शिक्षकका १४ संघसंगठनको अपिल : शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार गरौँ

हिमाल प्रेस ३० भदौ २०८० १४:३९
244
SHARES
शिक्षकका १४ संघसंगठनको अपिल : शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार गरौँ फाइल तस्बिर

काठमाडौँ- नेपाल शिक्षक महासंघमा आबद्ध/सम्बद्ध संघसंगठनले शिक्षा मन्त्रालय र मातहतका निकायबाट हुने सबै कार्यक्रम बहिष्कार गर्न सबै शिक्षक कर्मचारीहरूलाई अपिल गरेका छन्। महासंघमा आबद्ध सम्बद्ध १४ वटा संघसंगठनका अध्यक्षहरूले शनिबार संयुक्त विज्ञप्ति जारी यस्तो अपिल गरेका हुन्।

महासंघ विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा आन्दोलनमा उत्रिएको छ। सोही आन्दोलनमा सहभागी हुनका लागि ती संघसंगठनले मन्त्रालयबाट हुने कार्यक्रम बहिष्कार गरेका हुन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आजैबाट शिक्षा दिवस लगायत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वा मन्त्रालयको आयोजनामा हुने सबै कार्यक्रम बहिष्कार गर्न सबै शिक्षक कर्मचारी साथीहरूमा अनुरोध गरिन्छ।’ उनीहरूले असोज ३ गतेदेखि काठमाडौँमा आयोजना हुने आन्दोलनमा सहभागी हुन पनि सबै शिक्षक कर्मचारीहरूलाई आग्रह गरेका छन्।

‘२०८० असोज ३ गतेबाट देशभरिका सबै विद्यालय बन्द गरी काठमाडौँमा हुने सडक आन्दोलनमा सहभागी भई यसलाई सफल तुल्याउन हामी सबै शिक्षक–कर्मचारी साथीहरूमा आह्वान गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले शिक्षक कर्मचारीका न्यायिक मागमुद्दा ऐनमार्फत सम्बोधन गराउन सहयोग, समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिन विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, शिक्षा सरोकार समूह, पत्रकार मित्रलगायत आम जनसमुदायमा पनि अपिल गरेका छन्।

उनीहरूले अहिलेसम्म शिक्षकहरूले पाएको सबै उपलब्धि आन्दोलनबाट प्राप्त भएकाले अब पनि आन्दोलनको विकल्प नरहेको जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘आज फेरि विद्यालयमा कार्यरत हामी शिक्षाकर्मीहरु निर्णायक आन्दोलन मार्फत नेपाली शिक्षक(कर्मचारीको तागत र गौरवपूर्ण इतिहासलाई दोहोऱ्याउनु पर्ने अवस्था आइपुगेका छौँ।’

विगतमा २०७५ र २०७८ सालमा नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच महत्त्वपूर्ण सहमति भए पनि सरकारले आफ्नो धोकेबाज चरित्र प्रमाणित गरेको उनीहरूको निष्कर्ष छ।

‘विधेयक २०८० ले एकातिर स्थायी, अस्थायी र करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षकलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दालाई सम्बोधन गर्न सकेको छैन भने अर्कोतिर संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि पनि अंकुश लगाउन खोजेको छ’, ती संघसंगठनको विज्ञप्तिमा उल्लेख छ। यसले आमनेपाली शिक्षक कर्मचारीका पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर संकट ल्याउने निश्चित रहेको उनीहरूले जनाएका छन्।

यसरी संयुक्त अपिल जारी गर्नेमा नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लछिराम शर्मा ढकाल छन्।

यसैगरी अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्की, संघीय शिक्षक फोरमका अध्यक्ष रवीन्द्रकुमार गिरी, लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष अतुलकुमार लाल, मआशिसं मञ्चका अध्यक्ष रमाकान्त चौधरी, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष, कुमोदकुमार सिंह, मधेशी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णुकुमार चौधरी, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष यादवराज पाण्डे, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विजयरत्न बज्राचार्य र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष र गंगाराम तिवारीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

तीन कर्मचारी संगठनको छुट्टै आह्वान

विद्यालय कर्मचारीसँग सम्बद्ध तीन वटा संगठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन विद्यालयका सबै कर्मचारीलाई आह्वान गरेका छन्।

नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडा, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष शशीकुमार केसी र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्।

संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘विद्यालय कर्मचारीहरूको मागहरू सम्बोधन गर्नका लागि नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा विद्यालय बन्द गरी सक्रिय रूपमा सहभागी हुनका लागि सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई आह्वान गरिन्छ।’

यस्तो छ देशभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको स्वरूप


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =