नयाँ पार्टीप्रति विश्वप्रकाश शर्माको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन

हिमाल प्रेस ३० असार २०८० १८:३०
14
SHARES
नयाँ पार्टीप्रति विश्वप्रकाश शर्माको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद विश्वप्रकाश शर्मा। तस्बिर : रासस

काठमाडौँ- स्वतन्त्र पार्टीलगायत नयाँ दलहरूप्रति कांग्रेस नेताहरूले कटाक्ष गरेका छन्। काठमाडौँमा शनिबार आयोजित एउटा कार्यक्रममा कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत र महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलहरूप्रति कटाक्ष गरेका हुन्।

अर्थमन्त्री महतले नयाँ पार्टीहरूलाई ‘नयाँ प्रवृत्ति’को संज्ञा दिए। महामन्त्री शर्माले नयाँ दललाई ‘खहरे खोला’ भन्दै त्यस्तो खोलाबाट बिजुली निकाल्न नसकिने बताएका हुन्। अर्थमन्त्री महतले पुराना दलहरू कष्ट सहेर अहिलेको अवस्थामा पुगेकाले पुराना पार्टीले केही गरेनन् भनेर आएका नयाँ पार्टीहरू लामो समय टिक्न नसक्ने बताए।

पुराना दलहरूजस्तै दुःख, १०औँ वर्ष जेल, प्रवासनलगायतका कष्ट ‘नयाँ प्रवृत्ति’ले सहनुपरेमा धेरै समय टिक्नै नसक्ने दाबी गरे। त्यस्तै महामन्त्री शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ दलहरूप्रति कटाक्ष गरे।

पुराना पार्टीका दिन गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृति सबै पुराना हुन् भनेर बिर्सन नहुने शर्माले बताए। उनले पुरानो नाता सम्बन्ध तोडेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने टिप्पणी गरे। निरन्तर बगिरहेका नदीबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्ने नबिर्सिन नयाँ राजनीतिक दलहरूलाई शर्माले आग्रह गरे।

कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको उनको भनाइ थियो। साउन २ गते बस्ने पार्टीको बैठकले बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउन सुरु गरिने पनि बताए। ‘पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन,’ शर्माले भने, ‘निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन।’

प्रकाशित: ३० असार २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =