एक रातको कथा ‘महानगर’

हिमाल प्रेस ३२ साउन २०८० ११:५३
24
SHARES
एक रातको कथा ‘महानगर’

काठमाडौँ- नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ। फिल्म भदौ ८ मा प्रदर्शन हुनेछ।

३७ रात छायांकन गरिएको फिल्ममा महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको छ। सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई फिल्ममा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए।

‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ।’ निर्देशक राईले भने, ‘यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ। मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले फिल्म तयार गरेँ। खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको फिल्म हो।’

निर्देशक राईले उच्च शिक्षा हासिल गर्न तराईदेखि काठमाडौँ आएपछि जीवनशैली सोचभन्दा भिन्न तरिकाले अगाडि बढेको केही भोगाइलाई चलचित्रमा समावेश गरिएको बताए।

‘महानगरमा मेरा आफन्त थिएँ। तर समय अभावका कारण उहाँमार्फत मार्गदर्शन नपाउँदा सपनाको सहरमा बस्नसमेत सकस भएको भयो किनकी हामीले बाहिरबाट महानगरलाई बुझ्न सक्दैनौँ। यस्तोमा दोष कसैको छैन किनकी यहाँ सबैको जीवन आफ्नै गतिमा अगाडि बढिरहेको छ’, निर्देशक राईले भने, ‘भौतिक रूपमा प्रगति हुँदै गर्दा देखिने दुई विभाजनलाई खुसी र आशिषको पात्रमार्फत व्यक्त गर्ने कोसिस गरेको छु। खुसी आफूलाई परिवर्तन गर्न सक्दिनन् भने आशिष सहरले उब्जाएको रहरमा आफूलाई भुलिसकेको छ। उनीहरूको एक रातको भेटको कथा फिल्ममा छ।’

फिल्ममा खुसीको भूमिका निर्वाह गरेकी अभिनेत्री मेनुका प्रधानले रातको सुन्दरतालाई बुझ्न पाएको बताइन्। ‘हामीले रातको दृश्यलाई सोही समयमा छायांकन गरेका हौँ। रातभर छायांकन गर्ने र दिनभर सुत्ने भएका थियौँ। यसले मलाई रातको संसारसँग परिचित गरायो।’

पात्रका केही स्वभाव आफूसँग मिल्ने भए पनि पूर्णरूपमा अलग रहेको उनले जानकारी दिइन्। ‘खुसीमार्फत समाजलाई गहनरुपमा बुझ्ने मौका पाएँ।’

फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन्। फिल्म नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत छ।

फिल्मले विभिन्न महोत्सवमा सहभागी भएर ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनलगायत विधामा अवार्ड जितेको थियो। रासस

प्रकाशित: ३२ साउन २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =