वडाको सहयोगमा व्यावसायिक रायो खेती गरेर राम्रो आम्दानी

हिमाल प्रेस १४ भदौ २०८० १७:२६ | Thursday, August 31, 2023
वडाको सहयोगमा व्यावसायिक रायो खेती गरेर राम्रो आम्दानी

झापा- गौरादह नगरपालिका-१ का ३० जना किसानले रायो सागको व्यावसायिक खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। उनीहरूले टनेलमा उत्पादन गरेको अर्गानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ।

किसानलाई रायो साग खेतीका लागि वडा-१ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष एक लाख १६ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। स्थानीय शम्भू थापाले डेढ कट्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेका छन्। ‘थोरै लगानी, कम मेहनतमा धेरै आम्दानी हुन्छ। बजारको पनि समस्या छैन,’ उनले भने, ‘धान लगायो भने आम्दानी लिन ६ महिना पर्खनुपर्छ। सागले डेढमहिनामै आम्दानी दिन सुरु गर्छ।’

विगत तीन वर्षदेखि उनले गोलभेडा, धनियाँसँगै रायो सागको खेती गर्दै आएका छन्। उनले व्यापारीले बारीबाटै प्रतिमुठा ५० रुपैयाँदेखि ६० रुपैयाँमा रायो लैजाने गरेको बताए।
प्रतिटनेल साग बिक्रीबाट १० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनले बताए।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यालयको सहयोगमा ४० किसानले टनेल निर्माण गरेको बताए। ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती गरिरहेका उनले जानकारी दिए।
‘यो सागको सिजन होइन,’ उनले भने, ‘धेरैले उत्पादन गरेका छैनन्। त्यही भएर महँगोमा बिक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन्।’

वडाध्यक्ष भण्डारीका अनुसार कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायत ३० जना किसानले वर्षभर नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको जानकारी दिए।

यहाँका किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको उनको भनाइ छ। जिल्लामा रायो सागको बेमौसमी खेती बुद्धशान्ति गाउँपालिका, विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायत क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले विगत वर्षदेखि नै गर्दै आएका छन्। रासस

प्रकाशित: १४ भदौ २०८० १७:२६ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast