भनाइ नै छ- रोम एक दिनमा बनेको होइन। हाम्रो मुलुक पनि एक दिनमा बन्दैन। एक वर्षमा पनि बन्दैन। त्यसका लागि समय लाग्छ। सकारात्मक सोचका साथ सही दिशामा अघि बढ्नुपर्छ, अटुट ऊर्जा र अथक सक्रियतासाथ निरन्तर काम गर्नुपर्छ। त्यसपछि समृद्धिको सपना अवश्य साकार हुन्छ। प्रत्येक नेपालीले कम्तीमा वर्षमा १० दिन विदेश घुम्न जान सक्ने अर्थतन्त्र बनाउनु नै हाम्रो पुस्ताका लागि चुनौती र अवसर दुवै हो। गफ मात्र गरेर मुलुक बन्दैन। काम नगरीकन मुलुक बन्दैन।
संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको नाताले नेपालले अन्य १९३ देशहरूले जस्तै सन् २०३० सम्ममा १७ वटा लक्ष्य हासिल गरी गरिबी निवारण गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय योजना आयोगले कागजी योजनासहित सन् २०१६ को जनवरी १ देखि नै ती लक्ष्यहरूमा काम गर्ने बाचा गरेको छ। तर हामीले ती लक्ष्य हासिल गर्न गर्नैपर्ने केके काम गर्यौँ भनेर हेर्यौँ भने हामी जहाँको तहीँ छौँ। अर्थात् गफ मात्र गरेका छौँ, काम गरेका छैनौँ। युवा पुस्तालाई नै विश्वास दिलाउन नसकेको लक्ष्य कसरी हासिल हुन सक्छ र? आधुनिक पूर्वाधार, मानव संसाधनको उच्चतम उपयोग, उत्पादकत्व तथा उत्पादनमा वृद्धि, सुरक्षित एवं सभ्य समाज, सन्तुलित वातावरण, सुशासन, उन्नत लोकतन्त्र, राष्ट्रिय एकता, सुरक्षा र आत्मसम्मान जस्ता भारी शब्द र किताबी लक्ष्यले भरिएको कागजी घोडामात्र दौडाएर देश कसरी बन्छ ?
देशभर गाउँघर खाली हुँदैछन्। वृद्धवृद्धा, अशक्त, बालबालिका, महिला र बाँझो खेतबारीमा मात्रै सीमित हुँदैछन्। दस कक्षा पूरा गरेपछि विदेश जाने सपना बनाएर हुर्कँदो छ नयाँ पुस्ता। विद्यालय शिक्षा पूरा गरेका विद्यार्थी आफ्ना साथीको कमिजमा खाडीमा भेटौँला विदेशयात्राको शुभकामना! कोरियाका लागि गुड लक!! जस्ता सन्देशहरू लेखेर बिदा हुँदैछन्। मुलुकको भविष्यप्रति उनीहरूलाई विश्वासै छैन।
यस्ता कुराहरूले पनि हामीलाई संवेदनशील नबनाएकै हो त? कि गणतन्त्रका कार्यकारी, उच्चपदस्थ, संवैधानिक प्रमुखहरूका युवराजको अस्वाभाविक हैसियत र चुरीफुरीले समाजमा विकृति विसंगतिका शृंखलाहरूको अभेद्य जालो फैलिएको हो कि? हिजोका राजा-महाराजाहरू जस्तै दम्भी, अहंकारी, लुटेरा, भ्रष्टाचारीहरूका संरक्षक त भइरहेका छैनन् गणतन्त्रका राजनेताहरू ? बाँकी सबै निरीह भएर बाँच्नुपर्ने हो कि? समाज रूपान्तरण र मुलुकको समृद्धिको सपना देख्नै नसक्ने अवस्थामा त पुगेका छैनौँ हामी? सबैले गम्भीर भएर आत्मनिरीक्षण गर्नुपर्ने बेला भएको छ।
म नकारात्मक सोचमा अल्झिने मानिस होइन। मैले सधैँ उज्यालो देख्ने गरेको छु। मेरो सोच विगतमा पनि सकारात्मक थियो। अहिले भने उज्यालो पक्ष मात्रै हेर्ने गरेको छु। मेरो पहिलो पुस्तक ‘बत्तीमुनि उज्यालो” मा मैले सकारात्मक आनीबानी, व्यवहारको बारेमा विभिन्न उदाहरणसहित प्रकाश पारेको छु। मैले विगत तीस वर्षमा देशमा भएको विकासलाई धेरै नजिकबाट हेरेको छु। ताप्लेजुङ र दार्चुलाबाहेक देशका सबै जिल्ला पुगेको छु। गाउँगाउँ, कर्णालीका अनकण्टार स्थानसम्म घुमेको छु। यस अवधिमा भएको परिवर्तन र उथलपुथल अवलोकन गरेको छु। सुनेको छु। सुँघेको छु। छामेको छु। स्पर्श गरेको छु। देखेको छु। हेरेको छु। अनुभव गरेको छु। ज्ञानेन्द्रियले परिवर्तनको अनुभूति गरेको छु। यति मात्र नभएर अमेरिका, युरोप, अफ्रिका, मलेसिया, कतार, कोरिया, सिंगापुर र चीनले हासिल गरेको समृद्धिसमेत त्यहीँ पुगेर अवलोकन गरेको छु।
म आफैँ एक ग्रामीण मध्यमवर्गीय किसान परिवारको सन्तान। ग्रामीण परिवेशमा नै विद्यालयस्तरको शिक्षा हासिल गरेको व्यक्ति हुँ। निरंकुश पञ्चायतकालमा गाउँको विद्यालयमा पढाइसँगसँगै प्रजातन्त्रको र गणतन्त्रको महत्त्व पनि पढियो। राजधानीमा क्याम्पस पढ्दै गर्दा २०४६ को प्रजातन्त्र पुनःस्थापनाको चाक्सीबारी भेलादेखि जनआन्दोलनसम्मलाई नजिकबाट हेरियो। यस्ता आन्दोलनका कतिपय मोडमा सक्रिय सहभागी भएको युवा तीस वर्ष नपुग्दैदेखि सधैँ सुटेड-बुटेड भएर आफ्नै निजी कारमा डुल्न सक्ने भएको छु। राजधानीमा आफ्नै सुविधासम्पन्न निवासमा सपरिवार बसेको छु। छोराछोरीलाई उनीहरूको रुचिअनुसारको विद्यालयमा अध्ययन गर्ने अवसर जुटाएको छु। पचास वर्ष पुग्दै गर्दा वर्षमा कम्तीमा एक हप्ता सपरिवार अन्तर्राष्ट्रिय यात्रासमेत गर्न सक्ने हैसियतमा पुगेको छु। यो प्रगति मेरो र श्रीमतीको अथक परिश्रमले, सरलपना, मिहिनेत, अनुशासन, वर्गत र बुँताले मात्रै सम्भव भएको होइन परिवार, इष्टमित्र, साथीभाइ, बन्धुबान्धव, सबैको सद्भाव, साथ र सहयोगले सम्भव भएको हो। के यो लर्तरो विकास हो र?
आधुनिक नेपालको विकास २०४६ सालको परिवर्तनपछि नेपालले अपनाएको खुला, उदार, प्रतिस्पर्धात्मक बजार अर्थनीतिका कारण सम्भव भएको हो। यो कुरालाई स्वीकार नगर्दासम्म समाज रूपान्तरणको गतिलाई राम्ररी छाम्न सकिँदैन। नाप्न सकिँदैन। वस्तुपरक, तथ्यपरक र सत्यपरक बन्न सकिँदैन। यो जुनसुकै राजनीतिक आस्था बोकेकाहरूले पनि स्वीकार गर्नुपर्ने वास्तविकता हो। विकाससँगसँगै विशृंखलता, विसंगति, विकृति पनि आएका छन्। केही संरचनागत कमजोरी र केही नीतिगत अलमलले गर्दा। नियामक निकायहरूको कमजोरी र राज्यस्तरबाट हुनुपर्ने अनुगमन तथा नियन्त्रणको शून्यप्राय अवस्थाका कारण सीमित व्यक्तिहरूले अधिकतम नाजायज लाभ लिएका छन्। त्यति हुँदाहुँदै पनि समाज गतिशील भएको छ समाज रूपान्तरणको गति अगाडि बढेको छ।
राजधानीमा मात्रै होइन मुलुकभर नै यो तीस वर्षमा धेरै विकास भएको छ। सडक, मोटर, हवाई यातायात, बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट, मोबाइल, होटल, रेस्टुरेन्ट, पसल, टेलिभिजन, सञ्चार, बैंक, बिमा, अस्पताल, विद्यालय, सहरीकरण, सुविधासम्पन्न आवास र अन्य सेवासुविधाको अवस्थामा कल्पनातीत प्रगति भएको छ। मान्छेको जीवनस्तरमा पनि व्यापक परिवर्तन आएको छ। रुकुम-रोल्पाका अनकण्टार दुर्गम पहाडमा हुर्केको विपन्न परिवारको पुस्ता खाडी, मलेसिया, कोरिया मात्रै होइन अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान पनि पुगेको छ। संसारभर व्यापार, व्यवसाय, रोजगारी गरेको छ। प्रशस्त पैतृक सम्पत्ति भएकामध्ये कतिपयले नेपालमा नै व्यापार-व्यवसाय गरेका छन्। पैतृक सम्पत्ति प्रशस्त नहुनेहरू भने खाडी, मलेसिया, अस्ट्रेलिया, कोरिया र अन्य मुलुक गएका छन्। वैदेशिक रोजगारी र रेमिट्यान्सले जनजीवन निकै हदसम्म सहज बनाएको मात्र नभई मुलुकको अर्थतन्त्रमा पनि गहकिलो योगदान गरेको छ।
यी कुरा मात्र हेर्दा लाग्न सक्छ, देश राम्रैसँग अघि बढिरहेको छ। तर अधिकांश मानिसमा खास गरी नयाँ पुस्तामा देश र यसको भविष्यप्रतिको आशा मर्दै गएको छ, जो सबैभन्दा ठूलो चिन्ताको विषय हो। नेपालमा जन्मेका हुर्केका र प्लस टु वा स्नातकसम्मको अध्ययन पूरा गरेका अधिकांश युवा जनशक्तिको सपना नै विदेश जाने रहेको छ। अध्ययनको नाममा विदेश जानेहरूले पनि सके अध्ययन गर्ने, नसके उतै रोजगारी खोज्ने, उद्योग, व्यवसाय र घरजम गर्ने गरेको पाइएको छ। उनीहरू मात्र होइन, जनसंख्याको ठूलो हिस्सा विदेश जाने र उतै बस्ने सपना बनाउँछन्। हामी सर्वेक्षण गरौँ, सहरी क्षेत्रमा घर सम्पत्ति, उद्योग-व्यवसाय सबै भएका अत्यधिकांश मानिसका सबैजसो सन्तान विदेशमा नै छन्। सन्तान मात्र किन, मौका पाए उनीहरू आफैँ पनि विदेश गएर बस्न लालायित छन्। समृद्धिको यात्रामा आजको मुख्य चुनौती भनेकै यही हो।
मेरा दुई सन्तान छन् । पहिलो सिभिल इन्जिनीयरिङको अन्तिम अर्थात् चौथो वर्षमा अध्ययन गर्दैछ भने दोस्रो एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छ । उनीहरू स्नातकपछि विदेश जाने भन्न थाले भने मैले के भन्ने? यसको जवाफ खोजिरहेको छु यही प्रश्नको जवाफ खोज्ने क्रममा मैले यी विषयहरू उठान गरेको हुँ। समृद्धिको यात्राका सपना देखेको हुँ एक सय एक आधारहरू तयार गरेको हुँ।
म चाहन्छु, मेरा छोराछोरीले संसारको उत्कृष्ट शैक्षिक संस्थामा अध्ययन गरून् तर व्यावसायिक सेवा, व्यवसाय, उद्योग जेजस्तो काम गर्ने हुन् त्योचाहिँ नेपालमा गरून्। आफ्नो क्षमता, सीप, ज्ञान र सपनालाई नेपाल र नेपालीको श्रीवृद्धिमा हित अभिवृद्धि गर्नमा समर्पित गरून्। वर्षमा कम्तीमा दुईदेखि तीन हप्ता युरोप-अमेरिका वा अन्य मुलुकको भ्रमण गरून्। होली डे मनाऊन्। विश्व भ्रमण गरून्।
हामीले विश्व इतिहास पढेका छौँ। संसारका सबै देश सोही देशका नागरिकले समृद्ध बनाएका छन्। हामीले पनि हाम्रो देशको समृद्धि आफैँले ल्याउने हो। मेरो चाहना मेरो जीवनकालमा नै देशको समृद्धि देख्ने रहेको छ। त्यसका लागि मेरो छोराछोरी पुस्ताले यही मुलुकका लागि काम गरेमा मात्रै सम्भव छ। हाम्रो देशमा रहेको सामाजिक कुरीति, कुसंस्कार, लैंगिक विभेद, भौगोलिक विभेद, सामाजिक विभेद, आर्थिक एवं वर्गीय विभेद, जातीय एवं सांस्कृतिक विभेदहरूको अन्त्य गरी समृद्धि हासिल गर्न कम्तीमा अबको दुई पुस्ता (छोराछोरी पुस्ता र नातिनातिना पुस्ता) अनवरत रूपमा लागिपर्नुपर्छ। यसका लागि मेरा छोराछोरी मात्र होइन आमनेपालीका छोराछोरीले उच्चशिक्षा हासिल गरेपछि स्वदेशमा नै काम गर्ने वातावरण हामीले बनाउनुपर्छ। के भयो भने उनीहरू यही देशमा बसेर जीवन बिताउँछन्? सुखी हुन त विदेशमा पनि सक्छन्। तर खुसी हुन भने आफ्नो मुलुकमा नै हुनुपर्छ।
तर भर्खरै भनेजस्तै आजको सर्वसम्पन्न, समाजमा प्रतिष्ठित, उच्च ओहोदाधारी पुस्ताले आफ्ना सन्तानमा यो देशको भविष्यप्रति विश्वास जगाउन सकेको छैन। तिनको मात्र के कुरा, अपवादलाई छोडेर आमनागरिकमा नै यस्तो विश्वास घट्दै र गुम्दै गएको छ। यो नैराश्य, यो अविश्वास देशका लागि कुनै पनि दृष्टिले शुभसंकेत होइन। प्रश्न उठ्छ, यस्तो अवस्था आउनुमा दोष कसको? कसका कारण आम जनतामा यो नैराश्य छाउँदै गएको हो? प्रश्नको तीर सोझै उनीहरूतिर सोझिन्छ, जसले यस अवधिमा राज्यसत्तामा अकण्टक हालीमुहाली गर्दै आएका छन्।
२०४६ सालपछि राज्यसत्तामा हालीमुहाली गर्न पाएकाहरूले पनि विगतका शासकहरूले झैँ आफन्तबाहेक अरू जनतालाई भुसुना सरी ठाने। भेडाबाख्रा जति पनि गनेनन्। समाजमा राजकीय र शासकीय सत्तामा बसेकाहरू, उच्च ओहोदा, मानपदवी र पद प्राप्त गर्नेहरू, असीमित अधिकार प्राप्त गर्नेहरूको मात्रै अस्तित्व भयो। पैसा भएका वा जुनसुकै स्रोतबाट पैसा कमाएकाहरूको मात्रै इज्जत प्रतिष्ठा हुन थाल्यो। समाजमा दलाल, बिचौलिया, माफिया, व्यापारी, डन, अपराधी, ठेकेदार र नेटवर्कवालाहरूको मात्रै हालीमुहाली भयो। सिपाहीले लिएको घूस आईजीदेखि गृह प्रशासन र मन्त्रीसम्म पुग्ने। न्यायालयमा वकिलहरूले नै बिचौलियाको काम गर्ने। कोही कसैलाई विश्वासै गर्न नसकिने वातावरण बन्यो। प्रतिष्ठित उच्चपदस्थ व्यक्तिहरू पनि युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियाको पीआर लिने ध्याउन्नमा लागे। सके आफैँ उतै सेटल हुने नसके आफ्ना छोराछोरीलाई उतै पठाउने अभियानमा लागे।
नैतिकता पूर्ण रूपमा स्खलित भयो। नेताका परिवारका सदस्यहरू नै उद्यमी व्यवसायीका सबै किसिमका आम्दानीमा आँखा गाड्ने भए; ठेक्कापट्टा, नियुक्ति, सरुवाबढुवामा मोलमोलाहिजा गर्ने भए। नेताका श्रीमती, पुत्र, पीए, आसेपासेहरूले नै मुलुकमा हालीमुहाली गरे। सांसद, जीएम, सीईओ, अध्यक्ष राजदूतजस्ता उच्च पदहरू पनि खुल्लमखुला यति करोडमा बिक्री भएको भन्ने सार्वजनिक हुन थाल्यो। समानुपातिक व्यवस्था नेताहरूका श्रीमती, पीए गर्लफ्रेन्ड, आफन्त, स्पोन्सरवाला र भूमिगत व्यापारिक साझेदारहरूको पोल्टामा पुग्यो। सामाजिक मूल्य र मान्यता, नैतिकता र सदाचारको मृत्यु भइसकेको भयो। राज्य फेलियर स्टेट घोषणा मात्र नभएको तर भित्रभित्रै त्यतै गएको आभास भयो।
पंक्तिकारले कैयौँ पटक देशका कार्यकारी र नीतिनिर्माताहरूलाई भेटेर अनुनयविनय गरेको हो- ‘कम्तीमा प्रत्येक नेपालीलाई बैंक खातामार्फत जोडौँ। प्रत्येक नेपालीलाई प्यान अर्थात् स्थायी लेखा नम्बर उपलब्ध गराऊँ। प्रत्येक व्यक्तिले तिरेको कर मोबाइलमा उसको स्थायी लेखा नम्बरमा देखियोस्।’ भन्नु भनियो। आलेखहरू पनि लेखियो। निरन्तर भनिरहियो, लेखिरहियो तर कसैको कानमा बतास लागेन। सुनेजस्तो गरिदिने, तर केही नगर्ने बानी पो रहेछ!
उनीहरूलाई भेट्दा लाग्दथ्यो, उनीहरूले नजानेको कुरा केही छैन। सबै किसिमका योग्यता, क्षमता, दक्षता, भिजन भएका जनशक्तिहरू उनीहरूकै वरिपरि छन्। कोही कसैको केही सुझावसल्लाहको उनीहरूलाई कुनै दरकार छैन। निहित स्वार्थमा रमाउने भजनमण्डलीहरूको घेराबाहिर निस्कनै चाहँदो रहेनछ राजनीतिक नेतृत्व।
यो पुस्तक तयार गर्दैगर्दा २०८० को दशकको सुरुआत सँगसँगै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुऱ्याउने कार्यमा तत्कालीन उपप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, सुरक्षा सल्लाहकार लगायत राज्यको राजनीतिक र प्रशासनिक नेतृत्व संलग्न रहेको घटना सार्वजनिक भएको छ। काण्ड भ्रष्टाचार मात्रै होइन, मानव बेचबिखन तथा तस्करी मात्रै पनि होइन। यो त राज्यद्रोह हो, मानवताविरुद्धको अपराध र देश तथा जनताप्रतिको विश्वासघात हो। अक्षम्य फौजदारी अपराध हो। यस्ता घटना अनेक छन् जसले नेपाली जनताको, राज्यको र विश्वभर छरिएर रहेका नेपालीको स्वाभिमानमा आँच आएको छ। शिर नुहेको छ। देशको प्रतिष्ठा गिरेको छ। यसले हामी कुन तहमा छौँ भन्ने देखाएको छ। समृद्ध नेपालको सपना देख्नेहरूका लागि यो ठूलो अभिसाप नै हो।
अपराधी, भ्रष्टाचारीहरू र तिनको संरक्षण गर्ने राजनीतिक, प्रशासनिक नेतृत्वप्रति जनताको घृणा जाग्नुपर्छ। जनताले विकल्प खोज्नैपर्छ। यस क्रममा पछिल्लो निर्वाचनमार्फत सांकेतिक रूपमा जनताले नयाँ पुस्तालाई अनुमोदन गर्न थालेका उदाहरण देखिन थालेको छ। थोरै भए पनि, धरानमा मेयर हर्क साङपाङ, काठमाडौँमा मेयर बालेन शाह, संसद्मा रवि र स्वर्णिमहरूलाई जनताले अनुमोदन गरेका छन्। यो परम्परागत रूपमा नेतृत्वमा रहेकाहरूलाई जनताको शिक्षा हो। सक्छौ भने सच्चिनू, नत्र सक्किनू भन्ने चेतावनी पनि हो। यो परिवर्तनको एउटा लहर हो। आशा गरौँ, यसले स्वाभाविक रूपमा अन्य लहरहरू जन्माउँदै जानेछ।
‘उज्यालो मृत्यु’ पछि घरमा स्वास्थ्यलाभ गरेर बसिरहेको समयमा विगतमा पिताजीले भनेका विभिन्न कुराहरू स्मरण भैरहे। उहाँले भनेका कुराहरूमा पाप, धर्म र समृद्धिका कुराहरू मेरो मानसपटलमा बारम्बार आइरहे। छल गर्ने, झुक्याउने वा ठगी गर्ने; चोरी गर्ने, डकैती गर्ने वा लुट्ने; हत्या, हिंसा, काटमार गर्ने; व्यभिचार, दुराचार गर्ने; बेइमानी, भ्रष्टाचार गर्ने कर्मलाई पाँच उग्र पापकर्म भन्नुहुन्थ्यो पिताजी। त्यसैगरी बाटो बनाउने, धारा, कुवा वा खानेपानीको व्यवस्था गर्ने, फलफूल तथा बगैंचा लगाउने, आश्रम बनाउने काम र बालक, वृद्ध, असहाय, अपांग र निमुखाहरूको संरक्षण गर्नु नै धर्म हो भन्ने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो- ‘आर्थिक समृद्धि मात्रै समृद्धि होइन। सम्पन्नता र समृद्धिका थुप्रै आयाम हुन्छन्। बौद्धिक समृद्धि। नैतिक समृद्धि। आध्यात्मिक समृद्धि। सांस्कृतिक समृद्धि। औद्योगिक समृद्धि। नागरिकहरूको कर्तव्य एवं जिम्मेवारीसहितको समृद्धि। तब मात्र सम्भब हुन्छ समग्र मुलुकको समृद्धि।’
सचेत एवं जिम्मेवार नागरिकको दायित्वबोध गरेर समृद्धिका यी सबै आयाममा हामीले बहस र छलफल सुरु गर्नुपर्छ। भ्रष्टीकरण भएको समाजलाई नयाँ सांस्कृतिक जागरण सहित उज्यालो देखाउँदै सकारात्मक चेतसहितको क्रियाशीलता आफैँमा कठिन यात्रा हो। यो यात्रा एक्लैको होइन। सिंगो समाजको यात्रा हो। व्यक्तिको, परिवारको, समाजको र सिंगो राष्ट्रको यात्रा हो।
समृद्धिको यात्रामा सबै नेपालीलाई आफ्नै मुलुकमा गरिखाने वातावरण बनाउनुपर्छ। आठ घण्टा मात्रै होइन अठार घण्टा काम गर्ने वातावरण बनाउनुपर्छ। सबैका लागि रोजगारीका अवसरहरू सृजना गर्नुपर्छ। विदेशमा रहेका नेपालीहरू मात्रै होइन विदेशी नागरिकहरू पनि रोजगारीका लागि नेपाल आउने वातावरण निर्माण गर्नुपर्छ।
बालबालिकालाई एउटै गुणस्तरको शिक्षा दिनुपर्छ। कुनै बालक ताप्लेजुङको गरिब किसान परिवारमा जन्मेको होस् अथवा राजधानीको धनीमानी घराना परिवारमा जन्मेको होस्, नेपाली बालबालिकाका रूपमा उसले पाउने विद्यालय शिक्षा एउटै गुणस्तरको हुनुपर्छ। राष्ट्रिय उत्पादनमा महिलाको योगदान अतुलनीय छ। महिला र युवाहरूलाई उद्यमी बनाउन सक्नुपर्छ। सम्पूर्ण जनतालाई समृद्धिको यात्रामा सहभागी बनाउने कार्यक्रमसाथ अघि बढ्नुपर्छ।
निजामती, सेना, प्रहरी, शिक्षक, प्राध्यापक, न्यायालय र सबै क्षेत्रका निवृत्त कर्मचारी एवं पदाधिकारीहरूलाई राज्यले भुक्तानी गर्ने पेन्सन सुविधाको रकम बढ्दो छ। वार्षिक सामाजिक सुरक्षाको रकम नै दुई खर्बको हाराहारीमा पुग्दैछ। यसलाई परिमार्जन गर्दै लैजानुपर्छ। योगदानमा आधारित बनाएमा मात्रै दिगो हुन सक्छ सामाजिक सुरक्षाको खर्च।
आयात प्रतिस्थापन त्यत्तिकै चुनौतीपूर्ण छ। व्यापार घाटा बढ्दो छ। व्यापार घाटा कम गर्ने, आत्मनिर्भर बन्ने र निर्यातयोग्य उत्पादन गर्नलाई सामूहिक तथा करार खेतीको अवधारणा सहित प्रत्येक नागरिकलाई कहीं न कहीं उत्पादनमा जोड्नुपर्छ।
प्रत्येक पालिकाको एक प्रमुख उत्पादनलाई राष्ट्रिय पहिचान दिनुपर्छ। यसका लागि पालिका बजार उपयुक्त प्लेटफार्म हुन सक्छ। यो यस्तो बजार हो जसले समग्र उपभोक्ता, बजार र देशको समेत माग र आपूर्तिलाई तुरुन्तै सम्बोधन गर्न सक्छ। उत्पादन वृद्धि गर्ने कुरा प्रत्येक सरकारका नीति तथा कार्यक्रममा आए तर उत्पादन वृद्धि र रोजगारीका अवसर घाममा सुकाइए। कृषि क्षेत्रमा उद्यमशीलता, बाँझो जमिन हराभरा, कृषि उत्पादनमा राष्ट्रिय जागरण ल्याउने काम नै भएनन्।
प्राकृतिक सम्पदा, स्रोत साधन, जडीबुटी, चुनढुंगा, खनिज पदार्थ र जलस्रोत नेपालले युगसम्म लाभ लिन सक्ने क्षेत्रहरू हुन्। हिमाल हाम्रो। सगरमाथा हाम्रो। भौगोलिक विविधता हाम्रो। पहाड, नदी, ताल, तलैया हाम्रो। सांस्कृतिक एवं धार्मिक सम्पदा लुम्बिनी, बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ हाम्रो। हामीसँग प्रकृति र पुर्खाले जोगाइदिएको जमिन, उत्खनन नगरिएका खनिज हन्। पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मको महाभारत शृंखलामा भएको चुनढुंगाको प्रयोगबाट हामीले समृद्धि हासिल गर्न सक्छौँ। पहाड़ी क्षेत्रमा युरेनियमजस्ता बहुमूल्य खनिजको उत्खनन गर्न सक्छौँ। जलस्रोत र जलविद्युतलाई हाम्रो देशको गेमचेन्जर मानिएको छ तर त्यसैका कैयौँ आयोजना बीचमै अड्किएका छन्। पर्यटन क्षेत्र त्यस्तै गेमचेन्जर हो, जसमा अथाह सम्भावना छ तर २५ प्रतिशत पनि काम भएको छैन। सुनको कचौरा बोकेर भीख माग्ने जस्ता भएका छौँ हामी।
बारम्बार दिमाग घचघच्याइरहने कुरा नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध पनि हो, जसको बेहाल छ। हाम्रो असंलग्न परराष्ट्र नीति, भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र सुरक्षाले नै सम्भव हुन्छ दिगो समृद्धि। कृषि क्षेत्रको विकास, प्राकृतिक संसाधनको पूर्ण उपयोग, सबैलाई रोजगारीका अवसर र न्याय, भ्रष्टाचार र कुशासनको समाप्ति, अनि सबैभन्दा मूल कुरो नयाँ पुस्तामा देशप्रतिको विश्वास र उद्यमशीलता जगाएपछि मात्र सम्भव छ वास्तविक समृद्धि। सबैले गर्व गर्ने सभ्यतासहितको समृद्धि। सधैँको गुनासो, असन्तुष्टि, आलोचना र नकारात्मकताले प्राप्त हुँदैन समृद्धि।
यस पुस्तकमा उठाइएका कुरा सम्भावनाको पोखरीबाट उठाइएको एक अंजुली पानी मात्रै हो। अरू अनन्त सम्भावना बाँकी नै छन्। कम्तीमा यी काम गरौँ। यी काम गर्न सकिन्छ। आफ्नै स्रोतसाधनले गर्न सकिन्छ। हामी सक्छौँ। यी र यिनका अतिरिक्त थुप्रै काम गर्नुपर्छ। तब मात्रै प्राप्त गर्न सम्भव हुन्छ समृद्धिको गन्तव्य।
यो पुस्तक लेख्ने क्रममा मैले मेरा शुभचिन्तकहरूसँग छलफल गरेको छु र आफ्ना विचारलाई धारिलो बनाएको छु। गहन सल्लाह सुझावका साथ मलाई पुस्तक लेख्न हौसला दिनुहुने कृष्णमुरारी भण्डारी, ज्योति अधिकारी, बुद्धलाल श्रेष्ठ, विमल तिमिल्सिना, पदमराज पौडेल, बद्री महत, महेन्द्रबहादुर पाण्डे, प्रतिमा श्रेष्ठ, दिवाकर पौडेल, विमल ढकाल, श्रीराम सापकोटा, उमेश पुडासैनी, कृष्णबहादुर अधिकारी, होमबहादुर खड्का, विवेकशमशेर राणा, डा. धनपति न्यौपाने, चेतनाथ कँडेल, डा. ओमप्रकाश निरौला, डा. विन्दा पाण्डे, आशा गुरुङ, डा. ध्रुव आचार्य, रमेश पाण्डे, शालिकराम खनाल, देवेन्द्रप्रताप शाह, राजुनाथ खनाललगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पुस्तक सम्पादन गरी पठनयोग्य बनाइदिनुहुने भाषाविद् शरच्चन्द्र वस्तीप्रति हार्दिक आभार व्यक्त गर्दछु।
पुस्तक प्रकाशन गर्ने दिव्या देउराली प्रकाशन प्रा.लि. लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पुस्तक डिजाइन गर्ने नवराज दाहाल र आवरण तस्बिरका लागि सुनिल रञ्जित धन्यवादका पात्र छन्। आदरणीय पाठकहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको उत्सुकतापूर्ण प्रतीक्षा रहनेछ। [पुडासैनीको हालै प्रकाशित ‘समृद्धिको हुटहुटी’ पुस्तकको भूमिका]