यस्तो छ देशभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको स्वरूप

हिमाल प्रेस ३० भदौ २०८० १३:३६
1.3k
SHARES
यस्तो छ देशभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको स्वरूप फाइल तस्बिर

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरू आन्दोलित भएका छन्।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा आफूहरूका माग र सुझाव नसमेटिएपछि उनीहरू आन्दोलित भएका हुन्। यस क्रममा शुक्रबार राहत शिक्षकहरूले देशव्यापी रूपमा विधेयकको प्रति जलाए।

नेपाल शिक्षक महासंघले यसअघि नै असोज ३ गतेदेखि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ। महासंघले भनेको छ, ‘२०८० असोज ३ गतेबाट हुने सडक आन्दोलन सहभागी हुन देशभरिका सबै विद्यालय बन्द गरी संघीय राजधानी काठमाडौँ आइपुग्न सबै शिक्षक/कर्मचारी साथीमा अनुरोध गरिन्छ।’

महासंघको अगुवाइमा हुने आन्दोलनमा सामुदायिक विद्यालयमा कार्यरत सबै प्रकारका शिक्षक र कर्मचारी सहभागी हुनेछन्। महासंघको छातामुनि रहेका एक दर्जनभन्दा बढी संघसंस्था सहभागी हुनेछन्।

विद्यालय शिक्षा विधेयकलाई लिएर यसअघि शिक्षकहरूले चरणबद्ध आन्दोलन गरेका थिए। त्यस क्रममा धर्ना, ज्ञापनपत्र, सांसदहरूसँग अन्तरसंवाद, विभिन्न दलका नेताहरूलाई ध्यानाकर्षणजस्ता गतिविधि आयोजना भइसकेका छन्। त्यसरी ध्यानाकर्षण गराउँदा पनि विधेयकमा आफ्ना माग सम्बोधन नभएपछि महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन गर्नुपर्नाका औचित्य र आफ्ना मागमुद्दा सार्वजनिक गरेको छ।

महासंघले आन्दोलनका लागि सबै शिक्षकहरूलाई काठमाडौँमा आउन अपिल जारी गरे पनि आन्दोलनको कार्यतालिका भने सार्वजनिक गरेको छैन। आन्दोलनका कार्यतालिका सार्वजनिक नहुँदा देशभरबाट राजधानी आउने शिक्षकहरूमा एक प्रकारको अन्योल देखिएको छ।

महासंघ नेतृत्वले राजधानी घेराउ गर्ने कार्यक्रम भएकाले अन्योलमा नपर्न आग्रह गरेको छ।
आन्दोलनमा सहभागी आउँदा आइपर्ने आर्थिक तथा भौतिक व्यवस्थापनका सबै काम जिल्लागत रूपमा प्रबन्ध गर्न गराउन पनि सम्बन्धित जिल्लाका महासंघ, आबद्धरसम्बद्ध संस्था तथा आन्दोलन परिचालन समितिहरूलाई महासंघले अनुरोध गरेको छ।

आन्दोलनको स्वरूप के कस्तो हुन्छ भन्ने जिज्ञासामा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले भनिन्, ‘यसपटकको आन्दोलनको स्वरूप राजधानी घेराउ केन्द्रित हुनेछ।’

उनका अनुसार पहिलो दिन अर्थात् असोज ३ गते देशभरका शिक्षक माइतीघर मण्डलामा भेला भएर धर्ना दिनेछन्। पहिलो दिनको कार्यक्रम सम्पन्न भएपछि महासंघको नेतृत्वबीच छलफल गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिइने उनले बताइन्।

तुलाधरले भनिन्, ‘यो हाम्रो निर्णायक आन्दोलन हो। हाम्रा मागमुद्दा सम्बोधन नहुन्जेल काठमाडौँ नै घेराउ गर्ने नै हो। त्यसैले सबै शिक्षक कर्मचारीहरूलाई अन्योलमा नपरी आन्दोलनमा सहभागी हुन आग्रह गर्दछु।’

शिक्षकका १४ संघसंगठनको अपिल : शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार गरौँ

विद्यालय शिक्षा विधेयक : १८ वटा प्रावधानमा विमति जनाउँदै देशभरका शिक्षक आन्दोलित

राहत शिक्षकहरूले जलाए शिक्षा विधेयक [तस्बिरहरू]

प्रकाशित: ३० भदौ २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast