्वर दिएका छन्।

यस्तै अर्को चर्चित ‘पुतली भुरु भुरु’ बोलको गीतमा पशुपति शर्मा र सुनिता मगरको स्वर छ। टीका ओलीको शब्द र संगीत रहेको गीतमा बिनोद बाजुरेलीले संगीत संयोजन गरेका छन्। गीतको हालसम्मको भ्युज झन्डै ३० लाख छ।

अर्घाखाँचीका २३ जना गायिकाले गाएका ‘सिक्री घाँटीमा’ बोलको तीज गीत पनि चर्चित बनेको छ। गीतले २५ लाखभन्दा बढी भ्युज पाएको छ। बिशाल रायमाझीको शब्द र संगीत रहेको गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन्। गीतमा विशालसहित, मञ्जु गुरुङ, सम्झना लामिछाने, जमुना सनम, सपना घर्ती मगर, दीया नेपाल, सलीना नेपाली, रेनुका भट्राई, सम्झना रनपाल, विश्वास नेपाललगायत २३ कलाकारको स्वर छ।

‘उजेली जुनेली’ बोलको गीेतको २५ लाख भ्युज छ। गीतमा भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको स्वर छ। गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चरीको संगीत र सुदिप सागरको संगीत संयोजन छ।

शुकदेव अधिकारी र समीक्षा अधिकारी स्वरमा ‘जाऊँ न माया सरर गाडीमा’ बोलको तीज गीतले २३ लाख भ्युज बटुलेको छ। गीतमा विमल अधिकारीको शब्द, तिलक ओलीको संगीत र कमल सौराजको संगीत संयोजन छ।

शान्ति श्री परियारको स्वरमा रहेको ‘छैन मलाई सुख’ बोलको गीतको पनि २२ लाख भ्युज छ। प्रेम सापकोटा ‘सोनु’ को शब्द र संगीत रहेको गीतमा बिनोद बाजुरेलीले संगीत संयोजन गरेमा छन्।

अस्मिता डल्लाकोटीको स्वरमा ‘आमै प्यारो’ बोलको गीत पनि चर्चित छ। अर्जुन सुवेदीको शब्द र संगीत रहेको गीतमा यम थापा मगरले संगीत संयोजन गरेका छन्। गीतमा हालसम्म साढे २१ लाख भ्युज छ।

यी भए २० लाखभन्दा बढी भ्युज हुने गीत। यसबाहेक पनि थुप्रै गीत चर्चित बनेको छ। ‘सासु कलाकार’, ‘मै राम्रो छैन क्यारे’, ‘पियारी’, ‘लाउँदिन फिरिया’, ‘लहरै आयो तीजको बरिलै’, ‘तीजको सम्झना’, ‘मन्दिरमा गजुर’, ‘बुहारी’लगायत  दुर्गा नाच्छे बिच्च बिच्चमासम्मका थुप गीत चर्चित बनेको छ।

गत वर्ष गायक भागिरथ चलाउनेको ‘झमझम झम्कना’ गीत सबैभन्दा बढी भ्युज थियो। गीतले दुई करोडभन्दा बढी भ्युज बटुलेको थियो। यस वर्ष उनका तीन तीज गीत सार्वजनिक भए। ‘मेरा लागि मर्ने केटा मनै परेन’, ‘मायाले त होला’ र ‘हेर्दिन ऐना ढाटेको हैन’। गीत टिकटकमा निकै चर्चित छ। तर गत वर्षको तुलनामा युट्युबमा भ्युज निकै कम छ। ‘मेरो लागि मर्ने केटा मनै परेन’ बोलको गीतमा १४ लाख भ्युज छ। ‘मायाले त होला’ मा ९ लाख र अर्कोमा ३ साढे तीन लाख छ।

प्रकाशित: ३१ भदौ २०८० २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =