कपनमा खहरे खोतलेर पर्खाल निर्माण [तस्बिरहरू]

दिपेश श्रेष्ठ १ भदौ २०८० २१:०२
92
SHARES
कपनमा खहरे खोतलेर पर्खाल निर्माण [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वडा नम्बर ६ र ७ को सीमा भएर बग्ने चखुन्चा खोला (खहरे) लाई पुरानै स्वरूपमा ल्याउन पर्खाल निर्माण गरिरहेको छ। महानगरपालिका र बूढानीलकण्ठको सिमाना छुट्याउने खोलामाथि रहेको सडक भत्काएर महानगरले खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गरेको हो।

यस क्रममा खोलामाथि गरिएको ढलान भत्काउने क्रम पनि जारी छ। भत्काउनका लागि महानगरपालिकाले जेसीबी र सुरक्षा बल तैनाथ गरेको छ।

धोबीखोलादेखि साततलेसम्मको बूढानीलकण्ठ-१० र काठमाडौँ महानगर-७ को सीमा भागमा नापजाँच भई वाल लगाइसकिएको छ। उक्त भागको सतहमा रहेको खहरेमा राखिएको ह्युम पाइप निकालिएको छ। उक्त क्षेत्रमा वर्षायामका बेला डुबान हुन थालेपछि बूनपा-१० को तरकारीबजारसम्म खहरेमाथि गरिएको ढलान निकालेर पुरानै स्वरूप कायम गर्ने विषयमा काठमाडौँ महानगरपालिका र बूनपाका जनप्रतिनिधिबीच समझदारी भएको थियो।

गत शुक्रबार काठमाडौँ महानगर-६ र ७ का वडाध्यक्ष र बूढानीलकण्ठ नगरपालिका-१० र १२ का वडाध्यक्षबीच सहमति भएपछि खोला खोतल्ने काम थालिएको थियो। तीन वडाध्यक्षबीच भएको सहमतिअनुसार साततले चोकदेखिमाथि बूनपा १०, १२ र कामनपा ६ र ७ दुवैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे नै कायम गरिनेछ।

खहरे छुट्याइएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहका सम्बन्धित वडाध्यक्षहरूको लिखित सहमतिमा दोस्रो चरणको काम सुरु गरिनेछ।

प्रकाशित: १ भदौ २०८० २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =