संसद्मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

हिमाल प्रेस १२ भदौ २०८० ६:३० | Tuesday, August 29, 2023
संसद्मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ- संघीय संसद्अन्तर्गत आज (मंगलबार) प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूचीमा रहेको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुन लागेको यो दोस्रो पटक हो। यसअघि असारमा प्रश्नोत्तर भए पनि साउन महिनामा संसद् अवरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन सकेको थिएन।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम आजको बैठकमा हुनेगरी निर्धारण गरेका थिए।

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ।

एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था छ। यसका लागि सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनुपर्छ।

प्रकाशित: १२ भदौ २०८० ६:३० | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast