संसद् पुनर्स्थापनापछि सभामुख र दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गरेकै कारण संविधान जारी भएको हो। उहाँको यस भूमिकालाई सबै नेताहरूले आत्मसात् गर्न आवश्यक छ। अप्ठेरो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्त्व र एकतालाई ध्यानमा राखेर सहज रूपले नै समस्यालाई सम्बोधन गनुभएको थियो।
सुवासजी राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्त्व दिएर काम गर्नुहुन्थ्यो। सबैलाई सम्मान गर्ने उहाँको बानी थियो। पत्रकारसँग उहाँको अन्तरक्रिया साँच्चै लोभलाग्दो हुन्थ्यो। उहाँको पालामा संसद् भवन पत्रकारको आफ्नै घरजस्तै थियो।
संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिका स्मरणयोग्य छ। नेम्वाङले राजनीतिक अवस्थालाई कुशलतापूर्वक सम्हाल्नुभयो र संविधान जारी भयो। सुशील कोइराला र नेम्बाङका कारण संविधान जारी भएको हो। अन्य नेताले पछि सार्न प्रयास गरेको विषय कतै छिपेको छैन। नेम्वाङजीले त्यस प्रकारको भूमिका निर्वाह नगरेको र सुशील कोइरालाले आँट नगरेको भए अहिले देखिएका नेताबाट सहज संविधान गाह्रो थियो।
सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई प्रक्रिया अवरुद्ध हुने परिस्थिति पनि आउन सक्थ्यो। त्यो सम्भावनालाई उहाँले आफ्नै क्षमताबाट पार लगाइदिनुभयो।
उहाँको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा नियाल्दै गर्दा उहाँप्रति सम्मान गर्न उहाँकै पार्टीको नेतृत्वले कतै कन्जुस्याइँ गरेको देखिन्थ्यो। उहाँमाथि पार्टीभित्रबाट अधिक न्याय नभएको देखिन्छ। एमालेले राष्ट्रपति पनि हार्ने भएपछि उहाँलाई उठाउने काम गरेको देखिन्छ। समय दिएर उहाँलाई त्यसमा वातावरण बनाउन लगाएको भए केही फरक हुन सक्थ्यो। तर त्यो चेत खासै आएको देखिएन। सायद उहाँको पार्थिव शरिर नियालिरहँदा यस्ता विषय नेतृत्वको मानसपटलमा पनि छचल्किएको हुनुपर्छ।
मैले उहाँसँग संसद्मा आठ वर्षभन्दा बढी समय सँगै काम गरेँ। साढे १२ वर्ष म महासचिव रहँदा उहाँसँग लामो सहकार्य भयो। उहाँको त्यो मृदुभाषी स्वर, कामप्रतिको लगाव, कसैलाई नहकार्ने बानी साँच्चै लोभलाग्दो थियो। हामीले केहीलेकाहीँ केही विषय ठूलो स्वर गरिहाले पनि महासचिवज्यू हाम्रो कान टाठै छ भन्ने र खिस्स हाँसिदिने। अनि सबैको स्वर मलीन हुने गरेका कैयन् घटना छन्।
म साढे दुई वर्ष कार्यवाहक रहेँ। म महासचिव २०६७ चैत ४ मा हुँदा उहाँले सिफारिस गर्नुभएको थियो। अनि संयोग कस्तो भने मेरो दोस्रो कार्यकाल पनि उहाँले सिफारिस गर्नुभयो। यस विषयमा हामी हाँसोठट्टा पनि गर्थ्यौँ। उहाँले जिस्किँदै भन्नुभएको थियो, ‘तपाईँ राजदूत हुनुपर्छ। कूटनीतिमा अनुभवी हुनुहुन्छ। अनि म राष्ट्रपति भएर शपथ खुवाउने हो तपाईँलाई।’
उहाँको यो कुरा पनि अधुरै रह्यो। उहाँले हाँसीमजाक गर्नु भएको हो अहिले भएका केही राजदूतको उदाहरण दिएर। यो पनि त अधुरै हो नि। राजाले पुनस्र्थापित गरिदएपछि म कायममुकायमा भएँ। त्यसपछि मैले उहाँसँगै काम गरेँ। मलाई उहाँले निकै विश्वास गर्ने हुनाले मैले त्यो विश्वासमा कहिल्यै कुठाराघात हुन दिइनँ।
संविधान निर्माणको काम र व्यवस्थापनमा समेत निकै निकट रहेर काम गरेँ। ६०१ जनाको संसद् सञ्चालन आफैँमा चुनौतीपूर्ण थियो। स्रोतसाधनको जोगाडदेखि आवश्यक समन्वय समेत। साह्रै बोझ थियो। उहाँले विश्वासको साथ जिम्मेवारी ममाथि सुम्पिनुभएको थियो।
उहाँ दलहरू मिलाउने र लेख्ने कार्यको समन्वयमा हुनुहुन्थ्यो। मैले सभा चलाउने र समिति चलाउनका लागि सबै काम गरिरहेको थिएँ। किनभने महासचिवको जिम्मामा हुने काम पनि अधिक थियो। उहाँ भन्नुहुन्थ्यो- तपाईँ भएर मलाई ढुक्क छ सबै मिलाउनुहोस्, म दल मिलाउन र लेख्न लाग्छु। मैले पनि विश्वासको आधारमा काम गरेँ।
संविधान जारी गर्ने र लेख्ने क्रममा उतारचढाव नआएको होइन। पहिलो संविधानसभा तुलनात्मक रूपमा उथलपुथल र तनावपूर्ण रह्यो। त्यो सञ्चालनका क्रममा कठोर परिस्थिति आइलागेको थियो। त्यस्तो अवस्थामा पनि उहाँले संविधानको बाँकी काम अर्को सभाबाट गराउने भन्दै त्यसमा लिएको निर्णय साँच्चै सराहनीय थियो।
सुझबुझ र शालीन व्यक्तित्व भएकै कारण पनि उहाँको नाममा धेरैले सहमति गरेका हुन्। त्यही कारणले नै संविधान निर्माणको काम सम्पन्न भएको हो। सबैलाई समेट्न सक्ने सोच विचार र शैली नहुँदो हो त संविधान बनाउन मुस्किल थियो।
सञ्चालक अनुभवी योग्य र क्षमतावान् भएको हुनाले सफल हुन सकेको हो। यो देश उहाँका लागि ऋणी र आभारी हुनुपर्छ। राज्यले उहाँको योगदानलाई पुरस्कृत गर्न कन्जुस्याइँ गरेको छ। मिसन सफल भएपछि उहाँलाई हामीले पक्कै भुलेका हाैँ।
केही विवादित विषय पनि आए। उहाँमाथि आरोप पनि लागेको छ। तर त्यो सबैलाई पचाउँदै मुलुकका लागि राम्रो काम गर्दा केही आक्षेप आउनु स्वाभाविक हो भनेर हाँसेरै टार्ने उहाँको बानीलाई अरुले पनि अनुशरण गर्न आवश्यक छ। उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाको अनुशरण अन्य नेताले पनि गर्न सक्नुपर्छ। अब हामीसँग उहाँले सिकाएका र दिएका ज्ञान छन्। मुलुकले एक अब्बल नेता र मैले होनाहार साथी गुमाएका छौँ। अलबिदा सुवासजी!!
[संसद्का पूर्वमहासचिव भट्टराईसँग कुराकानीमा आधारित]