कोशी प्रदेश

कांग्रेसलाई नफापेको कोशीको सत्ता

हिमाल प्रेस २२ भदौ २०८० १०:२४
4
SHARES
कांग्रेसलाई नफापेको कोशीको सत्ता

काठमाडौँ- नेपाली कांग्रेसका कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दोस्रो पटक सत्ता गुमाए। उनले लिएको विश्वासको मत संवैधानिक नरहेको भन्दै सर्वोच्च अदालतले बिहीबार पद मुक्त गर्‍यो। उनलाई सर्वोच्चले पद मुक्त गरेको यो पहिलो पल्ट भने होइन।

गत साउन ११ मा पनि मुख्यमन्त्रीमा थापाको नियुक्ति सर्वोच्चको पूर्ण इजलासद्वारा बदर भएको थियो। त्यसबेला सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने सांसदलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो।

उनले कोशीको सत्ता राजनीतिमा विपक्षीलाई साथ लिन नसक्दा दोस्रो पटक मुख्यमन्त्री गुमाए।

कोशीमा एमाले र राप्रपाले उनको विपक्षमा मत हाले। एमाले मात्र नभई थापाले राप्रपालाई मात्र विश्वासमा राख्न सकेको भए उनको मुख्यमन्त्री पद थामिन्थ्यो। तर उनी यो मामिलामा असफल ठहरिए। यति मात्र नभई कोशीमा कांग्रेस पनि सत्तामा पुगेर पनि सत्ता टिकाउन सकेको छैन। दुई पटक सत्तामा पुगेको कांग्रेस दुवै पटक अपदस्त बन्न पुग्यो।

कांग्रेसमा बिग्रिएको कांग्रेस राजनीति

गत असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएनन्। बहुमत गुमाएपछि सरकार कामचलाउमा सीमित भयो। असार १७ गते प्रदेश प्रमुखले ५ दिन समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरे।

असार २१ मा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गराई गठबन्धनको सरकारमा दाबी पेस भयो। त्यही दिन तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की र राप्रपाका नेताहरूले प्रदेश प्रमुखलाई भेटेर सभामुखको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरे। तर प्रदेश प्रमुखबाट उद्धव थापा मुख्यमन्त्रीमा सोहीदिन नियुक्त भए।

गत असार २२ मा सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गर्नु असंवैधानिक भन्दै तत्कालीन मुख्यमन्त्री कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दायर भयो।  कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुुनवाइ गर्दै असार २७ गते कोशी सरकालाई दीर्घकालीन असर पर्ने कार्य र निर्णय नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भयो।

साउन ८ मा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासको आदेश जारी भयो। साउन ११ मा मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चको पूर्ण इजलासद्वारा बदर भयो। सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने सांसदलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दियो।

यस पटक गठबन्धनबाट फेरि उद्धव थापा नै मुख्यमन्त्री बन्ने सहमति भयो। यसै अनुसार साउन १६ गते बेलुका ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङद्वारा पुनः दलहरूलाई आह्वान गरियो। तर त्यो नियुक्ति पनि खारेज भयो।

प्रदेशसभाको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा कोशीले तीन मुख्यमन्त्री पायो। सुरुमा बलियो नेकपा सरकारबाट शेरधन राई मुख्यमन्त्री बने। नेकपा विभाजन हुने अवस्थामा पुगेपछि राईले राजीनामा दिए। त्यसपछि एमाले नेता भीम आचार्य मुख्यमन्त्री बने। आचार्यले विश्वासको मत पाएनन्।

त्यसपछि तत्कालीन पाँच गठबन्धनबाट कांग्रेसले मुख्यमन्त्री पाउन सक्थ्यो। तर तत्कालीन नेकपा एमाले विभाजन हुने हुँदा नवगठित एकीकृत समाजवादीले सत्ता सम्हाल्न पायो। समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्री बने। यतिमै प्रदेशसभाको पहिलो कार्यकाल सकियो। प्रदेशसभाको दोस्रो कार्यकालको सुरुमै कांग्रेसमा सत्तामा जाने दाउमा थियो। तर केन्द्रमा एमाले र माओवादी गठबन्धन पर्दा कोशीको सत्ता एमालेको पोल्टामा पर्‍यो। यद्यपि, केन्द्रमा सत्ता फेरि बदलियो।

कोशीको सत्तामा अवसर नै नपाएको कांग्रेस सत्तामा गयो। तर दुवै पटक सत्ता जोगाउन सकेन।

फेरि सत्तामा फर्किने कसरत

दुईदुई पटक सत्ताबाट बाहिरिँदा पनि कांग्रेस फेरि सत्तामा जाने बताइरहेको छ। संविधानको १६८ को उपधारा ५ अन्तर्गतको सरकार बन्ने अवस्थामा सत्तामा जाने कांग्रेसको दाउ छ। सर्वोच्च अदालतले अल्पमतले बहुमतलाई शासन गर्नेगरी फैसला दिए पनि सम्मान गर्ने कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राई बताउँछन्।

‘यो सरकार जम्मा ३० दिनको लागि हो’, उनले भने, ‘हामी तीस दिन पछिको एक्ससाइजको तयारीमा लाग्छौं।’ यता माओवादी पनि गठबन्धन सरकारमा फर्किने बताइरहेको छ। ‘अल्पमतले बहुमतलाई शासन गर भन्ने खालको सर्वोच्चको फैसला आयो, तर त्यसलाई हामी सम्मान गर्छौ’, राईले भने, ‘कानुनी शासन पालना गर्ने पार्टी भएकाले यसलाई स्वीकार गर्छौं।’

गुटगत किचलोले असहज राजनीति

कांग्रेसको आन्तरिक किचलो अबको सत्ता यात्रा सहज देखिँदैन। कोशीमा यसअघि पनि यो समस्या देखिसकेको छ। मुख्यमन्त्रीबाट पदच्युत थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। उनी अन्य गुटका नेताले आफूलाई सकस पारिरहेको बताउने गरेका छन्। यसअघि पनि उनले आफ्नाे गुनासो पार्टीमा पोखिसकेका छन्।

थापाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नै ‘अन्य गुटले  कांग्रेसको शक्तिलाई खुम्च्याउने काम गर्दा कांग्रेसको मन रोएको’ बताएका थिए। उनले कांग्रेसका अर्का नेता केशवकुमार बुढाथोकीले ‘आफूलाई मुख्यमन्त्री नमानेको’ समेत बताएका थिए। बुढाथोकी कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

यहाँ अर्का नेता शेखर कोइराला समूह पनि छ। कांग्रेसको आन्तरिक लडाइँले फेरि पनि सत्ता राजनीतिमा असर पार्ने देखिएको छ। कोशीमा नेता शेखर कोइरालाले आफ्नो प्रभुत्व कायमै राख्न पनि आगामी सत्ता यात्रामा थापालाई रोक्ने सम्भावना छ। सोहीकारण अबको ३५ दिनपछि नेकपा एमालेका दलका नेता हिक्मत कार्कीले विश्वासको मत नपाएको खण्डमा फेरि नयाँ सरकार गठनको राजनीति सुरु हुन्छ। यस्तो अवस्थामा कांग्रेसको आन्तरिक किचलोकै कारण मुख्यमन्त्री माओवादीको भागमा पर्ने देखिन्छ।  पार्टीको आन्तरिक किचलोकै कारण कोशीमा कांग्रेसको सत्ता यात्रा अब त्यति सहज छैन।

प्रकाशित: २२ भदौ २०८० १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =