खानेपानी महसुल घटेपछि रामपुर नगरपालिकाका उपभोक्तालाई राहत

हिमाल प्रेस १७ साउन २०८० ८:०७
4
SHARES
खानेपानी महसुल घटेपछि रामपुर नगरपालिकाका उपभोक्तालाई राहत फाइल तस्बिर।

पाल्पा– पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ।

उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ।

पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रूपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने उपभोक्तालाई ध्यानमा राखेर बर्सेनि महसुल दर घटाउँदै आएको छ।

८ युनिटसम्म न्यूनतम दर १ सय ७५ यथावत् राखिएको छ। ९ देखि २० युनिटसम्म (न्यूनतम रकम एक सय ७५ सहित) प्रतियुनिट ४० घटाएर ३० बनाइएको छ।

२१ युनिटभन्दा माथि (न्यूनतम रकम एक सय ७५ सहित) प्रतियुनिट ६३ घटाएर ५३ महसुल कायम गरिएको संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठले जानकारी दिए।

३ हजार २ सय धारा जडान गरी घर-घरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ। शाल ३ हजार ९ सय २३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन्।

अहिले ३ हजार ४ सय ९३ धारामा नियमित पानी वितरण भइरहेको छ। ४ सय ३० धारा जडान गर्न बाँकी छ। ७ हजार धारा जडान गर्न करिब ५० करोड खर्च हुने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले बताए।

रामपुर-४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ। यस आयोजनाबाट हाल दैनिक बिहान-साँझ ३/३ घण्टा खानेपानी वितरण भइरहेको छ। खानेपानी वितरणका लागि एक सय ८० किलोमिटरभन्दा बढी पाइप जडान र ५ किलोमिटर फलामजडित पाइप विस्तार गरिएको छ।

रामपुर-५ स्थित राम्चे सामुदायिक वनमा साढे ४ लाख लिटरका २ वटा (९ लाख लिटर) ट्यांकीबाट पानी वितरण भइरहेको छ। रामपुर-७ डुम्रीगाउँमा २ लाख लिटर र कार्कीडाँडामा डेढ लाख लिटरका ट्यांकी राखेर पानी वितरण भइरहेको संस्थाले जनाएको छ।

आयोजनामार्फत पानी वितरण हुन थालेपछि खानेपानीका लागि अन्यत्र भौँतारिएर हिँड्नुपर्ने समस्या सदाका लागि अन्त्य भएको उपभोक्ता मनिराज तिवारीको भनाइ छ।

खानेपानी महसुल शुल्क घटेपछि राहत पुगेको उनले बताए।

आयोजना सुरु हुनुअघि स्थानीयवासीले खडेरी याममा खानेपानीका लागि सास्ती खेप्दै आएका थिए। नेपाल सरकार नगर विकास कोषको सहयोगमा ०६७ सालमा सुरु भएको उक्त आयोजना २४ करोड ५० लाखको लागतमा २०७३ भदौमा सम्पन्न भएको हो।

सरकारको ५० प्रतिशत अनुदान, नगर विकास कोषको ४५ प्रतिशत ऋण सहयोग र ५ प्रतिशत उपभोक्ताको सहयोगमा सो आयोजना सम्पन्न भएको हो।

प्रकाशित: १७ साउन २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =