सिन्धुलीमा अस्पताल थपिए पनि उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता

हिमाल प्रेस १० साउन २०८० १२:१३
6
SHARES
सिन्धुलीमा अस्पताल थपिए पनि उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता गाउँपालिका आधारभूत अस्पताल शिलान्यास गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल।

सिन्धुली– स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको ८ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्।

संघीय सरकारले ०७७ मंसिरमा सुरु गरेको ‘एक स्थानीय तह, १ आधारभूत अस्पताल’ निर्माण योजनाअनुरूप भवन बनाउन लागिएको हो।

मरिण गाउँपालिका-७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मंगलबार शिलान्यास गरिएको छ।

एक कार्यक्रमबीच सांसद लेखनाथ दाहालले भवनको शिलान्यास गरे।

आगामी आर्थिक वर्ष ०८१/८२ को मंसिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँ वानेश्वर, काठमाडौँले भवन निर्माणको जिम्मा लिएको छ।

निर्माण कम्पनीले ०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो। १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन ३ तलाको हुनेछ।

उक्त लागत बजेट संघीय सरकारले उपलब्ध गराएको हो। ४ हजार ७ सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए।

७ वडा रहेको मरिणमा ६ वटा सामुदायिक स्वास्थ्य एकाइ, २ स्वास्थ्यचौकी, एक-एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन्।

मरिण-६ छापस्थित ५ शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो।

अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहज रूपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए।

यसैगरी जग्गा विवादका कारण २ वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए।

७ वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन्। अब २ सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए।

यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए।

फिक्कल गाउँपालिका-३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ। २ वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए।

निर्माणको काम सम्पन्न गर्न यस वर्ष ९० लाख बजेट थप भएर आएको उनले सुनाए।

६ वडा रहेको फिक्कलमा ६ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन्।

हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ।

यसैगरी हरिहरपुरगढी गाउँपालिका-२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ। सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ।

८ वडा रहेको हरिहरपुरगढीमा ४ स्वास्थ्यचौकी, ५ सामुदायिक स्वास्थ्य एकाइ र ४ आधारभूत केन्द्र छन्। यी नामका मात्रै स्वास्थ्य संस्था छन्।

राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ। पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको छ।

दुधौली नगरपालिका-५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ। अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए।

‘अस्पताल भवन निर्माण पूरा गरेर अबको १ महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ’, उनले भने। संघीय सरकारको १६ करोड रूपैयाँ लागतमा अस्पताल निर्माण भइरहेको छ।

यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ। तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ।

घ्याङलेख गाउँपालिका-३ सोलाभञ्याङमा डीपीआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन।

जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ। ५ वडा रहेको दुर्गम पालिकामा ५ स्वास्थ्य चौकी र ५ सामुदायिक स्वास्थ्य एकाइ छन्।

१५ शय्याको अस्पताल निर्माण भएर प्रभावकारी रूपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउनु नपर्ने स्थानीयवासी बताउँछन्।

सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ।

यहाँ ७ स्वस्थ्यचौकी र ९ आभारभूत स्वास्थ्य केन्द्र छन्। जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहज रूपमा गुणस्तरीय सेवा दिन सकेका छैनन्।

सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ।

सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकता अनुरूपको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावमै काम गर्न बाध्य छन्।

भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =