‘समृद्धिको हुटहुटी’मा सकारात्मक ऊर्जाको भण्डार

सुस्मिता बजगाईं २६ साउन २०८० २०:४५
152
SHARES
‘समृद्धिको हुटहुटी’मा सकारात्मक ऊर्जाको भण्डार

काठमाडौँ- नेपाल बैंक लिमिटेडका बैंकर अश्विनकुमार पुडासैनीको ‘समृद्धिको हुटहुटी’ कृति विमोचन गरिएको छ। बागबजारस्थित एक होटलमा शुक्रबार कार्यक्रम गर्दै पुस्तकको विमोचन गरिएको हो। ‘सुशासन र समृद्धिका एक सय एक पाइला’ उपशीर्षक रहेको पुस्तकमा देशमा सुशासन र समृद्धिका लागि पुडासैनीले देखेको बाटोको चर्चा गरिएको छ।

पछिल्लो समय प्रायः नेपाली विदेशिने गरेका छन्। उनीहरूलाई नेपालमै कसरी राख्न सकिन्छ भन्ने सकारात्मक पक्ष, रूपान्तरणका कुरा, सुरक्षा निकायको पुनःसंरचना गर्न सकिनेजस्ता विषयहरू पुस्तकमा उल्लेख छ।

कार्यक्रममा समीक्षकहरूले यो पुस्तक परिवार र समाजका लागि मात्र नभएर समाजका हरेक पक्षलाई उपयोगी रहेको बताएका छन्। पुस्तकबारे समीक्षा गर्दै डा. ध्रुव आचार्यले आम मानिसलाई आफ्नो पुस्तकमार्फत सकारात्मक ऊर्जा दिने काम गरेकोमा लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरे।

देशमा सुशासन र समृद्धिको नारा लगाउनेलाई सुशासनबारे नै जानकारी नहुने उनको भनाइ छ। उनी भन्छन्, ‘नेपालमा सुशासन र समृद्धिको नारामा लगाउनेलाई नै यसको परिभाषा थाहा हुँदैन। यो पुस्तकले यसको परिभाषालाई पनि समेटेको छ।’

जीवनको अन्तिम क्षणलाई पुस्तकमा उतारेको उनले बताए। जीवनको अन्तिम क्षणमा आफ्नो भोगाइबारे पुस्तक लेखेर अरूलाई ज्ञान बाँड्नुु लेखकको सकारात्मक पक्ष रहेको आचार्यले व्याख्या गरे।

उनका अनुसार पुस्तकमा बाल्यकालदेखि मृत्युपर्यन्तसम्मको कुरा उल्लेख गरिएको छ। बालापनमा खेल्न पाउनुपर्ने र दाहसंस्कार कार्य राज्यले निःशुल्क गरिदेओस् भन्ने लेखकको अपेक्षा पुस्तकमा समेटिएको छ।

समीक्षक कृष्ण हाछेथुले लेखकको सिर्जनात्मकता शैलीबारे व्याख्या गरे। उनको पहिलो कृति ‘बत्ती मुनिको उज्यालो’ पुस्तकले नै लेखकले कुनै पूर्वाग्रहबिना सिंगो नेपालको राजनीतिक परिस्थिति पुस्तकमा समेटेको उल्लेख गरे।

पुस्तकमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षालगायत सबै राजनीतिक दलहरूको चुनावी घोषणापत्र सरकारको वार्षिक कार्यपत्रमा मात्र सीमित रहने कुरा पनि उल्लेख छ। मुलुक र समाजको परिस्थितिअनुसार देशलाई अब लोककल्याणकारी राज्यतर्फ लानुपर्ने उनको सुझाव थियो।

समीक्षक ज्योति अधिकारीले लेखक स्वयंले गरेको अनुभूति पुस्तकमा समेटिएको बताए। ‘मृत्युदेखि डराउन नहुने सकारात्मक कुरा पुस्तकमा छ,’ उनले भने। मानिसले हरेक पाइलामा समृद्धिको सोचिरहेको मात्र हुने तर काम नगर्ने प्रवृत्तिको उनले चर्चा गरे।

बैँकर कृष्ण अधिकारीले मृत्युको मुखबाट बाँचेका पुडासैनीको पुस्तक प्रकाशित हुनु गर्वको कुरा भएको बताए। ‘पुस्तकमार्फत लेखकले समाज र राष्ट्रलाई केही दिने आँट गरेका छन्,’ उनले भने। गत वर्ष पुडासैनीलाई हृदयाघात भएको थियो।

पुस्तक प्रकाशनबारे शुभकामना दिँदै पुस्तकका सम्पादक शरच्चन्द्र वस्तीले आम मानिसलाई सकारात्मक ऊर्जा दिने व्यक्तिको रूपमा लेखकलाई चिनाए। ‘यो पुस्तक लेखककै मनको हुटहुटी हो,’ उनले भने।

पुस्तकको विमोचन नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.अरुण मास्के, पर्यटन व्यवसायी ज्योति अधिकारी, कृष्ण अधिकारीले संयुक्त रूपमा गरे। पुस्तक दिव्य देउराली प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो।

प्रकाशित: २६ साउन २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =