गायक राजु लामासँगै झुमे न्युयोर्कमा रहेका नेपाली

हिमाल प्रेस १६ भदौ २०८० २१:३५
40
SHARES
गायक राजु लामासँगै झुमे न्युयोर्कमा रहेका नेपाली

न्युयोर्क-  न्युयोर्क सहरको एक हल राजु लामाको स्वरले गुन्जिएको छ। सँगै नेपालीहरू पनि कम्मर भाँच्दै राजु लामा लाइभ इन कन्सर्टमा झुमेका छन्। सबै उमेर समूहको उपस्थितिले कार्यक्रम भव्य भएको थियो। लामो समयपछि मंगोलियन हार्टका हार्टलाई सबैले नजिकबट सुनेका हुन्। लामाले स्वरमात्र दिएनन् स्टेजमा उत्तिकै आफ्नो प्रस्तुति दिएर सबैलाई नचाए।

न्युयोर्कको मेलरोज बलरुममा अघिल्लो साता आयोजना गरिएको कन्सर्टमा सात सय बढी नेपाली संगीतप्रेर्मी सहभागी थिए। लामाले कन्सर्टमा सयौँ दर्शकलाई उनका विभिन्न लोकप्रिय गीतमा नचाए।

गायक लामाले आफ्नो प्रस्तुतिसँगै दर्शकलाई बीचबीचमा ज्यो ज्योलाई कति माया गर्नु हुन्छ नि? भनेर मुस्कुराउँदै प्रश्न गर्दा संयमित दर्शकको भीड नै राजु लामाप्रतिको मायाको प्रमाणका रूपमा देखिन्थ्यो। कन्सर्टमा युवा, प्रौढ मात्र नभएर पाका उमेर समूहका बुबाआमाको उपस्थितिले पनि लामा धेरै नेपालीमा प्रिय गायक रहेको पुष्टि हुन्थ्यो।

सधैँ चक्लेटी देखिने गायक लामालाई यसपटक थोरै म्याच्युएर देखिएका थिए। गायक लामाले झण्डै २ घण्टा निरन्तर आफ्ना विभिन्न १६ वटा लोकप्रिय गीतमार्फत दर्शकको भीडलाई आफूतिर केन्द्रित गराएका थिए। गायक लामाको स्वर जति सुमधुर सुनिन्छ उनले गीतको प्रस्तुति पहिले ‘हुन्छ हजुर अब म यो गीत सुनाउँछु है त हजुर’ भनेर नरम लवजमा विनम्रतापूर्वक गरेको अनुरोधले कन्सर्टलाई जीवन्त बनाएको थियो नै, यसले उनको व्यक्तित्वलाई पनि अझै उचाइमा पुर्‍याएको थियो।

गायक लामाको लगभग सबै गीतलाई दर्शकले ‘वान्स मोर’ ‘वान्स मोर’ भनेर पुनः गाउन आग्रह गरे पनि गायक लामाले अन्त्यमा सायद तिम्रो बाटोमा बोलको गीत भने पुनः प्रस्तुत गरेका थिए। कार्यक्रमको सुरुदेखि खचाखच हलमा उपस्थित दर्शक गायक लामा जत्तिक्कै संयमित र भद्र देखिए।

प्राय: कन्सर्टमा उच्छृंखल देखिने दर्शक यसपटक भने राजु लामाको अन्तिम प्रस्तुतिसम्म अनुशासित देखिए। गायक लामाले जलवायु परिवर्तनको प्रभाव घटाउन र जलवायु परिवर्तनको जनचेतना फैलाउन ६ हजार ५ सय ७४ मिटरको उचाइमा हिमालले डाक्यो मलाई बोलको गीतसमेत गाएका थिए।

उनले राजु लामा फाउन्डेसनमार्फत बिरुवा रोप्ने काम पनि गरिरहेका छन्। फाउन्डेसनमार्फत गरिरहेको कामलाई सहयोग गर्न गायक लामाले दर्शकलाई आग्रह गरेका थिए। चित्र गुरुङ, प्रेम गुरुङ र चाँदनी लामाको संयोजनमा राजु लामा लाइभ इन कन्सर्ट आयोजना गरी लामालाई दर्शकमाझ न्युयोर्कमा प्रस्तुत गरेको हो।

कन्सर्टबाट उठेको रकमको १५ प्रतिशत रकम राजु लामा फाउन्डेसनलाई प्रदान गरिने आयोजकले जनाएको छ। कन्सर्टको सुरुमा भुटानिज गायक मिस्टी टेराजले भुटानी भाषाको गीत प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राईले सिरानमा फोटो छ…, सपना सपना… लगायत बोलको गीत गाएका थिए।

प्रकाशित: १६ भदौ २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =