चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

हिमाल प्रेस ३१ भदौ २०८० १६:१६
चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

काठमाडौँ- उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिक टन चिनीमा छुट दिई आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो।

यसअघि वाणिज्य मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी आयातका लागि भन्सार महसुल छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो। तर मन्त्रालयले २० हजार मेट्रिक टन चिनीका लागिमात्रै ५० प्रतिशत भन्सार महसुल छुट दिने गरी आयातको सहमति प्रदान गरेको थियो।

चाडपर्वका समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी ‘कार्टेलिङ’ प्रणालीलाई निरुत्साहित गर्न छुटको निर्देशन दिइएको समिति सभापति अब्दुल खानले जानकारी दिए। बैठकले उपभोग्य वस्तुमा हुने मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानुनी भण्डारण, अस्वभाविक मूल्यवृद्धिजस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुको बजार अनुगमन गर्ने कार्यका लागि पर्याप्त जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी अनुगमनलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले विभिन्न स्थानमा सुपथ मूल्य पसल खोली उपभोक्तालाई सुपथ, सस्तो र गुणस्तरीय उपभोग्य सामान उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले दैनिक प्रयोग हुने खाद्यवस्तु नुन, चिनी, चामल, दाल, तरकारी, तेल, दूध, पानी र औषधिलगायतका उपभोग्य वस्तुमा दसँै तिहार तथा छठ पर्वलाई लक्षित गरी हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, कृत्रिम अभावलगायत विषयमा समितिले स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ। अनुगमनका लागि सभापतिको नेतृत्वमा चार समिति सदस्य र दुई कर्मचारी रहेको अनुगमन टोली गठन गर्ने बैठकको निर्णय छ।

प्रकाशित: ३१ भदौ २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =