काठमाडौँ- तस्करहरूले हङङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत भएको पाइएको छ। सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए। सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।
उक्त सुन ९९.९ प्रतिशत नै शुद्ध रहेको भनेर राजस्व अनुसन्धान विभागलाई जानकारी गराइएको बताए। ‘९९.९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो’, उनले भने।
टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए। उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ। बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाई जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो। त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल थियो। गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो।
राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। सुन तस्करीका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। रासस