बिजुली गाडी : मूल्य सुन्दा हच्किन्छन् ग्राहक

रमा केसी २५ भदौ २०८० १७:४९
170
SHARES
बिजुली गाडी : मूल्य सुन्दा हच्किन्छन् ग्राहक सुर्खेत बसपार्कमा रहेको विद्युतीय चार्जिङ स्टेसनमा चार्ज गरिँदै हाइस। तस्बिर : रासस

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिजुली गाडी प्रयोगकर्ताहरू बढेका छन्। विक्रेताहरूका अनुसार पेट्रोल-डिजेलको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा धेरै मानिसको रोजाइ बिजुली गाडी बनेको हो। वीरेन्द्रनगरमा ‘बिजुलीको प्रयोग गरौँ पेट्रोलको आयात घटाऔँ’ भन्ने नारासहित बिजुली गाडीतर्फ आकषित गर्न थालिएको छ।

बिजुली कार उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राइभिङ भएकाले यसतर्फ मानिसको रोजाइ बढेको विक्रेताहरू बताउँछन्। शून्य कार्बन उत्सर्जन हुने भएकाले यसले वातावरण पनि प्रदूषित बनाउँदैन।

साझा स्टोरका मदन खड्काका अनुसार सुर्खेतमा बिक्री भइरहेका विद्युतीय कारमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ। बिजुली गाडी चलाउँदा पेट्रोलको मूल्य बचत हुने सीभी ट्रेडिङका चरित्रकुमार बीसीले बताए। सुर्खेत वीरेन्द्रनगरमा रहेको सीभी ट्रेडिङले विगत एक वर्षदखि विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। बीसीले भने, ‘विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउँदा धेरै फाइदा हुन्छ। यसमा पेट्रोल हाली पैसा खर्च गर्नु पर्दैन, धुवाँबाट पनि बच्न सकिन्छ।’

ठाउँठाउँमा चार्जिङको व्यवस्था गरेपछि बजार व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ। बीसीका अनुसार अहिलेसम्म देशभरका सडकमा धुवाँ फाल्ने सवारीसाधनको वर्चस्व छ। विद्युतीय सवारीसाधनका प्रयोगकर्ताको संख्या ज्यादै न्यून छ।

उनले भने, ‘विद्युतीय गाडी हेर्न आउनेको संख्या त ह्वात्तै बढेको छ। धेरैले गाडी हेर्नुहुन्छ। मन पनि पराउनुहुन्छ तर मूल्य सुनेपछि निराश बनेर किन्न हच्किनुहुन्छ।’ उपभोक्ताले विद्युतीय सवारीको सञ्चालन खर्च कति कम पर्छ भनेर हिसाब नगर्दा मूल्यमा बढी गुनासो सुन्नुपर्ने उनले बताए।

पछिल्लो समय सुर्खेतमा विद्युतीय गाडीले राम्रो आम्दानी गर्नुको साथै यात्रीलाई पनि सेवासुविधा दिँदै आएको सीजी ग्रुपको  केवाईसी गाडीका मालिक  कर्ण वली बताउँछन्। उनी भन्छन्, ‘डिजेल गाडी किनेर अरूलाई चलाउन दिँदा डिजेल र मर्मतका लागि खर्च बढी हुने गरेको थियो। तर अहिले विद्युतीय गाडीको प्रयोग गरेपछि राम्रो हुँदै गयो।’

सुर्खेतमा चार्जिङ सुविधा साझा स्टोर र बसपार्कको ग्यारेजमा मात्रै छ। सुर्खेत-नेपालगन्ज रुटमा ७ वटा बिजुली गाडी सञ्चालनमा छन्। चार्जिङ स्टेसन ठाउँठाउँमा राखेपछि बिजुली गाडी उपयुक्त रहेको उनले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणले सुर्खेत बसपार्कमा विद्युतीय सवारीसाधनका लागि विद्युतीय चार्जिङको व्यवस्था गरेको छ।

प्राधिकरणले देशभरका मुख्य सहरका मुख्य राजमार्गमा ५१ वटा चार्जिङ स्टेसन राख्ने तयारी गरेको छ। प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि छुट्टै महसुल तोकेको छ। चार्जिङ स्टेसनमा राति प्रतियुनिट ६ रुपैयाँ ६ पैसा शुल्क तोकेको छ भने दिउँसो चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ र साँझको व्यस्त समयमा १० रुपैयाँ शुल्क तोकेको सुर्खेतस्थित प्राधिकरणका कर्मचारी दीपक लामिछानेले जानकारी दिए।

बिजुली गाडी : कम खर्च, आरामदायी यात्रा

प्रकाशित: २५ भदौ २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =