काठमाडौँ– पछिल्लो समय नेपाली साहित्यमा ‘साइनो’ विधा लोकप्रिय बन्दै गएको छ। सात, आठ र नौ अक्षरको तीन पंक्तिमा लेखिने कविताको लघुत्तम रूपलाई साइनो नाम दिइएको छ। साइनो कविताको एउटा उपविधा हो।
छोटो समयमा साइनोका १७ संग्रह प्रकाशित भइसकेका छन्। यति मात्रै होइन साइनो लेखनमा संलग्न स्रष्टाहरू संस्थागत रूप दिएर यस विधाको विकास र विस्तारमा सक्रिय छन्। सोही उद्देश्यले स्थापित ‘साइनो वाङ्मय चौतारी नेपाल’ पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार एक समारोह आयोजना गरियो।
कार्यक्रममा सहभागी समालोचक र कविहरूले साइनो लेखन परिस्कृत हुँदै आएको बताए। सीमित विषयमा मात्र समेटिएको साइनोले पछिल्लो समय व्यापक रूप लिँदै गएको र पाठक पनि आकर्षित भएको उनीहरूको बुझाइ छ। त्यसैले यस विधाको भविष्य राम्रो रहेको विश्वास उनीहरूको छ।
प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साइनो वाङ्मय चौतारी नेपालको तेस्रो संयुक्त साइनो संग्रह ‘साइनो चौतारी’ को विमोचन गरियो।जसमा ७० स्रष्टाका १०/१० वटा रचना गरी ७ सय कृति समावेश छन्। कार्यक्रममा अन्य ४ जना स्रष्टाहरूको साइनोसम्बन्धी पुस्तक विमोचन गरिएको छ। जसमा शेखर अर्यालको ‘साइनो मञ्जरी’, जमुना कायस्थको ‘साइनोको मुनाहरू’, सीता सुवेदी पन्थीको ‘साइनो सुमन’ र छायादत्त न्यौपानेको ‘साइनो सिर्जना’ छन्।
प्रज्ञा प्रतिष्ठानका कुलपति राईले नयाँ पुस्ताका स्रष्टाका लागि साइनो उपयुक्त विधा रहेको बताए। ‘अहिलेको समयको हिसाबले साहित्य अत्यन्तै छोटो विधातिर गएको छ। पाठक पनि लामो कविता पढ्न रुचाउँदैनन्,’ उनले भने। साइनो मानिसका घटना र अनुभूतिसँग जोडिन सक्छ र? भन्ने चुनौती रहेको उनले बताए। राईले साइनोले जीवनको धेरै कुरा समेट्ने भएकाले समाज स्वीकार्य बनाउन स्रष्टाहरूलाई आग्रह गरे। साइनो विस्तारमा प्रतिष्ठानले गर्न सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता गरे।
समालोचक यज्ञेश्वर निरौलाले अक्षर गन्ने अन्य विधा पनि रहेको भन्दै अक्षर गन्ने क्रममा साइनो विधामा समस्या नल्याउन स्रष्टाहरूलाई सुझाव दिए। पछिल्लो समयमा साइनोमा समकालीन जीवन पद्धतिको वर्णन भेटिएको उनको बुझाइ छ। प्रकाशित कृतिहरूमा देशभक्ति, मानवता, प्रकृति चित्रण, नैतिकता ह्रास, सामाजिक आर्थिक, सांस्कृतिक विकृति, वैदेशिक रोजगारपीडितका समस्या, जीवनको मूल्यको बयान समेटिएको टिप्पणी उनको छ।
अर्का समीक्षक षडानन्द पौड्यालले पछिल्लो समयमा साइनो सामाजिक विषयवस्तु, समाजमा सचेतना जगाउने किसिमले सिर्जना भइरहेको बताए।
साइनो वाङ्मय चौतारी नेपालका महासचिव बालकुमार क्षेत्रीले साइनो प्रकाशन, प्रसारण र विकासमा योगदान पुर्याउने विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम र तिनका सम्पादक प्रकाशकहरूलाई धन्यवाद दिए। ‘साइनोले छोटो समयमा व्यापकता पाएकोमा खुसी लागेको छ। साइनोलाई फेसबुकमार्फत पनि प्रत्यक्ष प्रसारण गरिरहेका छौँ,’ उनले भने। उनका अनुसार यस विधामा अहिलेसम्म ६ हजार स्रष्टाले कलम चलाइसकेका छन्।
कार्यक्रममा प्रतिष्ठान सदस्यसचिव धनप्रसाद सुवेदी, प्राज्ञ मधुसूदन गिरी, प्राज्ञ डा. कौशिला रिसाल, प्रा.डा. रामप्रसाद ज्ञवाली, साहित्यकार गोपाल अर्याल, कविराज घिमिरे, मौनता थापा, एमपी पाण्डेलगायत साहित्यकार उपस्थित थिए।
कोभिड महामारीले समाजमा पारेको प्रभाव, धार्मिक अन्धविश्वासप्रति व्यंग्य, शिक्षामा भएको विकृति परिवारमा देखिने विसंगति, कर्मचारीतन्त्र, भष्टाचार, माया प्रेमलगायत शृंगारका विषयमा साइनो लेखिएको छ। साइनो नेपाली मात्र नभएर संस्कृत, अंग्रेजी, हिन्दी, थारू, सल्यानी, अछामी भाषामा पनि साइनो प्रकाशित छन्।
साहित्यकार केशव ज्ञवाली भन्छन्, ‘सरल तरिकाले समग्र जगत्को अन्तरसम्बन्ध केलाउँदै भाव व्यक्त गर्ने कलालाई साइनो हो।’ उनको बुझाइमा साइनोको यो नै मौलिक परिभाषा हो। ०७६ साउन १६ गते बाल साहित्यकार छायादत्त न्यौपाने ‘बगर’ले फेसबुकमार्फत साइनो शीर्षक दिएर सात, आठ र नौ अक्षरको सिर्जना सार्वजनिक गरेको दिनलाई वार्षिकोत्सवका रूपमा मनाउन थालिएको हो।
जुन सिर्जना यस्तो छ :
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !