स्नातक शिक्षा

कर्णाली : १२ पासपछि गाउँमा बस्दैनन् युवा

रमा केसी २१ भदौ २०८० १७:१४
200
SHARES
कर्णाली : १२ पासपछि गाउँमा बस्दैनन् युवा मुगुस्थित रारा बहुमुखी क्याम्पस।

सुर्खेत- कर्णाली प्रदेशमा १२ कक्षा पास गरेपछि विद्यार्थी प्रायः गाउँघरबाट बाहिरिने गरेको पाइएको छ। उच्चशिक्षाका लागि कोही विदेश त कोही सहर केन्द्रित हुँदा प्रदेशका गाउँ रित्तिन थालेका छन्। यसको प्रत्यक्ष असर प्रदेशमा खुलेका क्याम्पसहरूमा परेको छ। कर्णालीमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी ६३ कलेज सञ्चालित छन्।

कक्षा १२ सकिनेबित्तिकै युवाले गाउँ छाडेका कारण क्याम्पसमा विद्यार्थी घटेको रुकुमपश्चिमको सानीभेरी शिक्षा क्याम्पस प्रमुख भागीराम भण्डारीले जानकारी दिए। उनका अनुसार बीचैमा पढाइ छोड्ने विद्यार्थीको संख्या पनि बढ्दो छ। आफूले चाहेको विषय पढ्न र रोजगारीको अवसरका लागि विद्यार्थीले गाउँ छाडेका हुन्। आर्थिक अवस्था सबल हुनेहरू सहरी क्षेत्रमा आधुनिक विषय पढ्न थाल्छन् भने विपन्नहरू वैदेशिक रोजगारीमा जान बाध्य छन्।

भण्डारी भन्छन्, ‘पढेर रोजगारी पाउने निश्चित नभएपछि विद्यार्थीले गाउँ छाडेका छन्। कोही विदेश जान्छन् र कोहीचाहिँ सहरी क्षेत्रकै कलेजमा पढ्न थाल्छन्। त्यसको असर ग्रामीण क्षेत्रका क्याम्पसमा परेको छ।’ सानोभेरीमा हाल छात्रा ११३ र छात्र ९२ जना गरी २०५ विद्यार्थी अध्ययनरत छन्।

जुम्ला बहुमुखी क्याम्पसको पनि अवस्था उस्तै छ। क्याम्पसमा २०७६ ∕०७७ मा २२ सय भर्ना भएका विद्यार्थी थिए। तीमध्ये ५० प्रतिशतले बीचमै पढाइ छाडेको क्याम्पस प्रमुख डा. ओमप्रकाश आचार्य बताउँछन्। अहिले क्याम्पसमा एक हजारजति विद्यार्थी छन्।

पछिल्लो समय क्याम्पसको संख्या बढेकाले विद्यार्थी विभाजित भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘विद्यार्थीलाई रोजाइका लागि विकल्प पनि धेरै छन्। सोही कारण पुराना क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको छ।’ विद्यार्थीको रुचि प्राविधिक शिक्षातर्फ भएकाले पनि संख्या घटेको हो। क्याम्पसले विद्यार्थी आकर्षण बढाउन कानुन र मानविकी संकाय थप गर्न लागेको छ।

कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संख्या घटेको छ। क्याम्पसका प्रमुख रुद्रप्रसाद सापकोटा भन्छन्, ‘१२ पास गरेपछि विद्यार्थी गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा सुर्खेत, नेपालगन्ज, काठमाडौँ तथा विदेश जाने भएकाले यहाँका क्याम्पसमा पढ्नेको संख्या घटेको हो।’ तिला कर्णालीमा अघिल्लो वर्षसम्म २५० जना विद्यार्थीमा रहेकामा यस वर्ष दुई सय विद्यार्थी अध्ययनरत छन्।

मुगुको चतुर्देव हीरा सुरेन्द्र पूर्ण क्याम्पसमा बर्सेनि १० प्रतिशतले विद्यार्थी घटिरहेको क्याम्पसका प्राध्यापक परेकबहादुर रावतले जानकारी दिए। दुर्गम तथा हिमाली भेगका युवा गुणस्तरीय शिक्षा, लोकसेवा आयोगको तयारी र रोजगारीका लागि सहरतिर जान थालेपछि क्याम्पस रित्तिँदै गएको उनी बताउँछन्। उनी भन्छन्, ‘क्याम्पसको भौतिक पूर्वाधार गतिलो छैन। विज्ञ शिक्षकहरूको अभाव छ। त्यसैले विद्यार्थी यहाँ पढ्न रुचाउँदैनन्।’

दैलेखको नारायण बहुमुखी क्याम्पसमा पनि विद्यार्थी घट्ने क्रममा छ। क्याम्पसमा २०७८∕ ०७९ मा ६ सय जना विद्यार्थी थिए भने अहिले ५ सयमा झरेको क्याम्पस प्रमुख नरबहादुर शाहीले जानकारी दिए। उनी पनि विद्यार्थीले चाहेअनुसारको विषय पढ्न नपाउँदा र रोजगारीको अवसर नहुँदा बाहिरिने क्रम बढेको बताउँछन्।

क्याम्पसमा बीबीएस र बीएड पढाइ हुन्छ। यी विषय बढ्दा तत्काल रोजगारी नपाइने बुझाइ विद्यार्थीमा छ। विद्यार्थीलाई स्वदेशमै रोक्न कृषि विज्ञान पढाइ अनिवार्य गराउनुपर्ने उनको सुझाव छ।

डोल्पो क्याम्पस प्रमुख धनञ्जय सुवेदी १२ पास भएपछि प्रायः विद्यार्थी गाउँमा नबस्ने बताउँछन्। उनका अनुसार रोजगारी र पढाइको खोजीमा सहर तथा विदेश जाने विद्यार्थीको संख्या धेरै छ। डोल्पो क्याम्पसमा करिब २०० जति विद्यार्थी अध्ययनरत छन्।

सुवेदी भन्छन्, ‘धेरै विद्यार्थी उच्चशिक्षा र रोजगारीका लागि गाउँबाहिर जाने भएकाले क्याम्पसमा विद्यार्थीको संख्या थोरै छ।’

क्याम्पसमा छोरीबुहारी मात्रै

छोरा पुस्ताले गाउँ छाडेका कारण प्रदेशका अधिकांश क्याम्पस छोरी/बुहारी पढ्न गएर टिकिरहेका छन्। छोरीबुहारी भने नियमित रूपमा पढ्न आउँदैनन्। जाजरकोटको नलगाड क्याम्पसका प्रमुख कालीबहादुर पुनले भने, ‘सामुदायिक क्याम्पस छोरीबुहारीका लागि मात्र भएको छ।’ नलगाडमा भर्ना हुनेमा पुरुषभन्दा महिला धेरै छन्।

सल्यानमा भने विद्यार्थीको संख्या बढेको छ। बनगाड क्याम्पसका प्रमुख गणेशबहादुर चन्दका अनुसार क्याम्पसमा २०७८∕०७९ मा २०५ जना विद्यार्थी थिए। यस वर्ष २५० जना विद्यार्थी अध्ययनरत छन्। गाउँघरमै बसेर पढ्न थालेपछि विद्यार्थीको संख्या बढ्दै गएको प्रमुख चन्दले बताए। उनका अनुसार पढ्न आउने प्रायः महिला छन्।

चन्दले भने, ‘क्याम्पसमा छात्रा बढी छन्। अहिले त छोरीबुहारी क्याम्पस भएको छ। क्याम्पसमा राम्रो व्यवस्थापन नभएका कारण उच्चशिक्षा र रोजगारीका लागि युवा विदेश जान थालेको उनको भनाइ छ।

जानकारहरूचाहिँ विश्वविद्यालयको अदूरदर्शिताका कारण ग्रामीण क्षेत्रका कलेजमा विद्यार्थी टिक्न नसकेको बताउँछन्। तत्काल रोजगारी पाइने, विदेशी विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने र नयाँनयाँ विषय पढ्न पाएमा विद्यार्थीले घर नछाड्ने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह बताउँछन्।

उनी भन्छन्, ‘नियमित रूपमा पढाइ नहुने, कक्षा सञ्चालन भइरहेका बेला राजनीतिक क्रियाकलाप हुने, दल निकटका शिक्षक र विद्यार्थीले अनेक खालका माग अघि सारेर तालाबन्दी गर्ने जस्ता गतिविधि कायमै रहँदा युवा पुस्ता निराश हुने गरेका छन्।’

विद्यार्थीको रुचि पूर्वाधार र नयाँ विषयमा 

आधुनिक विषय पढाइ हुने क्याम्पसमा भने विद्यार्थीको चाप घटेको छैन। विद्यार्थीको रुचि र आवश्यकताअनुसारका पाठ्यक्रम लागू गरिएका क्याम्पसमा विद्यार्थीको कमी नरहेको उपकुलपति सिंह बताउँछन्। शिक्षण सिकाइ प्रभावकारी रूपमा सञ्चालन भएमा विद्यार्थीले बीचमै पढाइ नछाड्ने उनी बताउँछन्।

उपकुलपति सिंह विद्यार्थीको रुचिअनुसारका पाठ्यक्रम, गुणस्तरीय शिक्षाका साथै भौतिक वातावरण पर्याप्त भएका क्याम्पसमा विद्यार्थीको संख्या बढिरहेको बताउँछन। उनका अनुसार २०७६∕७७ मा मध्यपश्चिम विश्वविद्यालयमा ७ हजार पाँच सय विद्यार्थी थिए भने अहिले १३ हजार हाराहारी छन्।

कतिपय विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू हुन सकेको पाइँदैन। परीक्षा र नतिजा पनि समयमै नहुने अनि पढेपछि रोजगारीको पनि सुनिश्चित नभएका कारण विद्यार्थीलाई स्वदेशी कलेजप्रति विश्वास घट्दै गएको छ। सोही कारण पनि १२ पास गरेका विद्यार्थी बिदेसिन बाध्य भएको सिंहको अनुभव छ।

नयाँ प्रविधिसँगै समयको मागअनुसारको शिक्षण सिकाइ गरिएकै कारण विश्वविद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको दाबी सिंहको छ। उनले भने, ‘विश्वविद्यालयहरूमा राजनीति एन भने पढाइमा समस्या छैन। पढेपछि रोजगारीको व्यवस्था हुने हो भने विदेश जाने विद्यार्थीको संख्या घट्नेछ।’ मध्यपश्चिम विश्वविद्यालयमा व्यवस्थापन, इन्जिनियरिङ, मानविकी, कानुन, शिक्षाशास्त्र, र विज्ञान संकायका विषयहरू पढाइ भइरहेका छन्।

सुर्खेत क्याम्पसमा पनि विद्यार्थी संख्या घटेको छैन। क्याम्पसको शिक्षाशास्त्र संकायमा २०७८/०७९ मा ५५ सय विद्यार्थी थिए भने अहिले ६ हजारको आसपासमा विद्यार्थी रहेको उपप्राध्यापक किरण भट्टराईले जानकारी दिए। उनका अनुसार क्याम्पसमा शिक्षाशास्त्र र बीबीएसमा विद्यार्थीको रुचि बढी छ। उनले भने, ‘अन्य क्याम्पसमा भन्दा यहाँको वार्षिक शुल्क कम भएकाले गर्दा पनि विद्यार्थीको आकर्षण छ।’

हुम्लाको हिमज्योति क्याम्पसमा अघिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थीको संख्या बढ्दै गएको क्याम्पस प्रमुख नेत्रलाल हमालले बताए। २०७८∕०७९ मा २३५ थिए भने अहिले २५८ जना विद्यार्थी रहेको उनले बताए। उनी भन्छन्, ‘क्याम्पसमा अन्यत्रभन्दा भौतिक संरचना छ। सिकाइमा पनि नयाँनयाँ प्रविधिको प्रयोग हुने गरेको छ।’ सोही कारण विद्यार्थी संख्या बढ्दै गएको दाबी उनको छ।

स्नातक भर्नामा प्रतिस्पर्धा घट्यो

प्रकाशित: २१ भदौ २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast