काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि गोरु काटेको घटनाले प्रतिनिधिसभामा प्रवेश पाएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले गोरु काटेको घटनालाई निन्दनीय भन्दै कारबाही गर्न माग गरेका हुन्।
‘धरानमा सार्वजनिक रुपमा गोरु काटेर आपसी सद्भाव भड्काएर धार्मिक हिंसा गराउन खोजिँदैछ’, उनले भने, ‘नेपाल बहुधार्मिक मुलुक हो। यहाँ सबै धर्मका मानिस मिलेर बसेका छन्। गाईगोरु काटेर यहाँ जातीय सद्भाव खल्बलाउने प्रयास भएको छ।’
उनले अहिलेसम्म सबै धर्मका मानिसहरु मिलेर बसेका बताउँदै योजनासहित सनातन धर्मका अनुयायीलाई चोट दिन खोजिएको पनि बताएका छन्।
‘सनातन धर्मलाई कमजोर बनाउने र आस्थामा चोट पुर्याउने काम भएको छ’, उनले भने, ‘अतिवादीहरुले द्वन्द्व सिर्जना गराउने काम गर्दैछन्। यस्ता अराजक तत्वहरुलाई गृहमन्त्रालयले कारबाही गर्नुपर्छ। वैदिक सनातन धर्मको अपमान गर्ने तथा हिन्दु धर्मविरुद्ध खुलेआम गतिविधि भइरहेका छन्।’
उनले यो घटनाबारे के भइरहेको छ भनेर सरकारसँग जवाफ पनि मागेका छन्। धरानमा केही साताअघि गोरु काटेको अभियोगमा पक्राउ परेका रिहा भएपछि सार्वजनिक रुपमा भोज आयोजना गरिएको थियो।

                                             
                                             

