अन्य प्रकरण ढाकछोप गर्न गिरीबन्धु टी स्टेट अघि सारियो : ओली

हिमाल प्रेस ७ भदौ २०८० १६:०० | Thursday, August 24, 2023
अन्य प्रकरण ढाकछोप गर्न गिरीबन्धु टी स्टेट अघि सारियो : ओली केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणहरूलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले उक्त कुरा बताए।

ओलीले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानबिन गर्ने गरी उच्चस्तरीय आयोग गठनमा सहमति भएको दाबी गरे। उनले भने, ‘सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्विन्टल सुन टक्सारमा आउँदा ६० किलोमा झर्नु शंकास्पद छ।’ ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायब गरेको कुरालाई एमालेले उठाउँदा विषयान्तर गर्न खाजेको बताए।

उनले कोशी प्रदेशको नामकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए। उनले भने, ‘विभिन्न बहानामा नेपाली जनतालाई जुधाएर ताली बजाउने काम एमालेलाई स्वीकार्य छैन।’

आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा गरेका कामकारबाही कानुनबमोजिम नै भएको भन्दै आफूलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ नराखेको बताए। ‘विरोधीहरुले सत्यका विरुद्ध काम गर्छन् भन्ने आफूहरूलाई थाहा भएको र कानुनी रूपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर आफू सतर्क रहेको धारणा राखे।’

प्रकाशित: ७ भदौ २०८० १६:०० | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast