आवरण

महामारीमा हर्कको परीक्षा

विवेक विवश रेग्मी २८ साउन २०८० १२:११
88
SHARES
महामारीमा हर्कको परीक्षा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेंगु अस्पतालमा उपचार गराउँदै डेंगु संक्रमितहरू। तस्बिर : हिमाल प्रेस

इटहरी– धरानमा साढे दुई महिनायता डेंगु महामारी तीव्र रूपमा फैलिएको छ। ‘प्रि मनसुन’ सुरु भएदेखि नै धरान उपमहानगरपालिका क्षेत्रमा डेंगु महामारी फैलिएकाे हाे। महामारीका कारण हालसम्म ९ हजार ८०६ जना संक्रमित भएको उपमहानगरपालिकाको तथ्यांक छ। तथ्यांकअनुसार हालसम्म १३ हजार ८९८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। जसमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरानकै १० जना छन्।

‘हालसम्म परीक्षण गरेमध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण फेला परेको छ,’ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने, ‘हामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र विभिन्न प्राइभेट क्लिनिकमार्फत डाटा माग्दा यो संख्यामा संक्रमित फेला परेका हुन्। उपमहानगर आफैँले डेंगुको निःशुल्क परीक्षण सुरु गरेपछि भीड बढेको छ।

अस्पतालको तथ्यांकअनुसार उक्त संख्यामा संक्रमित भए पनि अझै यो संख्या बढेको हुनसक्ने मेहताले बताए। ‘कतिपय क्लिनिकले डाटा नदिएको र कतिपय बिरामीले बाहिरै गएर पनि जाँच गरेका हुन सक्छन्,’ उनले भने, ‘सम्भावित लक्षण देखिएका बिरामीमा जाँच गर्दा पनि संख्या बढ्दो छ।’

धरानस्थित छाताचोकको पुरानो हस्पिटल, धरान १४ विजयपुर, धरान १३ को वडासमितिको कार्यालय, धरान उद्योग वाणिज्य संघको कार्यालय, धरान १५ को आधारभूत स्वास्थ्य कार्यालय, धरान सभागृहलगायतका ठाउँमा निःशुल्क परीक्षण भइरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहता बताउँछन्। ‘सर्वसाधारणले निःशुल्क रूपमा स्वास्थ्य पाऊन् भनेर परीक्षण केन्द्र स्थापना गरेका छौँ,’ उनले भने, ‘डेंगु देखिएका बिरामीलाई उपचारको व्यवस्था गरिरहेका छौँ। प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि सामाग्रीसँगै जनस्वास्थ्यकर्मी पनि पठाएको छ।’

धरानमा कोरोना महामारी बिर्साउने गरी डेंगु संक्रमण फैलिएपछि नियन्त्रणबारे उपमहानगरले काम गरिरहेको उनको भनाइ छ। ‘यो रोग फैलन नदिन लामखुट्टेका लार्भा खोज्ने, नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छौँ,’ मेहता भन्छन्, ‘एकैपटक धरानका विभिन्न ठाउँमा अभियान चलाएका छौँ। धरानमा दुईपटकसम्म डेंगु फैलिएर नियन्त्रणमा आइसकेपछि अब चैँ नफैलियोस् भनेर प्रत्येक घरघरमा सचेतना अभियान चलाएका छौँ।’

चार वर्षअघि पनि धरानमा यही किसिमको डेंगु फैलिएको थियो। अहिले फेरि डेंगु महामारी फैलिएपछि स्वतन्त्र उम्मेदवारी दिएर धरानको नगरप्रमुखमा निर्वाचित भएका हर्क साम्पाङको परीक्षा चलिरहेको छ। कोरोना महामारीलाई बिर्साउनेगरी फैलिएको डेंगु नियन्त्रणको परीक्षामा नगरप्रमुख साम्पाङ सफल होलान्, कि असफल भन्ने चर्चासमेत भइरहँदा स्वास्थ्य महाशाखाका प्रमुख मेहता भन्छन्, ‘मेयर सा’ब स्वतन्त्रबाट जित्नुभएको, अरूहरू (जनप्रतिनिधि) राजनीतिक दलबाट जित्नुभयो। यहाँ समन्वय अभाव भयो। मेयर सा’बले समन्वय गर्न चाहे पनि राजनीतिक दलबाट सहयोग नभएको हो कि जस्तो भइरहेको देखिन्छ।’

धरानमा डेंगु नियन्त्रणका लागि नगरप्रमुख साम्पाङको नेतृत्वमा अभियान चलिरहेको छ। अभियानमा उपप्रमुख आइन्द्रविक्रम बेघा स्वास्थ्य महाशाखा सँगै छन्। डेंगु भने नियन्त्रणमा आउन सकेको छैन। धरानमा पानी दिनैपिच्छे नआउने र बेलाबेला आएको पानी सञ्चित गरेर राख्दा समस्या हुने गरेको जानकारहरू बताउँछन्। डेंगु नियन्त्रणका लागि प्रिमनसुनदेखि नै सचेत हुनुपर्ने र त्यसो हुँदा भएको लामखुट्टे पनि एक महिनासम्म मात्रै बाँच्ने उनीहरूको भनाइ छ।

मेहता पनि धरानमा पानी अभावकै कारण डेंगु संक्रमण फैलिएको बताउँछन्। ‘पानी दुई-तीन दिनमा एकपटक आउने गरेको छ। पानी छोपेर राख्नुपर्छ। सरसफाइ गर्नुपर्छ भन्ने सबैको ज्ञान छ। तर व्यवहारमा परिवर्तन आएको छैन,’ मेहताले भने, ‘पानी जम्न नदिँदा र लामखुट्टेको वृद्धि विकास भइरहँदा महामारी फैलिइरहन्छ। यही किसिमले डेंगु महामारी बढ्दै गए कात्तिकसम्म यो क्रम रहन्छ।’ अर्को वर्षका लागि सचेत गराउन प्रिमनसुनकै लागि लाग्नुपर्छ भन्ने सोच बनाइएको मेहता बताउँछन्।

प्रदेश मन्त्रालयले बल्ल पायो मन्त्री

कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय केही सातादेखि मन्त्रालयविहीन थियो। मन्त्रालयको नेतृत्व नहुँदा समन्वय गर्न पनि सकस भइरहेको अधिकारीहरूको गुनासो छ। निर्मला लिम्बू शुक्रबार मात्रै मन्त्री भएकी छन्।

मन्त्रालयका सूचना अधिकारी डा. रवीन्द्र निरौलाले भने, ‘बल्ल मन्त्रीज्यू आउनुभयो, यसअघि मन्त्रालय मन्त्रीविहीन थियो,’ उनले भने, ‘मन्त्रीले पहिलो निर्णय नै डेंगु र आँखा पाक्ने रोगको रोकथामका सम्बन्धमा छ।’ निरौलाले निजी क्षेत्रसँग पनि समन्वय गरी डेंगु नियन्त्रणबारे काम भइरहेको बताए।

मन्त्रालयमा भएको छलफलले प्रदेशभर बढी संक्रमित भएका ठाउँमा निजी क्षेत्रसँगको समन्वयमा यसको नियन्त्रणका लागि पहल गर्ने उनको भनाइ छ।  ‘प्रदेशमा बढी संक्रमित भएको धरान उपमहानगरपालिकासँग समन्वय गरेर हामीले प्राविधिक पनि पठाएका छौँ,’ डा. निरौलाले भने, ‘प्राविधिकको टोली खटिएर काम गरिरहेको छ, त्यससँगै नियन्त्रणका अन्य प्रयास भइरहेका छन्।’

धरानमा एकै परिवारका ९ जनासम्मलाई डेंगु संक्रमण भएको छ। गत जेठ र असारमा डेंगु संक्रमण भएका बिरामीमध्ये कतिपयलाई साउनमा दोहोर्‍याएर, तेहेर्‍याएरसमेत संक्रमण भएको छ। डेंगु महामारीले आक्रान्त बनिरहेको धरानमा डेंगु फैलन नदिन सरोकारवाला निकाय गम्भीर नबनेको नागरिक अगुवाहरू बताउँछन्।

‘डेंगु प्रकोपको रूपमा आउँदैछ भनेर दुई वर्षअघि नै संकेत दिएको थियो,’ धरानका बुद्विजीवी, डा. राजेन्द्र शर्मा भन्छन्, ‘पूर्व संकेतका रूपमा आएको लहर भए पनि स्थानीय सरकार बेखबरजस्तै बन्यो, त्यसका कारण आमसर्वसाधारणमा जनचेतनाको अभाव देखियो।’

डेंगु महामारीले धरानलाई ‘इपिसेन्टर’ बनाएका कारण तीव्र रूपमा डेंगु फैलिएको उनी बताउँछन्। डेंगु फैलिएसँगै अहिले स्थानीय सरकारले वडामै क्लिनिक खोलेर उपचारमा लाग्दा नागरिकलाई केही राहत मिलेको उनी बताउँछन्।

‘डेंगु फैलन नदिनका लागि त्यस्तो कुनै योजना नल्याए पनि, निराकरण गर्ने काममा सबैजना सक्रिय भएर लागेको देखिन्छ,’ डा. शर्मा भन्छन्, ‘उपचारका लागि स्थानीय सरकार गम्भीर देखिन्छ। सुरुमा गरेको गल्तीको परिणाम अहिले हामी सबैले भोगिरहेका छौँ।’

पानी जमेकै भरमा मात्रै डेंगु नफैलिने तर्क गर्दै उनले प्रकोप हुनुको पछाडि समयमै कीटनाशक औषधि प्रयोग गर्न नसकिएको बताए। ‘धरानलाई स्वास्थ्य संकटकाल क्षेत्र घोषित गर्नुपर्छ भन्ने कुरा पनि भइरहेको छ। यसका लागि सबै तह, तप्काका मानिसहरू लाग्लान्,’ उनले भने, ‘पानी जमेकै भरमा मात्रै डेंगु भएको भने होइन। डेंगु फैलाउने लामखुट्टेका लागि धरानको क्षेत्र अलिक सुहाउँदो वातावरण होला कि !’

यद्यपि, डेंगु कुन वातावरणमा फैलिन्छ भन्ने अनुसन्धान हुन बाँकी रहेको शर्मा बताउँछन्। धरानमा भन्दा इटहरीसहितका तराई क्षेत्रमा बढी पानी फैलिने तर धरानमै प्रकोप बढ्दै जानुले यहाँ डेंगुको ‘इपिसेन्टर’ रहेको उनले सुनाए।

‘डेंगु नियन्त्रणमा नगरपालिकाको योजना छैन। हामीले यो योजना ल्यायौँ सबैले सहयोग गरौँ भन्ने नै भएन,’ नगरप्रमुख र जनप्रतिनिधबीचको समन्वय अभावले डेंगु फैलियो नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘नगरको योजना नआईकन समन्वय नभएको भन्नु आरोपमात्र हो। राजनीतिक दललाई पनि कति गाली गर्नु, उनीहरू दल भन्नुमात्रै छन्।’ धरानको कुनै परिवार डेंगु संक्रमितबिनाको नरहेको उनी बताउँछन्।

डेंगु नियन्त्रणका लागि व्यापक मात्रामा जनशक्ति प्रयोग गर्नुपर्ने शर्माको विश्लेषण छ। ‘बीपी प्रतिष्ठानमा तीन सय डाक्टर, सात सय नर्स, छ सय विद्यार्थी र एक सय बढी प्राविधिक छन्,’ शर्मा भन्छन्, ‘उनीहरूलाई फिल्डमा ल्याएर काममा लगाउनुपर्छ। म जनता भएर यो आह्वान गर्छु।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले कोभिड अस्पताललाई डेंगु उपचार केन्द्रमा रूपान्तरण गरी उपचार सुरु गरिएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएर उपचार भइरहेको बताए। धरान मुख्य केन्द्रविन्दु रहे पनि तराईसँगै पहाडी जिल्लाबाट पनि बिरामीको संख्या बढ्दो रहेको उनले बताए।

धरानसँगै इटहरी, सुनसरीको बराहक्षेत्र, धनकुटा, झापा, मोरङ र केही बिरामी भारतबाट पनि आएको डा. पोखरेलले बताए। ‘अधिकांश बिरामी धरानका छन्। त्योबाहेक पहाडी जिल्लाबाट र तराई जिल्लाबाट पनि बिरामी दैनिक थपिएका छन्,’ उनले भने, ‘इमर्जेन्सीमा अत्यधिक भीड बढ्न थालेको छ। व्यवस्थित बनाउने प्रयास भइरहेको छ।’
प्रतिष्ठानले ३० बेडबाट डेंगु अस्पताल सञ्चालनमा ल्याए पनि अझै बढाउनसक्ने क्षमता रहेको पोखरेल बताउँछन्। ‘हामीले डेंगु अस्पताल सञ्चालनमा ल्याईकन यहाँबाट मात्रै एक सय २० जनालाई उपचार गरेर घर पठाएका छौँ। यो २२ गतेसम्मको तथ्यांक हो,’ उनले भने।

उनका अनुसार डेंगुबाट मृत्यु भएका ११ जनामध्ये १० जना धरान क्षेत्रकै र एकजना भने उदयपुर कटारीका बिरामी थिए। ‘मृत्यु हुनेमा बढीजसो दीर्घरोगी रहे पनि बालबालिका, युवावस्थाका पनि छन्,’ डा. पोखरेल भन्छन्, ‘तीनजना ७५ वर्षभन्दा माथिका र एकजना १० वर्षको बच्चाको मृत्यु भएको छ। त्यससँगै २१-३० वर्षका युवाको पनि मृत्यु भएको छ।’ कोरोना महामारीजस्तै डेंगु संक्रमणले पनि सबै उमेरसहूका मानिसहरूलाई च्यापेको उनले सुनाए।

डेंगु नियन्त्रणका लागि धरान उपमहानगरले विभिन्न वडामा डेंगु परीक्षण र उपचार गरिरहेको भए पनि अझै पर्याप्त नभइसकेको उनको भनाइ छ। ‘लामखुट्टेको टोकाइबाट आफूलाई बचाउनुपर्‍यो। औषधि किनेर खानुभन्दा परामर्श गरेर मात्रै औषधि प्रयोग गर्न आवश्यक छ,’ उनले भने, ‘लामुट्टेका लार्भा नष्ट पार्नेजस्ता काम गर्दा पनि डेंगु नियन्त्रणमा सहज हुन्छ।’ डेंगु नियन्त्रणका लागि एकै व्यक्ति, समुदाय वा संस्थाको प्रयासले मात्रै नहुने र यसका लागि सबै मानिस, क्षेत्र, भूगोल र समुदायको साथ आवश्यक पर्ने उनी बताउँछन्।

उनका अनुसार बीपी प्रतिष्ठानमा जाँच गर्न आएका ७९ प्रतिशत बिरामीमा डेंगु पोजेटिभ देखिएको छ। सन् २०१९ मा डेंगी महामारी फैलँदा धरानमा डेंगुको सेरोटाइप २ बाट संक्रमित भएको पाइएको थियो। तर, यसपटक सेरोटाइप १ र ३ बढी जिम्मेवार देखिएको छ।

आपत्‌कालीन घोषणा गर्न माग

तीव्र रूपमा डेंगु महामारी फैलिएपछि धरानमा जनस्वास्थ्यको आपत्‌कालीन घोषणा गर्न सरकारसँग माग गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले धरान उपमहानगरपालिकालाई आपत्‌कालीन अवस्था घोषणा गर्न गृह मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई आग्रह गरेको हो।

डेंगु संक्रमणले सुनसरीका १२ वटै स्थानीय तहहरूमा बिरामी बाढ्दै जानुका साथै धरानमा मात्र १० जनाको मृत्यु भएकोले आपत्‌कालीन अवस्था घोषणा गर्न संघीय र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। डेंगु रोगको तीव्र संक्रमण फैलिइरहेको हुनाले धरानलाई घोषणाका लागि जिल्ला विपत् व्यवस्थापन समितिलाई स्वास्थ्य कार्यालय सुनसरीले साउन २१ गते आग्रह गरेको थियो।

उक्त आग्रहलाई सोही दिन बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट समेत निर्णय भएकोले धरानलाई स्वास्थ्य आपत्‌कालीन घोषणा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। ‘यसअघि पनि पटक-पटक धरानमा डेंगु संक्रमणको विषयमा छलफल गरेका थियौं,’ पाण्डेले भनिन्, ‘महामारी नियन्त्रणबाहिर गएसँगै धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागू गर्न सिफारिस गरेका छौं।’

जनस्वास्थ्यको आपत्‌कालीन अवस्था घोषणका लागि गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गरिएको उनले बताइन्।

प्रकाशित: २८ साउन २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =