पोखरा– ग्लोबल ओरियन्स नेपाल प्रालिले लाखौँ रकम ठगी गरेको भन्दै २ वर्षअघि पोखरामा पीडितले गुनासो गरे। पीडितले प्रलोभनमा पारेर ठगी गरेको पत्रकार सम्मेलनमै बताएका थिए। यसरी ठगिनेको संख्या करिब एक हजार थियो। तीमध्ये अधिकांश प्लस टु पढ्दै गरेका किशोरकिशोरी थिए।
सुरुमा निश्चित रकम तिरेर तालिम लिनुपर्ने र कम्पनीका विभिन्न खालका सामान बिक्रीबापत अनेक प्रलोभन बाँडिएको उनीहरूको भनाइ थियो। यही प्रलोभनमा परेर नेटवर्किङको जालोमा एकपछि अर्को गर्दै फस्दै गएको उनीहरूको भनाइ थियो।
पीडितका अनुसार कम्पनीले तालिम भन्दै पहिलो तहलाई साढे १३ हजार, दोस्रो तहलाई ३५ हजार र तेस्रोलाई १ लाख १५ हजार प्रतिव्यक्ति रकम उठाएको थियो। तालिमपछि जति सामान बेच्न सक्यो त्यति ‘स्टार’ पाउने तथा नगद बोनससहित स्मार्टफोन, ल्यापटप, करोडसम्मको फाइदा हुने र परिवारका चार सदस्यलाई विदेश भ्रमण प्याकेज सुविधाको प्रलोभन बाँडिएको थियो। जसले आश्वासन दिँदै तालिम दियो, आखिर त्यही भागेपछि पीडितले मिडिया गुहारे। घटना प्रहरीसम्म पुग्यो।
पोखरास्थित ग्लोबल ओरियन्स नेपाल प्रालिका इन्चार्ज अजित गुरुङ कम्पनीविरुद्धको आरोप स्वीकार्न तयार छैनन्। उनी भन्छन्, ‘कोरोनाकालको कुरा हो। केही वितरकले आफूखुसी कार्यालय खोलेका रहेछन्। उनीहरूले घरभेटीलाई भाडा तिर्न नसकेपछि कुरा बाहिर आएको हो। खासमा कम्पनीले ठगेको भन्नु गलत हो।’
आफ्नो कम्पनीले पोषणविज्ञ राखेर ग्राहकलाई आवश्यक परामर्श दिएरमात्र सामान बिक्री गर्ने गरेको उनले बताए। ‘हामी कसैलाई जबरजस्ती गर्दैनौँ। अहिले पनि तीन चार सय जना नियमित ग्राहक हुनुहुन्छ,’ उनी भन्छन्।
कम्पनीको देशभर २७ शाखाबाट करिब ७० प्रकारका सामान बिक्रीवितरण हुने गरेको छ। दीर्घकालीन रोग लागेकाहरूले औषधिजन्य सामान खरिद गर्ने गरेको उनले बताए। कम्पनीमा विदेशबाट आयातित सामान पनि छन्। ती सामाग्री पोषणसम्बन्धी हुन्। अरू सबैजसो स्वदेशी उत्पादन रहेको गुरुङले बताए।
उनले भने, ‘कोही ग्राहकले मन परेर आफू पनि कम्पनीका सामान बिक्री गर्छु भन्यो भने कम्पनीको एग्रिमेन्ट पेपर (सम्झौतापत्र) भर्नुपर्छ। त्यसपछि कम्पनीले उसलाई वितरक बन्ने अनुमति दिन्छ। जति सामग्री बिक्री भयो, त्यति कमिसन आउने हो।’ उनी यसलाई नेटवर्किङ भन्न नमिल्ने दाबी गर्छन्।
ग्लोबल ओरियन्सका सामानको नियमित प्रयोगकर्ताकै भनाइमा सहमत हुने हो भने यस खालको नेटवर्किङ शैलीको व्यवसाय हराएको छैन। भित्रभित्र झन् फैलिँदो छ। सरकारले नेटवर्किङ व्यवसाय निरुत्साहित गर्दै प्रत्यक्ष बिक्रीका नाममा तीन वर्षअघि इजाजत दिएको थियो। सरकारले वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएसँगै धमाधम इजाजत बाँड्न थालेको हो। त्यसबेला झण्डै एक दर्जन नेटवर्किङ कम्पनीले इजाजत लिएका थिए।
सबैभन्दा पहिले इजाजत लिने कम्पनी हो- आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि। कम्पनीको बिजनेस प्रमोटर बताउने पूर्ण राई आइबोस ग्लोबलमा हालै आबद्ध भएका हुन्। कम्पनीले ग्रिन टी, साबुन, क्रिम, तेल, कपडालगायत सामान बिक्री वितरण गर्दै आएको कम्पनीले पछिल्लो समय म्याट्रेस, सुट, फिल्टरलगायतका सामान पनि बिक्रीका लागि ल्याएको उनले जनाए। फिल्टर चार लाखसम्मका छन्। ग्राहकले ग्रिन टी बढी खरिद गर्दै आएको राई बताउँछन्।
बिजनेस प्रमोटर राईका अनुसार यस खालको व्यवसायमा जोडिन चाहनेलाई एजेन्ट बनाइन्छ। उसले अर्कालाई प्रलोभनमा पारेर सदस्य बनाउँछ। यसरी एकपछि अर्को गर्दै ठूलो सञ्जाल फैलिँदै जान्छ। कति जनासम्म बनाउन मिल्छ? भन्ने जिज्ञासामा राईले भने, ‘जति बनाउन सक्यो, त्यति फाइदा। बोनस रकम वालेटमा तुरुन्तै आउँछ।’
ग्लोबल ओरियन्स र आइबोस ग्लोबल लाइफझैँ पोखरामा एक दर्जन जति यसखालका व्यवसाय रहेको अनुमान छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत दिएपछि त झन् सजिलो भएको छ। सम्बन्धित कम्पनीका हरेक शाखामा इजाजतपत्र देखाउँदै ग्राहकको विश्वास जित्न सहज पनि बनेको पाइन्छ।
१० वर्षअघि हजारौँ सर्वसाधारण ठगी गरेका कम्पनी अर्कै कम्पनी खोलेर भित्रभित्रै फेरि नेटवर्किङ शैलीमा ठगीधन्दामा छन्। तर उचित छानबिन हुन सकेको छैन। यसबारे उजुरी लिएरै प्रहरी कार्यालयमा पछिल्लो समय निवेदन पनि नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए।
पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका सूचना अधिकारी प्रदीपकुमार रेग्मी पनि नेटवर्किङ व्यवसाय गैरकानुनी रहेको बताउँछन्। उनका अनुसार नेटवर्किङको जालो रहेको र बेलाबेलामा ठगिने गरेको सुनिए पनि कार्यालयमा हालसम्म कोही पनि गुनासो लिएर नआएको प्रस्ट पारे।
गण्डकी प्रदेश बजार अनुगमन समितिका सदस्यसमेत रहेका रेग्मी भन्छन्, ‘कम्पनी रजिस्ट्रारको कार्यालयमा विभिन्न नाममा दर्ता त भए, तर तिनीहरूले पिरामिड शैलीमा सदस्य बनाएर वस्तु तथा सेवा बिक्री गर्ने भन्ने इजाजत छैन। त्यस्तो भेटिए गैरकानुनी हो।’
उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत लिएका कम्पनीले ऐननियमको मर्मविपरीत लुकीछिपी पिरामिड शैलीको कारोबार गरिरहेको औँल्याए। उनले भने, ‘जतिसुकै प्रलोभन दिए पनि नेटवर्किङ व्यवसायमा लाग्नु भनेको अन्ततोगत्वा ठगिने नै हो।’ यसमा खेल्नेमध्ये सीमित केही व्यक्तिले फाइदा लिए पनि पछाडिका सयौँ-हजारौँ ठगिन्छन् त्यसकारण सतर्क हुनुपर्ने कोइरालाको सुझाव छ।